२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बाँकेका किसान

नेपालगन्जको धम्बोझीस्थित सुर्खेतरोड छेउमा एकाबिहानै किसानहरू आफ्ना उत्पादित तरकारीसहित लाइनमा बसिरहेका हुन्छन्। हरेक दिन बिहान ९ बजेसम्म आफ्ना उत्पादित तरकारी बेचेर उनीहरू घर फर्किन्छन्। 

यस्तै कोहलपुरको हाट बजारमा पनि किसानहरू यसरी नै आफ्ना उत्पादित तरकारी बिक्री गर्न पुग्छन्। जिल्लाको बैजनाथ गाउँपालिकास्थित वडा नम्बर ७ र ८ का किसान आफूले उत्पादन गरेका तरकारी आफैँ बजारमा लगेर बेच्ने गरेका हुन्। यहाँका किसानले उत्पादन गरेको तरकारीप्रति उपभोक्ताको विश्वास बढी रहेको पाइन्छ।  

बैजनाथ–८ फत्तेनगरका किसान अर्जुन चौधरीको खेतबारीमा बाह्रै महिना तरकारी लटरम्म फल्छ। मेहनत अनुसार तरकारीले राम्रो आम्दानी दिएपछि उनले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीका लागि गाउँपालिकाले उनलाई आवश्यक सामग्री र बीउ, बिजन समूहमार्फत प्रदान गरेको छ। यसले गर्दा उनलाई तरकारी खेती गर्न ऊर्जा मिलेको छ।

‘मसँग कुल ९ कठ्ठा जति जमिन छ, यसमध्ये ३/४ कठ्ठामा तरकारी खेती गरेको छु, यति थोरै जमिनमा तरकारी खेती गरे पनि वर्षभरि मेरो घरको सम्पूर्ण खर्च धानेको छ,’ उनले नागरिकसँग भने। आफ्नो बारीमा मकै, काँक्रो, फर्सी, लौका, बोडी उत्पादन गर्छन्। उत्पादन भएको तरकारी कहिले कोहलपुर, त कहिले नेपालगन्ज आफैँ लगेर बिक्री गर्छन्।  

फत्तेनगरका महावीर चौधरीले तरकारी बेचेर दैनिक २ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। ‘हरेक दिन बिहान हाम्रो गाउँबाट ४ वटा इलेक्ट्रिक रिक्सा र एउटा बोलेरो गाडीमा तरकारी लोड हुन्छ, यो तरकारी नेपालगन्ज र कोहलपुरमा बिक्री हुन्छ,’ उनले भने।  

उक्त गाउँबाट हरेक दिन ३५/४० जना किसानहरू तरकारी बेच्न नेपालगन्ज र कोहलपुर जाने गर्छन्। बैजनाथमा उत्पादन भएको तरकारी उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यहाँका किसानले खाद्यान्न बालीभन्दा तरकारी खेतीलाई बढी महत्त्व दिन्छन्। उत्पादन गरेको तरकारी खोज्दै उपभोक्ताहरू नेपालगन्जको धम्बोझीस्थित सुर्खेत रोड किनार र कोहलपुरको हाटबजारमा झुमिन्छन्।  

कोहलपुरको हाट बजार र नेपालगन्जको धम्बोझी क्षेत्रमा बिहानै तरकारी बेच्ने बैजनाथका किसानको जमघट नै हुन्छ। त्यहाँ तरकारी किन्नका लागि मर्निङ वाकमा निस्कने व्यक्तिदेखि लिएर टाढा–टाढाबाट समेत उपभोक्ताहरू आउने गर्छन्।  

बैजनाथ–८ फत्तेनगरका देवीराम चौधरी पूर्वशिक्षक हुन्। केही वर्षअघि सेवा निवृत्त भएपछि उनी कृषि पेशामा रमाइरहेका छन्। करिब ४ बिघा जमिन भएकोमा ५ कठ्ठा जति जमिनमा तरकारी खेती गर्छन्। खेती लगाउँदा होस् वा स्याहार्दा होस्, सबै काम आफैँ गर्छन्। उत्पादन गरेको तरकारी उनी कोहलपुर पुर्‍याउँछन्। उनले दैनिक रूपमा तरकारी बेचेर मनग्य आम्दानी गरिरहेका छन्। ‘मेहनत अनुसार कृषिले राम्रो आम्दानी दिएको छ, मैले जति पेन्सन रकम बुझ्छु, त्योभन्दा बढी पैसा कृषि कर्मले मलाई दिइरहेको छ,’ देवीरामले भने।  

बैजनाथ–८ स्थित टिटिहिरिया गाउँका किसानहरू एकाबिहानै कोहलपुर र नेपालगन्ज पुग्छन्। त्यही भिडमा हुन्छिन्, रामकृष्णी थारु। उमेरले ५० वर्षकी उनी गाउँका छिमेकीहरूसँग मिलेर तरकारी बेच्न निस्किन्छिन्। आफ्नो १२ कठ्ठा जमिनमा उनले मौसमी र बेमौसमी टमाटर, आलु, बोडी, करेला, खुर्सानी, साग, फर्सी, लौका बाह्रै महिना फलाएकी छन्। यसबाट वार्षिक ५ लाख बराबरको आम्दानी हुने गरेको उनले सुनाइन्।  

