पर्यटन क्षेत्रमा मार्च देखि मुख्य सिजन सुरु हुन्छ । तर, विदेशी पाहुनाको आगमन फेब्रुअरीदेखि नै बढ्ने अघिल्ला वर्षको अभ्यास हो। तर, यो पटक भने अघिल्ला वर्षको जस्तो पाहुना आगमनले अझैसम्म गति लिन थालेको छैन। फेब्रुअरीदेखि नै पाहुना आगमन बढ्न सुरु हुनुपर्नेमा अहिलेसम्म आगमन बढ्न थालिनसकेको व्यावसायीको भनाइ छ। त्यत्ति मात्र नभई सिजनका पाहुनाको समेत उत्साहजनक बुकिङ नआएको व्यावसायी बताउँछन।
पर्यटकीय सिजनको मुखैमा निर्वाचन हुन थालेको र त्यसको प्रभावस्वरुप यो सिजनमा नेपाल आउन चाहेका विदेशी पाहुनाले यात्रालाई रद्द गर्न थालेको व्यावसायी बताउँछन। कतिपय पाहुनाले त चुनावताकाको यात्रालाई रद्द नै पनि गरिसकेका छन। केहीले तत्कालका लागि यात्रालाई रोकेर पछाडि धकेलेको समेत व्यावसायीको भनाई छ। फागुन २१ (मार्च ५) हुने चुनाव पर्यटकीय सिजनको मुखमा परेकोले विदेशी पाहुनाको आगमन प्रभावित हुने पक्का भएको उनीहरुको भनाई छ।
‘यतिबेला नै नेपालमा विदेशीको आगमन बढेर ५० प्रतिशत हाराहारीको अकुपेन्सीमा यहाँका होटल संचालन भएका हुन्थे। तर, अहिले मुस्किलले २५ प्रतिशत हाराहारीमा अकुपेन्सी छ। पाहुनाको आगमन यो पटक प्रभावित भईसकेको छ,’ माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘विदेशी पाहुना भित्रिने सिजनको मुखैमा चुनाव परेकोले यो पटक सोचेजस्तो पाहुना आउने अवस्था छैन। अग्रिम बुकिङको गतिले पनि त्यस्तै संकेत गरेको छ। पाहुनाले नेपाल घुमघाममा उत्साह देखाएका पनि छैनन।’
भट्टराईका अनुसार मार्च पहिलो साताका लागि विदेशी पाहुनाको आगमनको अग्रिम बुकिङ ८० प्रतिशत हाराहारीमा पुगिसक्ने अघिल्ला वर्षको अभ्यास पनि हो। तर, अहिलेसम्म बढिमा ४० प्रतिशत मात्र बुकिङ आएको छ।
‘अहिलेको बुकिङ अनुसार पनि पाहुना आउने निश्चित छैन। किनकी चुनावका कारण बुकिङ गरे अनुसार पाहुना नआउन पनि सक्छन,’ उनले भने। चुनाव अघि र पछिका दिनमा हुनसक्ने सम्भावित घटनाक्रमका कारण पाहुना आगमनलाई असर पर्ने उनले बताए।
‘केही पाहुनाले त यात्रालाई रोकिसकेका छन। तोकिएको समयमा आउन नपाउने भन्दै पाहुनाले बुकिङ नै रद्द पनि गरिसकेका छन। कुनै राजनीतिक घटनाक्रम बढेको खण्डमा आगामि दिनमा अझ बुकिङ रद्द हुने दर बढ्नेछ,’ उनले भने।
अघिल्लो सिजनको मुखैमा जेनजी आन्दोलन भएका कारण नेपालमा विदेशी पाहुनाको आगमन प्रभावित भएको थियो। आन्दोलनका कारण पर्यटन क्षेत्रले करिब एकमहिना पाहुना गुमाएको थियो। यो सिजनमा निर्वाचन परेकोले पनि पाहुना आउने अवस्था नरहेको उनले बताए।
व्यावसायीका अनुसार यो बेला आउने पाहुना पदयात्राका हुन्छन। यूरोपियन मुलका पाहुनाको आगमन यतिबेला बढ्छ। गर्मी छल्न पनि अबको समयमा भारतीय पाहुना भित्रिने सिजन मानिन्छ। ‘तर, चुनावका कारणले आगमन रोकिने देखिएको छ,’ उनले भने। यतिबेला आन्तरिक पाहुनाको आगमन पनि प्रभावित भएको उनले सुनाए। भट्टराईका अनुसार सरकारले चुनावताकाको समयमा आउने पर्यटकलाई ढुक्कको यात्राका बारेमा सुनिश्चित पनि गरिसकेको छैन।
