चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण भइसकेका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को तथ्यांकअनुसार बाढीले सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत् आयोजनामा गरेको छ। बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत्को बाँध, गेट संरचना, पहुँच मार्ग र अस्थायी कफरड्याम बगाएको आयोजना प्रमुख सत्यराम ज्वाख्वाले जानकारी दिए।
उनले एक्कासि आएको बाढीले जलविद्युत् आयोजनाको संरचनालाई क्षतविक्षत बनाएको बताए। साथै दुईवटा पुल पनि उच्च जोखिममा छन्। उनले भने, ‘मनसुन भर्खरै सुरु भएको छ। अहिले पनि हाम्रा अन्य पुलहरू नितान्त जोखिममा छन्। फेरि बाढी आएर पुलहरू बगायो भने झनै ठुलो क्षति हुन्छ।’
आयोजनाको कति रकमबराबरको सम्पत्ति क्षति भयो भनेर यकिन गर्ने अवस्था अहिले नै नभएको उनले बताए। भने, ‘हामीलाई कस्टको हिसाबले यकिन तथ्यांक निकाल्न अलि समय लाग्छ। अहिले नै भन्न सक्ने अवस्थामा छैनौं। विज्ञहरूलाई बोलाएर अध्ययन गर्नुपर्ने हुन्छ।’
क्षतिको आकलन गर्न सक्ने अवस्था नरहे पनि बाढीले आयोजनाको बाँध, गेट, क्याम्प, नौवटा गाडी बगाएको उनले बताए। ‘बाढी सुरुङमा पसेको छ। के कति क्षति भएको छ भनेर हेर्न बाँकी छ। जुन सफा गर्दै जाँदा थाहा हुन्छ।’ जलविद्युत आयोजनाको संरचना दुई/तीन तलासम्म डुबेको उनले बताए।
२५० मेगावाट बन्द
लेदोसहितको बाढीले रसुवाका जलविद्युत् आयोजनामा क्षति गरेसँगै २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको र ३५० मेगावाट क्षमताका आयोजना निर्माण कार्य रोकिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए।
उनका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी्, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो। मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली– ३ ‘बी’ हब सवस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो।
१४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको प्राधिकरणका ढकालले बताए। चिलिमे जलविद्युत् आयोजना उत्पादन चालु गर्ने तरखरमा रहेको जानकारी उनले दिए। उनका अनुसार चिलिमेको टेलरेससम्म बाढीको पानी पुगेपछि उत्पादन बन्द भएको हो। ‘अहिले क्षतिको विवरण संकलन तयारी भइरहेको छ। रसुवागढीमा हाम्रा मानिस जान सकेका छैनन्। त्यही भएको जनशक्तिबाट काम भइरहेको छ,’ उनले भने। उत्पादन बन्द भएका आयोजनाहरूको स्थिति हेरेर मर्मतमा लाग्ने प्रवक्ता ढकालले बताए।
इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली–३ ‘ए’ बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका हुन्। निर्माणाधीन अवस्थाका सबै आयोजनामा पनि निजी क्षेत्रको लगानी छ। निर्माणाधिन आयोजनाहरूमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, एक सय मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ ‘बी’ छन्।
यी जलविद्युत् आयोजनाहरूमा पनि बाढीले क्षति पुर्याएपछि निर्माण कार्य रोकिएको इप्पानद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ।
त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली–३ ‘बी’ हब सवस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेका हरेक दिन करोडौं रूपैयाँ घाटा बयहोर्नुपर्ने देखिन्छ।
टिमुरेस्थित सुख्खा बन्दरगाहबाट दर्जनौं मालबाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका गाडीहरूसमेत बाढीले बगाएको छ। निर्माणाधीन सुख्खा बन्दरगाह पनि पूर्ण रूपमा खण्डहर बनेको छ।
बाढीले नेपाल–चीन सीमाको मितेरी पुल बगाएपछि यो नाकाबाट हुने दुई देशबिचको सडक सम्पर्क टुटेको छ। यसबाट नेपाली व्यवसायी मारमा परेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। उनका अनुसार यो नाकाबाट नेपाल र चीनबिच वार्षिक १ खर्ब रूपैयाँभन्दा बढीको व्यापार हुन्छ। यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पर्ने हुँदा जतिसक्दो छिटो नाका खुलाउन पहल गर्नुपर्ने उनले बताए।
बाढीले भन्सार यार्डबाट ६४ वटा सवारीसाधन बगाएको छ। २३ कन्टेनर ट्रक, ६ मालवाहक ट्रक र ३५ वटा विद्युतीय गाडी बाढीले बगाएको हो। यस्तै भन्सार यार्डमा भएका थप १०–१५ वटा कन्टेनर बाढीको पानी पसेको छ। प्रारम्भिक अनुमान अनुसार कन्टेनरमा रहेका मोबाइल, विद्युतीय उपकरण, लत्ता कपडा र फलफूलसमेत गरी करोडौं रूपैयाँको नोक्सानी भएको छ। बाढीका कारण सातजनाले ज्यान गुमाएको र १९ जना सम्पर्कविहीन छन्।
प्रकाशित: २७ असार २०८२ ०७:४६ शुक्रबार





