२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

कागतीले बजार नपाउँदा निराश

तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागती खेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन्।

मल्लले २० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन्। कागती उत्पादनको अन्तिम अवस्थामा छ तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए। मल्लले भने, 'बारीसम्म गाडी पुग्ने बाटो छैन। मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ। त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ।'

स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौ‌ंस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले सुनाए। गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौं पुग्नुपरेको उनको भनाइ छ।

'उत्पादित कागती काठमाडौंसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौंमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु। ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु,' मल्लले भने, 'गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नु पर्थेन। स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि तर सहयोग पाएका छैनौँ।'

एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागती खेतीमा क्षति पुगेको छ। यसले देशमै केही गरौँ भन्ने सोच लिएर सात वर्ष अगाडि देखि कागती खेतीमा लागेका मल्ल थप निराश बनेका छन्।

उनले ५०० भन्दा बढी बोट कागती लगाएका छन्। हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो। वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पुर्याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ। रासस

प्रकाशित: १५ श्रावण २०८२ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App