चितवनको भरतपुर महानगरपालिकाले तेस्रो पटक ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का खोलेको छ। निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्लाजा’ लागत घटाएर ठेक्का आह्वान गरेको हो।
कार्तिक ३० गते सूचना जारी गर्दै महानगरले यसपटक ८० करोडदेखि एक अर्बसम्मको लागत प्रस्ताव पेश गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ। यो रकम पहिलेभन्दा तोब्बर कम हो। ठेक्का लागेको दुई वर्ष नाघ्दा समेत काम सुरु नभएपछि महानगरले आर्या विल्डर्स इन्जिनियरिङ प्रा.लीसँग २०८० मंसिरमा पहिलोपटक ठेक्का सम्झौता तोडेको थियो। त्यसपछि २०८१ साल मंसिर १८ गते पुनः दोस्रोपटक निकालिएको ठेक्का आह्वानमा अपेक्षा अनुसार प्रस्ताव नै अगाडि नबढेपछि काम गरिएको थियो। निजी क्षेत्र ठुलो लगानी गर्न इच्छुक नदेखिएपछि लागत घटाएर प्रस्ताव आह्वान गरिएको महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए।
‘ठुलो लगानीमा निजी क्षेत्र लगानी गर्न इच्छुक नदेखिएपछि यसपटक बहुउद्देश्यीय व्यावसायिक भवनको लागि लागत घटाएर ठेक्काका लागि प्रस्तावन आह्वान गरेका छौँ। अहिले काम अगाडि बढ्नेमा हामी आशाबादी छौँ,’ पौडेलले भने।
यस पटकको प्रस्तावमा २५ लाख रुपैयाँ जमानत रकम तोकिएको छ। यसअघि काम नगरेपछि आर्या विल्डर्ससँग एक करोड २० लाख धरौटी रकम जफत गरेको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७५ असोज ७ मा उद्घाटन गरेका थिए। त्यसपछि महानगरले काम अगाडि बढाएको थियो।
महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा निजी क्षेत्रले करिब तीन अर्ब लगानी निर्माण हुन लागेको थियो। तीन वटा बेसमेण्ट पार्किङसहितको १२ तले सुविधासम्पन्न भवन बनाउने सम्झौता छ। यहाँ चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटेल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरू बन्ने प्रस्तावमा आह्वान गरिएको थियो।
मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने लक्ष्य राखेको छ। पहिलो ठेक्का आह्वानमा पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिने भनिएको थियो। चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्वसहित एक करोड ५३ लाख ७५ हजार रुपैयाँ लिने सम्झौतामा उल्लेख थियो। राजश्व हरेक दुई वर्षमा १० प्रतिशतले बढ्ने भनिएको थियो।
२०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो। महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका एक सय सटरहरू सञ्चालनमा थिए। त्यतिखेर भरतपुर महानगरले वार्षिक साढे २ करोड रुपैयाँ राजस्व उठाउँदै आएको थियो।
भरतपुर महानगरपालिका वडाध्यक्ष विकास थापाका यस स्थानमा व्यावसायिक भवन अगाडि नबने वडा कार्यालय बनाउनु पर्ने धारणा राख्छन्। नारायणगढको मुख्य बजारमा रहेको यस स्थानलाई अहिले पार्किङ स्थल बनाइएको छ।
प्रकाशित: ४ मंसिर २०८२ ११:१० बिहीबार





-1200x560-600x400.jpg)