तरकारी खेती गर्नका लागि उनलाई कृषि सम्बन्धी सामान्य जानकारी छ। ‘कृषि सम्बन्धी तालिम पनि लिएको छु, तर सामान्य जानकारी मात्रै छ,’ उनले भनिन्, ‘काम गर्दा गर्दै सिकियो।’ उनलाई गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत मोटर, बीउ बिजन, स्प्रे ट्यांकी, समरसेबल पम्प जस्ता सामग्री अनुदानमा दिएको छ। घरमा ८ जनाको खर्च सबै तरकारी खेतीले धानेको रामकृष्णीले सुनाइन्। रामकृष्णीकी बुहारी राधिका थारु स्थानीय उज्वल महिला कृषक समूहमा आवद्ध छिन्। उक्त समूहले महिलाहरूलाई आत्मनिर्भरतातर्फ डोर्‍याउने गरेको छ।  

सोही गाउँकी शान्ति थारुले आफ्नो ५ जनाको परिवारको खर्च सबै तरकारी खेतीबाट व्यवस्थापन गरिरहेकी छन्। उनले १० कठ्ठामा लगाएको तरकारी खेतीबाट वार्षिक ३ लाख बढी आम्दानी गरिरहेकी छन्। ‘बिहानै नेपालगन्ज लगेर बेच्छौँ, नेपालगन्जमा बैजनाथको तरकारी भन्ने बित्तिकै मान्छेहरू खोज्दै आउँछन्,’ उनले भनिन्। तरकारी खेती गर्नको लागि गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत समरसेबल पम्प, मिनी टेलर, ‘ट्यांक स्प्रे’, बीउ बिजन, धान काट्ने मेसिन अनुदानमा दिएको छ।  

‘गाउँपालिकाले हामीलाई किसानसँग पालिका प्रमुख कार्यक्रमबाट धेरै सहयोग गरेको छ, कृषि पेशा गरिरहेका हामीलाई गाउँपालिकाको सहयोगले थप हौसला मिलेको छ,’ उनले भनिन्। उनी स्थानीय हरियाली महिला कृषि समूहको अध्यक्ष पनि हुन्। उक्त समूहमा गाउँका महिलाहरू आवद्ध छन्। कुनै समयमा बेरोजगार भएर बसेका महिलाहरू अहिले कृषिमा स्वरोजगार बनेका छन्। स्थानीय वडा कार्यालयले कृषिकर्म गरिरहेका किसानलाई अनुदान वितरण गर्नका लागि गाउँपालिकामा सहजीकरण गरिरहेको छ।  

बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुका अनुसार उक्त वडाको टिटिहिरियामा मात्रै ४ सय जना किसानहरू तरकारी खेतीमा आवद्ध छन्। यस्तै थपुवाका २ सय ७५, गुरुदयालपुरका २ सय ५०, झिगौराका १ सय ६५ र फत्तेनगरका १ सय जना जति किसान तरकारी खेतीमा आवद्ध छन्।  

प्राय: सबै किसानलाई कृषि र पशु शाखाको वार्षिक बजेट तथा किसानसँग पालिका प्रमुख कार्यक्रममा जोड्ने काम गरिएको वडाअध्यक्ष थारुले सुनाए। धान, गहुँभन्दा तरकारीमा बढी फाइदा हुने भएकाले सबैको आकर्षण यसमा रहेको बताए। उनी भन्छन्, ‘किसानलाई तरकारी उत्पादन गरेर नै बढी फाइदा छ, मेहनत अनुसार किसानले मूल्य पाउने हो भने अझ धेरै राहत मिल्थ्यो।’ 

गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत किसानलाई ७० प्रतिशतमा अनुदानवापत हरेक वर्ष सामग्री वितरण गर्दै आएको छ। गाउँपालिकाले किसानको व्यक्तिगत फर्म, कृषक समूह, सहकारी संस्थामार्फत सिँचाइमा प्रयोग हुने मोटर, पम्पसेट, समरसेबल पम्प, तरकारी ढुवानी गर्ने अटोरिक्सा, ‘स्प्रे पम्प’, पावर टेलर, मिनी टेलर, डेलिभरी पाइप, बीउ बिजन लगायत सामग्रीहरू दिइरहेको छ।  

‘हाम्रो वडाको बजेट सानो हुन्छ, हामीलाई पूर्वाधारको बजेट मात्रै आउँछ, वडाबाट हामीले केही गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बजेट गाउँपालिकामा हुन्छ, गाउँपालिकाले नै किसानसँग पालिका प्रमुख कार्यक्रम चलाएको छ, हाम्रो सिफारिस अनुसार किसानले अनुदान पाइराख्नु भएको छ।’ वडाअध्यक्ष थारुका अनुसार यहाँका किसानहरू, त्यसमा पनि महिला किसानहरू आफूले उत्पादन गरेको तरकारी बेच्न आफैँ नेपालगन्ज र कोहलपुर पुग्छन्। तरकारी बिक्री गर्न जाँदा सवारी साधनको समस्या रहेको किसानहरू सुनाउँछन्।  

