दोस्रो आर्थिक गणना चैत एक गतेदेखि हुने भएको छ । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर चैत १ देखि असार मसान्तसम्म आर्थिक गणना गर्न लागिएको जानकारी दिएको छ । आर्थिक गणना सम्बन्धमा कार्यालयले सोमबार तालिका, लोगो र नारा सार्वजनिक गरेको छ । पहिलो आर्थिक गणना २०७५ सालको वैशाखमा सुरु भएको थियो ।
दोस्रो आर्थिक गणनाका लागि ५ हजार गणकहरु नियुक्त गरिँदैछ । गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने तथ्यांक कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना कार्यालयको छ ।
मूल्यवृद्धि रोजगारीको स्थीति, अवसरदेखि जनशक्तिको आवश्यकतादेखि भविष्यमा गर्ने तमाम कामका लागि आर्थिक गणनाले सूचना दिनेछ । यसको विश्लेषणबाट राज्यले आगामी दिनमा लिने नीतिहरु निर्माण गर्नका लागि सहज हुनेछ ।
विभिन्न १८ वटा क्षेत्रको आधारभुत विवरण संकलन गरिनेछ । कार्यालयकाअनुसार गणनाका लागि फागुनसम्म पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न गरिनेछ । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षक स्थलगत रूपमा खटिनेछन् ।
तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा.कमलप्रसाद पोख्रेलले आर्थिक कारोबार गर्ने क्षेत्रहरुको अवस्था जान्न गणना महत्वपूर्ण हुने बताउँदै खासगरी आर्थिक क्रियाकलाप गर्ने इकाइहरुको अवस्थाको पहिचान हुने र सरकारलाई भावी कार्यदिशा निर्माणका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रियस्तरमा विकास भएका आधुनिक प्रणालीको प्रयोग गर्दै अर्थमन्त्रालयदेखि योजना आयोगका विज्ञहरुसम्मको सहयोगमा आर्थिक गणना हुने डा.पोख्रेलले जानकारी दिए ।
प्रकाशित: २१ पुस २०८२ १६:३३ सोमबार