चुनाव भएपनि विदेशी पाहुनाको यात्रामा कुनै समस्या नहुने भनेर सरकारले बेलैमा भनिदिने हो भने पाहुना ढुक्क भएर घुम्न आउने अवस्था रहने उनले बताए। ‘एकसाता अघि सुरक्षाको व्यवस्था छ भनेर पाहुना आउँदैनन। किनकी उनीहरुले बेलैमा थाहा पाहुनुपर्छ। नेपाल आउने विदेशी पाहुनाका कम्तिमा ६ महिना अघि नै योजना बनाइसकेका हुन्छन, तत्कालको योजनामा घुम्न आउने हुँदैनन,’ उनले भने, ‘कम्तिमा एकमहिना अघिसम्म जानकारी दिन सकियो भने पाहुना आउने अवस्था रहन्छ।’
पोखरामा भित्रिएका पाहुनाको सुरक्षा अवस्थाबारे स्थानीय प्रशासनसँग छलफल गरेको भएपनि ठोस निस्कर्ष निस्कन नसकेको उनले बताए। ‘यो पटक अघिल्ला निर्वाचन भन्दा केही बढी संवेदनशील हुनुपर्ने अवस्था पनि छ। किनकी दलका नेताले सहज नभएको भनेर भनिरहेका छन। त्यस्ता घटनाक्रमले पनि पाहुना घुमघाममा निस्कन डराउने उनले सुनाए। चुनावका बेला होटलभित्रै बसिरहनुपर्ने भन्ने त्रासले पनि पाहुनाले कुनैपनि मुलुकमा निर्वाचनको समयमा यात्रा नगर्ने उनले बताए।
‘चुनाव अघि र पछि हुने घटनाक्रमले पनि पाहुनाको आगमनलाई प्रभावित पार्छ। राजनीतिक दलका नेताहरुले बारम्बार चुनावी त्रासको कुरा गरिहँदा पनि सन्देश नराम्रोसँग फैलिएको छ,’ उनले भने।
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि योपटकको सिजनलाई चुनावी प्रभाव परिसकेको बताउँछन। ‘विदेशीहरु नेपालमा चुनाव हुँदैछ भनेर अन्यत्र मोडिएका छन। यो बेलाको आगमनको गति र अकुपेन्सीले त्यही संकेत देखाएको छ,’ शर्माले भने, ‘किनकी सिजनको सुरुवाती समयमा यो बेला नेपालमा विदेशी पाहुनाको आगमन बढिसकेको हुन्थ्यो। तर, अहिले आगमन निकै नै कमजोर छ।’ नेपालमा जेनजी आन्दोलनको प्रभाव देखेका विदेशी पाहुना चुनावकै कारण यात्रामा निस्कन डराएको पनि उनले बताए।
‘यो बेला त बढिमा २० प्रतिशत मात्र अकुपेन्सी छ । खासमा कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्ने हो। सिजनको मुखैमा चुनाव हुन थालेपछि भएको बुकिङ पनि रद्द हुने अवस्था छ,’ शर्माले भने, ‘चुनावताका झडप र द्वन्द्वका घटना बढ्ने भएकोले पनि पाहुना आगमन प्रभावित हुने पक्का छ।’ चुनावकै कारण कतिपय पाहुनाले यात्रालाई ‘होल्ड’ समेत गरेको उनले बताए।
‘कोही पनि पर्यटकका लागि यात्रा अनिवार्य होईन। सहज भएमा मात्र पाहुना घुम्न निस्कने हुन। अहिलेको यात्रा सहज नहुने देखेमा पाहुनाले यात्रा अनिवार्य नगर्न सक्छन,’ अध्यक्ष शर्माले भने, ‘अनुकुल नपरेको खण्डमा घुमघाममा जानै पर्छ भन्ने रहन्न । समय, बिदा, यात्रा अवधि, सुरक्षा लगायतका कुरालाई ध्यानमा राखेर मात्र विदेशी पाहुना घुमघाममा निस्कने उनले बताए।
प्रकाशित: २ फाल्गुन २०८२ १५:४७ शनिबार





