१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

व्यावसायी भन्छन्ः पर्यटनको श्रोत बजार नै कमजोर बन्यो

भारतीय र चिनियाँको आगमन खस्कँदै

पोखरामा चिनियाँ पाहुना। फाइल तस्बिरः नागरिक

छिमेकी मुलुकहरु चीन र भारतलाई नेपालको पर्यटन क्षेत्रले मुख्य श्रोत बजार ठान्छ। तर, पछिल्ला वर्षमा तिनै भारत र चीनबाट नेपाल भित्रिने पाहुनाको आकार कमजोर बन्दै गएको छ। हवाई मार्गबाट भित्रिने चिनियाँ र भारतीय पाहुनाको आकार पछिल्ला वर्षमा कटौती हुँदै गएको छ। पर्यटन क्षेत्रले मुख्य श्रोत बजारबाट आगमन कमजोर हुँदै गएकोमा चिन्ता जनाउन थालेको छ।  

अरु मुलुकको तुलनामा चीन र भारतका पाहुनाको आगमन तुलनात्मक रुपमा अगाडी देखिएपनि तिनै मुलुकबाट भित्रिएका पाहुनाको आकार भने खस्कँदो रहेको पर्यटन बोर्डको भनाई छ। बोर्डका अनुसार सन् २०२५ मा हवाई मार्गबाट भित्रिएका पाहुना मध्ये भारतीयको हिस्सा २५ प्रतिशत रहेको छ। त्यस्तै चिनियाँको हिस्सा ८ प्रतिशत रहेको छ।  

तथ्यांक अनुसार अरु मुलुकको तुलनामा नेपालमा भारतीय र चिनियाँ पाहुना आगमनको हिस्सा बढी नै छ। तर, पनि पछिल्ला वर्ष ती मुलुकबाट अपेक्षा गरे अनुसार पाहुना भित्रिएका छैनन। भारतीय पाहुनाको ठूलो आकार स्थलमार्गबाट भित्रिने हुँदा व्यावसायीले लाभ लिएको भएपनि राष्ट्रिय तथ्यांकमा स्थलमार्गको आकार समेटिएको छैन। सरकारले हवाई माध्यमबाट भित्रिएका पाहुनाको संख्या मात्र तथ्यांकमा समेट्दै आएको छ। तर, स्थलमार्गबाट भित्रिने पाहुनाको आकार पनि ठूलै हुने गरेको पर्यटन क्षेत्रको भनाई छ।

‘चिनियाँ त कोरोना संक्रमणपछि नै घटेका हुन। अहिलेसम्म त्यो आगमन उकासिएको छैन। यो वर्ष (सन् २०२५) पनि सोचेजस्तो आगमन चिनियाँ पाहुनाको हुन सकेन,’ पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले भने, ‘सन् २०२५ मा अलि ठूलो आकारमा चिनियाँ पाहुना भित्रिने अनुमान थियो। तर, त्यो अनुमान मिल्न सकेन। पाहुनाको आगमन हामीले सोचेभन्दा कमजोर रह्यो।’

बोर्डका अनुसार नेपालमा सबैभन्दा बढी भारतीय पाहुना भित्रिने वर्षको रुपमा सन् २०२३ रहेको छ। त्यो वर्ष नेपालमा ३ लाख १९ हजार ९ सय ३६ जना भारतीय पाहुना हवाई माध्यमबाट भित्रिएका थिए। त्यसपछि त्यो आकार केही घटेर २०२४ मा नेपालमा ३ लाख १७ हजार ७ सय ८१ जना भारतीय पाहुना आएका थिए। त्यो आगमन अझै कमजोर बनेर २०२५ मा जम्मा २ लाख ९२ हजार ४ सय ३८ जना भारतीय पाहुना नेपाल भित्रिएका छन।

