नेपाल विद्युत प्राधिकरणको व्यापार वृद्धि भए पनि नाफा घटेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा विद्युत बिक्रीबाट एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँको आम्दानी गरेको भए पनि नाफामा गिरावट आएको छ।
प्राधिकरणले वार्षिकोत्सवमा आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँले घटेको छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको नाफा १३ अर्ब ३० करोड रुपैयाँ थियो। गत आव २०८१/८२ मा प्राधिकरणको नाफा नौ अर्ब छ करोड रुपैयाँ मात्र कायम भएको छ।
चुहावटमा वृद्धि, अमेरिकी डलरको मूल्य बढेकाले विदेशी ऋण भुक्तानी गर्दा धेरै रकम खर्च भएकाले नाफा घटेको प्राधिकरणले जनाएको छ। त्यसैगरी, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नउठाएर त्यसका लागि राखिएको प्रावधानका कारण पनि ब्यालेन्स सिटमा नाफा घटेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको कुल सम्पत्ति भने बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई गत आव २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको कुल सञ्चालन खर्चमा १०.१५ प्रतिशतले बढेको छ। कुल सञ्चालन खर्च बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ।
प्रकाशित: १ भाद्र २०८२ २१:४९ आइतबार





