अहिले बैंकिङ क्षेत्रमा करिब ११ खर्ब रुपैयाँ थुप्रिएको छ। जेनजी आन्दोलनपछि कर्जा विस्तार न्यून हुँदा लगानीयोग्य रकम थुप्रिएर समस्या भएको हो। जेनजी आन्दोलनका कारण निजी क्षेत्रको मनोबल खस्किएको छ, लगानीकर्तामा त्रास छ। त्यसको असर बैंकिङ क्षेत्रमा परेको छ।
जेनजी आन्दोलनले राजनीतिक क्षेत्र मात्र नभएर आर्थिक क्षेत्र पनि सकसमा परेको छ। कोभिडपछि लयमा फर्किन थालेको अर्थतन्त्रमा धक्का लागेको छ। जेनजी आन्दोलनका क्रममामा सरकारी संरचना मात्र नभएर व्यक्तिले सञ्चालन गरेका होटल, उद्योगधन्दा, व्यवसाय र घरमा पनि आक्रमण भएको थियो। जेनजी आन्दोलनपछि लगानीकर्ताले असुरक्षित महसुस गरेका छन्। लगानीकर्ताले सुरक्षित महसुस गर्न नसकेका कारण पुँजी पलायनको जोखिम पनि बढेको छ।
विश्व बैंकले पछिल्लो प्रतिवेदनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। यसले समग्र मुलुकको अर्थतन्त्रमा असर पर्ने देखिन्छ। जेनजी आन्दोलनबाट भएको क्षति र उत्पन्न राजनीतिक अस्थिरताले आर्थिक वृद्धि खुम्चिने अनुमान गरिएको हो। यसअघि चालु आवमा आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने अनुमान गरिएको थियो।
जेनजी आन्दोलनबाट निजी क्षेत्र आहत भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘जोहो गरेर, सरसापट गरेर, ऋण लिए उद्यमीले लगानी गरेका हुन्छन्,’ ढकालले भने, ‘आन्दोलनका क्रममा निजी क्षेत्रमाथि प्रहार भयो।’
राजस्वमा योगदान पुर्याउने, रोजगारीको अवसर सिर्जना गरे पनि उद्यमी व्यवसायीको शयन कक्षसम्म पुगेर लुटपाट भएको उनले बताए। ‘व्यापार व्यवसायमा आगो लागेको छ,’ उनले भने, ‘यसले निजी क्षेत्र त्रसित छ।’
ढकालका अनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ। त्यस्तै रोजगारीमा ८६ प्रतिशत योगदान निजी क्षेत्रको रहेको ढकालले बताए। आयकरमा उद्यमी व्यवसायीको योगदान ८० प्रतिशतमाथि रहेको उनको दाबी छ। जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रको करिब ८८ अर्ब रुपैयाँबराबारको नोक्सानी भएको छ। अर्थतन्त्रको प्रमुख हिस्सेदार निजी क्षेत्रको मनोबल खस्किँदा राजस्वदेखि रोजगारीसम्म असर पुग्ने भएको छ।
व्यापारिक घराना, विदेशी लगानीका पाँचतारे चेन होटल र बहुराष्ट्रिय कम्पनीहरू लक्षित आक्रमणले स्वदेशी र विदेशी लगानीकर्ता सशंकित छन्। आन्दोलनपछि अर्थतन्त्रका आन्तरिक सूचकमा केही समस्या देखिए पनि बाह्य सूचक भने राम्रा छन्।
लगानीको सुरक्षा नहुँदा उद्योगधन्दा धराशयी हुने चिन्ता अर्थमन्त्रीले व्यक्त गरेका छन्। केही दिनअघि अर्थमन्त्री मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले उद्यमी–व्यवसायीलाई यहाँ केही गर्न सकिँदैन भन्ने मनस्थितिमा पुर्याएको बताएका थिए।
उद्योग र व्यापारिक प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट गर्नेमाथि कारबाही नगर्ने हो भने दण्डहीनता बढ्ने उनीहरूले बताएका थिए। पुँजी पलायन हुन नदिन उद्योगी–व्यवसायीले सुरक्षाको अनुभूति गराउनुपर्ने उनीहरुको निष्कर्ष थियो।
निजी क्षेत्रको मनोबल उकास्नका लागि सरकारका तर्फबाट दिन सक्ने सबै सुविधा दिन तयार रहेको अर्थमन्त्री रामेश्वर खनालले बताए। ‘अर्थतन्त्रमा मनोबलको भूमिका महत्त्वपूर्ण हुन्छ,’ खनालले भने, ‘निजी क्षेत्र र सरकार आआफ्नो गतिमा दौडिनुपर्छ।’
निजी क्षेत्रसँग पटकपटक छलफल गरेर समस्या समाधानका लागि पहल गरेको खनालले बताए। ‘काठमाडौंदेखि जिल्लाजिल्लामा पुगेर निजी क्षेत्रको समस्या सुनेर कार्यान्वयनको चरणमा लागेका छौं,’ खनालले भने।
बैंकबाट कर्जा प्रवाह नभएको र निजी क्षेत्रको मनोबल खस्किएका बेला नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेका छन्। ब्याजदर घटेको, तरलता प्रशस्त रहेको र विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले यसलाई उत्पादन र रोजगारी बढाउने अवसरको रुपमा लिन उनले आग्रह गरे। ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्नुहोस्,’ व्यवसायीलाई आग्रह गर्दै उनले भने। ब्याजदर कम, तरलता उच्च, विदेशी विनिमय २२ खर्ब रुपैयाँ बढी भएकाले यसलाई अवसरका रुपमा सदुपयोग गर्नुपर्ने उनले बताए।
प्रकाशित: २३ कार्तिक २०८२ ०६:२७ आइतबार