‘जेनजी आन्दोलन नहुँदो हो त यो वर्ष भारतीयको आगमन राम्रो हुन्थ्यो। तर, जेनजी आन्दोलनका कारण आगमन प्रभावित भयो,’ उनले भने, ‘जेनजी आन्दोलनपछि यो वर्ष भारतीय पाहुनाको आगमन घट्न थालेको हो। स्थलमार्गबाट आउनेको संख्या त राम्रै छ। तर, हवाईमार्गबाट आउने भने घटेकै हुन।’

जेनजी आन्दोलनपछि भारतीय पाहुनालाई नेपाल घुमघाममा केही सतर्क हुन भनेसँगै आगमन प्रभावित भएको उनले बताए। गत सेप्टेम्बर पछि ओरालो लागेको भारतीयको आगमन यो डिसेम्बरमा मात्र देखिने गरि सुधारिएको पनि उनले बताए। ‘जेनजी आन्दोलनले भारतीयलाई सबैभन्दा बढी नराम्रोसँग प्रभावित पारेको हो,’ उनले भने, ‘यो डिसेम्बरमा मात्र अलि सुधार देखिएको हो। नत्र भारतीय पर्यटक घटेका थिए।’

नेपालले बढी आशा गरेको अर्काे पर्यटन बजार चीन हो। तर पछिल्लो समय चिनियाँ पाहुनाको आगमनले समेत गति लिन सकेको छैन। बोर्डका अनुसार चिनियाँको आगमन पनि अघिल्लो वर्षको तुलनामा २०२५ मा अझै कमजोर देखिएको छ। सन् २०२५ मा नेपालमा जम्मा ९५ हजार ४ सय ८० जना चिनियाँ पाहुना भित्रिएका थिए। तर, त्यही आगमन २०२४ मा १ लाख १ हजार ८ सय ७४ थियो। अहिलेसम्मको तथ्यांकमा नेपालमा सबैभन्दा बढी चिनियाँ पाहुना सन् २०१९ मा भित्रिएका थिए। त्यो वर्ष नेपालमा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ पाहुना भित्रिएका थिए।

‘चिनियाँको आगमन यो वर्ष अलि बढी नै अपेक्षा गरिएको थियो। तर, त्यो हुन सकेन,’ लामिछानेले भने, ‘चीनले नै सन् २०२५ मा नेपाल भ्रमण वर्ष मनाएकोले पनि बढी आशावादी भएका थियौ। तर, चिनियाँको आगमन सोचेजस्तो हुन पाएन।’

चिनियाँ पाहुनाको आगमन कोरोनापछि खस्केको थियो। त्यो उकास्नका लागि चीनले नेपाल भ्रमण वर्ष मनाएर बढी भन्दा बढी चिनियाँलाई नेपाल पठाउने आश्वासन दिएको भएपनि आगमनले गति नलिएको लामिछानेले बताए। पर्यटक आगमन उकास्नका लागि २०२६ मा अझै बढी प्रवर्द्धनात्मक गतिविधि गर्न जरुरी रहेको पनि लामिछानेले बताए।  

पर्यटन व्यावसायीले पर्यटन क्षेत्र अझै पनि उतारचढावको अवस्थामा रहेको बताउँछन। होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा अहिले पनि पर्यटन क्षेत्र स्थीर नरहेको बताउँछन। ‘पाहुना नै नआएको भन्न मिल्दैन। तर, उतारचढाव छ  सिजनको समयमा भीडभाड हुने, अरुबेला सुनसान हुने अवस्था छ,’ उनले भने,‘पहिलेको जस्तो एकनासको आगमन छैन।’

उनले पनि भारतीय र चिनियाँको आगमन सोचेजस्तो हुन छाडेको बताए। ‘भारतीय त स्थलमार्गबाट पनि आउँछन। योपटक जेन्जी आन्दोलनले केही प्रभाव पारेर हो। नत्र चिनियाँ पाहुना भने अपेक्षाकृत रुपमा आउन सकेनन। चिनियाँ नआउँदा पर्यटन क्षेत्र गुज्जार हुन सकेन,’ शर्माले भने।  

प्रकाशित: २४ पुस २०८२ १६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App