कारोबार हुने साताको पहिलो दिन बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । लागातार चौथो दिन बढ्ने क्रममा नेप्से आइतबार ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेको छ। यद्यपि आइतबार सेन्सेटिभ इण्डेक्स २.४६ अंक, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेको छ।
कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । कारोबार हुन साताको अन्तिम दिन गत बिहीबार साढे १६ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा आइतबार २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज ३१६ स्टकको १ लाख ७८ हजार १७६ पटक कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ को घटेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.८८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ५६ करोडको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। वित्त उपसमूहको परिसूचक भने सर्वाधिक २.२६ प्रतिशतले घटेको छ।
प्रकाशित: ४ श्रावण २०८२ १६:१० आइतबार





