जेन-जी प्रदर्शनकारीको निसानामा परेको भाटभटेनी डिमार्पमेन्टल स्टोर्सले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको छ ।
तोडफोड र आगजनीमा परेर पूर्ण क्षति नभएका शाखाबाट सेवा दिन थालिएको हो ।
भाटभटेनीले भदौ २७ गते दिउँसो २ बजेदेखि बेलुकी ८:३० बजेसम्म नेपालभरिकै विभिन्न १६ शाखाबाट सेवा सुरु गरेको जनाएको छ ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युडब्लुटिसी, पाटन, कलंकी, राधेराधे र बलाजु शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
यस्तै, उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलेका छन्। तोडफोड र क्षतिको बीचमा पनि ग्राहकको धैर्य र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै कम्पनीले ‘हामी फेरि खुलेका छौँ’ भन्दै सूचना जारी गरेको छ । आन्दोलनको क्रममा देशभरका निजी उद्योग व्यवसाय र सुपरमार्केटमाथि आक्रमण हुँदा भाटभटेनीका धेरै शाखा पनि प्रभावित भएका थिए ।
अब कम्पनीले आफ्नो नियमित सेवा क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ ।
प्रकाशित: २८ भाद्र २०८२ १६:४४ शनिबार





