२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

बंशिलाघाटमा बेलीब्रिज निर्माण सुरु

बेलीब्रिज बनाउन नदीको बहाव साँघुरो पारिँदै। तस्बिरः महेश्वर

उदयपुरको पूर्वोत्तरी भेग र खोटाङको दक्षिणी भेगलाई जोड्ने नाका बंशिलाघाटमा बेलीब्रिज जडान कार्य सुरु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका १ र खोटाङको बराहापोखरी गाउँपालिका ५ पौवासेराबीचमा पने बंशिलाघाटमा शुक्रबारदेखि बेलीब्रिज जडान थालिएको हो।  

आधा दशकअघि नै निर्माण सुरु भएको पक्की मोटरेबल पुल निर्माणको छेकछन्दै नभएपछि प्रदेश सरकारले त्यहाँ बेलीब्रिज जडान गर्न थालेको हो। खोटाङबाट निर्वाचित भएर प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री रहेका भूपेन्द्र राईले दुई जिल्लावासीलाई तत्काल आउजाउ गर्न सहज बनाउन छुट्याइ दिएको चालु वर्षको बजेटबाट बेलीब्रिज जडान कार्य थालिएको हो।

नदीमा पानीको बहाव घटेसँगै बेलीब्रिज बनाउन थालिएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ। कार्यालय प्रमुख (डिई) बिनम दाहालले यो हिउदमा ६ महिना नदीमा आउजाउ गर्न सहज बनाउन बेलीब्रिज जडान थालिएको बताए। उनका अनुसार आगामी वर्षायाममा पानीको सतह बढ्नेबित्तिकै बेलीब्रिज निकालेर राखिने छ भने हिउद लागेपछि पुनः जडान गर्ने क्रम पक्की पुल नबनेसम्म जारी रहन्छ।

सकेसम्म मङ्सिर अन्तिममै नसके पुल पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरि निर्माण थालिएको बेलीब्रिज बनाउने जिम्मा गुरुकुल विल्डर्स एण्ड सप्लार्यस् प्रालि रौतहटले पाएको छ। ५१.८१ मिटर लम्बाइ तथा ४.१ मिटर चौडाइको बेलीब्रिज निर्माण मूल्यअभिवृद्धि कर (भ्याट)सहित ५७ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको डिई दाहालले बताएका छन्।

बेलीब्रिज साविकको भोलुङ्गे पुलभन्दा केही तल पक्की पुल निर्माणस्थल नजिकै जडान कार्य थालिएको छ। त्यहाँ निर्माणाधीन पक्की पुल बनाउन वर्षौँ लाग्ने देखिएपछि तत्काललाई आउजाउ सहज बनाउन बेलीब्रिज जडान गर्न बजेट व्यवस्था गरेको मन्त्री राईले बताए। भौतिक पूर्वाधार मन्त्री भएपछि आक्रामक रूपमा खोटाङको सडक, पुल बनाउने अभियानमा जुटेका मन्त्री राईले सङ्घीय सरकारमातहत निर्माणाधीन पुल प्रदेश सरकारले जिम्मा पाए छिटो सक्ने बचन दिए पनि नमानेपछि बेलीब्रिज लगाउनु परेको बताए।  

आधा दशकअघि नै निर्माण सुरु भएको पुलको भर्खर एउटा पाईल फाउण्डेशन बन्दै गरेको पाएपछि प्रदेशलाई जिम्मा दिए १ वर्षमा बनाइदिने प्रतिबद्धता जनाए पनि पुल सेक्टरले नदिएपछि सो पुल नबनेसम्मका लागि बेलीब्रिज जडान थालेको उनले बताए। ‘सङ्घीय सरकारले बंशिलाघाट पुल बनाउन ४–५ वर्ष लाग्छ भनेर प्रदेश सरकारलाई जिम्मा दिए छिटो बनाउने भन्दै पुल सेक्टर र मन्त्रीलाई भेटेर आग्रह गरेँ,’ मन्त्री राईले भने, ‘कानुनले दिदैन भनेर मान्नु भएन। यता वारपार गर्न सकस भएले बेलीब्रिज बनाउने बजेट छुट्याईदिएँ।’

बंशिलाघाटमा मोटरेबल पुल बनाउन०७७ पुस २८ गते सम्झौता भएको थियो। ०८० असोज २७ गते अर्थात २ वर्ष ९ महिनाभित्र पुल बनाईसकेर हस्तान्तरण गर्नेगरी एमएस/कालिका/बेदान्सी जेवीले कामको जिम्मा लिएको छ। तर, पुलको डिजाईन र इस्टीमेट आफैँले गर्नुपर्दा २ वर्ष काम थाल्न ढिला भएको भन्दै निर्माण पक्षले पुलको काम कछुवा गतिमा गरिरहेको छ।  

ठेकेदार कम्पनीले बंशिलाघाटसम्म जाने सडक नै नभएकाले आवश्यक कच्चा पदार्थ लान नसक्दा काम गर्न ढिला भएको दाबी गरेको छ। अझ फाउण्डेशन र सर्भेसम्मको काम गर्न जानका लागि बेलटारदेखि नै त्यहाँसम्मको सडक आफैँले मर्मत गर्नु परेको ठेकेदारले दाबी गरेको छ।

प्रकाशित: १९ मंसिर २०८२ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App