२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

चुरुङ्गामा दाइँ महोत्सव हुँदै

पोखरा–१९ पुरुञ्चौरको चुरुङ्गामा दाइँ महोत्सवको दोस्रो संस्करण हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा मंसिर १३ गते शनिबार चुरुङ्गामा दाइँ महोत्सवको दोस्रो संस्करण हुने भएको हो ।  

यसअघि अघिल्लो वर्ष दाइँ महोत्सवको पहिलो संस्करण पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा माघ ६ गते भएको थियो । पहिलो दाइँ महोत्सव रोपाईं  महोत्सव भएकै स्थानमा गरिएको थियो भने दोस्रो रोपाईं महोत्सव रोपाईं  महोत्सवभन्दा फरक ठाउँमा हुनेछ ।  

पोखरा पर्यटन परिषदले प्रत्येक असार १५ मा रोपाईं महोत्सव गर्दै आएको छ । दुई दशक अघि शुरु भएको रोपाईं महोत्सवको २१ औं संस्करण गत असारमा भएको थियो । दाइँ महोत्सव भने अघिल्लो वर्षदेखि मात्र शुरु भएको हो ।

शनिबार हुने दाइँ महोत्सव स्थल पर्यटकीय गन्तव्य हो । जहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालका हिमश्रृङ्खलाहरु नजिकबाट साक्षात्कार गर्न सकिन्छ । हिमालको काखमा हुने दाइँ महोत्सव पूर्वाह्न १० बजेदेखि अपराह्न ४ बजेसम्म जारी रहने जनाइएको छ ।

चार वटा धानका कुनियो रहेको सो स्थलमा १० भन्दा बढी गोरुले दाइँ गर्नुका साथै धान चुट्ने, धानको राश बनाउने र बताउने कार्य गरिनेछ ।  

परम्परागत दाइँको झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

दाइँ महोत्सवमा स्वदेशीसँगै विदशी पर्यटक पनि सहभागी हुनेछन् । पोखराका होटलहरुमा बास बसेका विदेशी पर्यटकहरुलाई गाडी रिजर्भ गरेर दाइँ महोत्सव अवलोकन गर्न लगिने अध्यक्ष पहारीले बताए । उनका अनुसार दाइँ महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी पनि सहभागी हुनेछन् ।  

महोत्सवको अवसरमा उत्कृष्ट धान उत्पादन गर्ने किसानलाई नगद १० हजार, दोस्रो हुनेलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजारसहित पुरस्कृत गरिने परिषदका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा उत्कृष्ट गोरु पालक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता हुनेछन् । प्रतियोगिताका बिजेताहरुलार्य नगदसहित पुरस्कृत गरिने उनले बताए ।

मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रवद्र्दन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषदले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्परा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य हो,उनले भने,‘यसले परम्परागत संस्कृतिको संरक्षणसँगै किसानलाई प्रोत्साहन मिल्छ भन्ने विश्वास छ ।’ त्यस्तै, कृषि पर्यटनमा टेवा पुग्नुका साथै विद्यार्थी र पर्यटकलाई दाइँ महोत्सवबारे बुझ्ने अवसर प्राप्त हुने उनले बताए ।

दाइँ महोत्सव गर्न लागिएको क्षेत्रमा झिनुवा धानको खेती बढी हुने गरेको स्थानीय आयोजकका रुपमा रहेको चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले बताए । महोत्सवले ओझेलमा परेको पर्यटकीय गन्तव्य चुरुङ्गाको प्रचारप्रसारमासमेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित: ११ मंसिर २०८२ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App