१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

बुद्ध एयरले छठसम्म सस्तो भाडामा यात्रु उडाउने

रसुवा भोटेकोशीमा आएको भीषण बाढीका कारण राजमार्ग लगायत सडक पूर्वाधारमा क्षति पुगेपछि स्थलमार्गको यात्रा सास्तीपूर्ण बनेको छ। मुख्य राजमार्गका कतिपय खण्ड त पूर्ण रुपमा अवरुद्ध नै छन। सडक आवागमन प्रभावित भएपछि अहिले यात्रुको चाप हवाई मार्गमा थपिएको छ।  

निजी हवाई कम्पनि बुद्ध एयरले सडक आवागमन सहज नहुँदासम्म न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेको छ। एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले प्रमुख चाडपर्व दशैं, तिहार तथा छठसम्म सस्तो भाडादरमा उडान गर्ने बताएका छन्।  

‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो’, कार्यकारी अध्यक्ष बस्नेतको भनाई उल्लेख गर्दै जारि गरिएको  विज्ञप्तीमा भनिएको छ, ‘राजमार्गको यात्रा सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौं।’ 

बस्नेतका अनुसार सस्तो भाडादरमा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने भएपनि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा यस्तो कदम चाल्नु एयरलाइन्सको दायित्व भएको उल्लेख छ।

‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला, भोलिको बिहानी फेरि सुनौलो भइहाल्छ,’ बस्नेतले भनेका छन’, ‘अहिलेको परिस्थितिमा हामी सबै हृदयदेखि नै योगदान गर्नुपर्छ।’ एयरलाइन्सका अनुसार हवाई उडानको कूल सञ्चालन खर्चमा हवाई इन्धनको लगभग ३५ देखि ४० प्रतिशत हिस्सा हुन आउँछ। पछिल्लो सात महिनायता हवाई इन्धनको मूल्यवृद्धि लगभग शतप्रतिशत नै बढेको छ। हवाई इन्धनको मूल्य कम र स्थिर हुँदा एयरलाईन्सले पनि कम भाडादरमै सेवा दिन सक्ने विज्ञप्तीमा जनाइएको छ।  

राहत सामग्रीको निशुल्क हवाई ढुवानी

बुध्द एयरले विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निशुल्क ढुवानी पनि गर्न थालेको छ। अहिलेसम्म एयरलाइन्सले ७ हजार ३ सय २२ किलो राहत सामाग्री निशुल्क ढुवानी गरि सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिसकेको जनाएको छ। भद्रपुरबाट १०५ किलो, भरतपुरबाट २१ सय ८८ किलो, सुर्खेतबाट १ सय २० किलो, धनगढीबाट १६ सय ६५ किलो, विराटनगरबाट २ सय ७२ किलो राहत सामग्रीको ढुवानी गरेको छ। त्यसैगरि भैरहवाबाट २ हजार ४८ किलो, पोखराबाट ७ सय ५५ किलो र नेपालगञ्जबाट २६ किलो राहत सामग्री ढुवानी गरेको बुध्द एयरले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रकाशित: १९ भाद्र २०८३ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App