बैजनाथ–७ का राजेन्द्रकुमार थारुले गाउँमै बनिता कृषि च्याउ तथा पशुपालन फर्म खोलेका छन्। उनीसहित १९ जना गाउँमै रहेको हरियाली कृषक समूहमा आवद्ध छन्। उक्त समूहको उनी सदस्य छन्। राजेन्द्रले आफ्नो २ बिघा जमिनमा तरकारी र च्याउ खेती गरेका छन्। ‘सुरुमा १२ कठ्ठा जति जमिनमा तरकारी खेती हुन्थ्यो, दुई वर्षदेखि २ बिघा जमिनमा तरकारी खेती गर्छौँ,’ उनले भने।

आफ्नो ६ जनाको परिवार तरकारी खेतीमा लागिरहेको राजेन्द्रले सुनाए। उत्पादन भएको तरकारी बेच्न उनी गाउँदेखि करिब ५ किलोमिटर टाढा रहेको कोहलपुर, हवल्दारपुरमा हरेक दिन पुग्छन्। तरकारी खेतीबाट वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। व्यावसायिक तरकारी खेतीमा आवद्ध भइसकेपछि बैजनाथ गाउँपालिकाले टनेल, प्लास्टिक, बीउ बिजन लगायत सामग्री पाएको उनले बताए।  

बैजनाथ–७ का किसानहरूले प्राय: घरमा तरकारी खेती गरेका छन्। आफ्नो मेहनतले उनीहरू मनग्य आम्दानी गरिरहेका छन्। बैजनाथ–७ कै मायावती थारु १० कठ्ठा जमिनमा तरकारी खेती गर्छिन्। बाह्रै महिना आफ्नो खेतबारीबाट लौका, काँक्रो, भिण्डी, करेला, बोडी फलाउँछिन्। तरकारी खेतीबाट वार्षिक रूपमा ४ लाख बढी आम्दानी हुने गरेको उनले सुनाइन्।  

बैजनाथ–७ का वडाअध्यक्ष दिनेशकुमार चौधरीका अनुसार उक्त वडामा मात्रै करिब १५ वटा जति व्यावसायिक फर्म रहेका छन्। ‘आधा जतिले तरकारी खेती गर्छन्, हाम्रो वडामा प्राय: किसानले ५ कठ्ठादेखि २ बिघा जमिनमा तरकारी खेती गरिरहेका छन्।’ यहाँबाट दैनिक १० क्विन्टलभन्दा बढी तरकारी उत्पादन हुन्छ। तरकारी खेती गर्ने किसानलाई पछिल्लो समयमा सिँचाइ सम्बन्धी समस्या केही कम भएको वडाअध्यक्ष चौधरीले बताए। ‘तरकारी उत्पादन गर्ने प्रत्येक किसानको खेत–खेतमा सिक्टाको पानी जाने व्यवस्था मिलाएका छौँ, हाम्रो यहाँ सिक्टाको कोहलपुर शाखाबाट पानी आउँछ, पर्सेनीपुर र पेडारी नालामा पनि पानी रहन्छ, अधिकांश ठाउँमा सिँचाइ भइरहेको छ, पर्याप्त रूपमा सिँचाइ भइरहेको छ,’ उनले भने।  

बैजनाथ–७ का किसानहरू धेरै मेहनती रहेको वडाअध्यक्ष चौधरीले बताए। ‘हामी थारु जातिहरू कृषिमा आश्रित हौँ, पहिलेका पुस्ताले भन्थे, पहिले बिस्तारै आफूले खानका लागि मात्रै रोप्यौँ, पछि व्यावसायिक रूपले खेती गर्न थालियो,’ उनले भने। उक्त वडाको पेडारी, प्रभातपुर, करेलपुर, पस्रामपुर गाउँमा तरकारी र बेमौसमी मकै खेती हुने गरेको छ। किसानको उत्पादनलाई बिक्री, वितरण गर्न कठिनाइ रहेको बताए। वडाअध्यक्ष चौधरीले भने, ‘किसानलाई उत्पादनसँगै बजारीकरणमा पनि उत्तिकै सहजीकरण गर्नुपर्छ, हुन त यो बाँके जिल्लाकै समस्या हो,’ भारतबाट अधिकतम रूपमा तरकारी आउँछ।  

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाको वडा नम्बर ७ र ८ का अधिकांश किसानहरू मौसमी तथा बेमौसमी तरकारी खेतीमा सक्रिय रहेको र तरकारी खेतीबाटै आत्मनिर्भर बनिरहेको बताए। उनले ८ वटै वडामा रहेका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको सुनाए। मौसमी र बेमौसमी तरकारी उत्पादक किसानलाई प्राविधिक सहयोगसँगै गाउँपालिकाले विभिन्न अनुदान सहयोग गरेको जानकारी दिए। गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम छुट्टै सञ्चालन गरेर किसानलाई अनुदान दिइरहेको उनले बताए।

प्रकाशित: १० भाद्र २०८२ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App