सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीबारे जानकारी गराए। सो क्रममा मन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिए।
त्यसपछि उनले सुन्धारास्थित दूरसञ्चार कार्यालयको निरीक्षण गर्दै सेवा लिन आएका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरे। नयाँ सिम कार्ड, बिल भुक्तानी, ई–सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी अनुभवबारे सेवाग्राहीसँग जानकारी लिए। सेवाग्राहीहरूले कार्यालयमा लामो समय लाइनमा बस्न नपरेको तथा अपेक्षाकृत छिटो सेवा पाएको प्रतिक्रिया दिए।
निरीक्षणपछि तिमिल्सिनाले सेवाग्राहीलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिए। उनले ग्राहकका व्यक्तिगत विवरण सुरक्षित रूपमा डाटाबेसमा राख्ने व्यवस्था प्रभावकारी बनाउन तथा एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुनः सेवा लिन जाँदा उही कागजात बारम्बार पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिए।
सो अवसरमा सुन्धारा दूरसञ्चार कार्यालयका प्रमुख निर्मलराज चटौतले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुसार नयाँ सिम वितरण, केवाईसी अद्यावधिक, गुनासो दर्ता, गुनासो ट्र्याकिङ तथा शुल्क भुक्तानीलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने प्रणाली विकास गरिएको जानकारी दिए।
सिम लिनका लागि अनलाइन आवेदन प्रणाली लागू गरिएको र ग्राहकले अनलाइन आवेदन दिएपछि आफूलाई पायक पर्ने सेवा केन्द्रबाट सिम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। साथै, ई–सिमका लागि कार्यालय धाउन नपर्ने र अनलाइनबाटै सेवा लिन सकिने उनले बताए।
उनले सेवाग्राहीलाई एउटै स्थानबाट सबै सेवा उपलब्ध गराउने उद्देश्यले ‘फ्रन्ट हेल्प डेस्क’ स्थापना गरी ‘वान स्टप सर्भिस’ सञ्चालनमा ल्याइएको जानकारी दिए।
कार्यालय निरीक्षणपछि तिमिल्सिनाले आधुनिक सेवा विस्तारसँगै सेवाको गुणस्तर, ग्राहक सन्तुष्टि र व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न नेपाल टेलिकमले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
प्रकाशित: १६ असार २०८३ १५:४४ मंगलबार





