भोटेकोशीमा बाढी आएको १० दिनपछि त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट उद्धार भएका सञ्जय साहले पावर हाउसभित्र अरु पनि थुनिएको हुन सक्ने बताएका छन्।
सकुशल उद्धारपछि नेपाली सेनापछि कुरा गर्दै उनले टनेलभित्र ४/५ जनामात्रै आफ्नो सम्पर्कमा रहेको र पावर हाउसभित्र अरु व्यक्तिहरू पनि थुनिएको हुन सक्ने बताए।
उनले आफूले सुरुङभित्र रहेकाहरूलाई भगाएको तर आफू भाग्न नभ्याएको बताए।
‘म कन्ट्रोल रूममा अपरेटर काम गर्छु। अरू बेला त भित्र ४/५/६ जना मात्रै हुन्थ्यौं, त्यतिबेला ४०/४५ जना नै थियौँ’, उनले सेनासँग भने, ‘म कन्ट्रोल रूममा भएकाले मेरो सबैको ज्यान बचाउनु मेरो जिम्मवारी थियो। त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो।’
उनले थप भने, ‘मैले सबैलाई भनेँ ठूलो एक्सिडेन्ट भयो ड्याममा। अनि सबैलाई भाग्न लगाएँ बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो र लास्टमा म निस्किनै पाइनँ। अनि म फसेँ। ४०/५० जना काम गरेकालाई भगाइयो।’
यस्तै, उनले टनेल लामो रहेको र भित्र मान्छेहरू हुन सक्ने बताए। उनले भने, ‘हाम्रो सम्पर्कमा रहेका र साथीहरूसँग कुरा भएका ३/४ जना मात्रै थियौँ, नजिक छेउछाउ कुरा गर्ने, हल्ला गर्ने। भित्रपट्टि पावर हाउसमा पनि मान्छेहरू हुन सक्छ होला। सबै भाग्न नसकेको होला। टनेल लामो छ। टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसक्या होला।’
आफू १० गते टनेलमा छिरेको र १० बजे एक्सिडेन्ट भएको बताउँदै आफू यतिका दिन महामन्त्र जप गर्दै बसेको बताए।
सेनाका अधिकारीले पनि उनलाई ९ दिनपछि बाहिर निस्किनु भनेको दोस्रो जीवन पाउनुजस्तै हो भन्दै बधाइ दिए।
प्रकाशित: १९ भाद्र २०८३ १२:१७ शुक्रबार





