चितवनको खैरहनीका किसान इन्द्र सुवेदी यतिबेला आफ्नो केरा बगानमा ढलेका बिरुवातिर हेर्दै चिन्तित देखिन्छन् । केही महिनाअघि हराभरा देखिएको बगान अहिले हावाहुरीले ढालेका बोटहरूले भरिएको छ । तर उनको चिन्ता केवल बाली नष्ट भएको मात्र होइन—समयमै बिमा नहुँदा क्षतिपूर्ति पनि पूरा नपाउने अवस्था हो ।
सुवेदीले फागुन महिनामा नयाँ बिरुवा लगाएका थिए । करिब २६ हजार बिरुवा रोपिएको सो बगान अहिले ८.६६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, चैत २ गते आएको हावाहुरीले करिब ५ हजार बिरुवा ढालेपछि ठूलो क्षति भएको छ । विशेषगरी मालभोग जातका केरा बढी प्रभावित भएका छन् भने जिनाइन जातमा आंशिक क्षति भएको छ ।
‘बोट रोपेको ३५ दिनभित्रै बिमा गर्नुपर्ने हो, तर हामीले बिमा असोजमा मात्रै गर्न सक्यौं,’ सुवेदीले भने, ‘अहिले बोट लड्दा पनि पूरा क्षतिपूर्ति पाइँदैन।’
उनी जस्तै चिन्तामा रत्ननगरका शंकर सुवेदी पनि छन् । केरा बाली ३५ दिनभित्रै बिमा गरिसक्नुपर्ने नियम भए पनि व्यवहारमा त्यो सम्भव हुन सकेन । बीमा कम्पनीले कात्तिक महिनामा मात्र बिमा गरिदियो । बिमा कम्पनीले समयमा बिमा नगरिदिँदा पूर्ण बिमा रकम प्राप्त गर्न नसकेको उनले बताए ।
‘समयमा बिमा गरिदिन माग गर्दै तीन पटक बिमा कम्पनीमा डेलिकेशन नै गएँ । हुन सकेन,’ उनले भने ‘फागुनमा रोपेको बिरुवाको मन्त्रीलाई फोर्स लगाएर कात्तिकमा बिमा गर्नुप¥यो।’ उनले पूर्वि चितवनमा ४२ विगाहा क्षेत्रफलमा केरा खेती गरेका छन् । सो जग्गामा करिब ६२ हजार केराका बोट थिए । त्यसमध्ये चैत्र २ गते आएको हावाहुरीले ६० प्रतिशत ढलाएको उनले बताए । उनका अनुसार कम्तीमा ३७ हजार केराका बोट हावाहुरीले ढलाएको छ ।
चितवनका केरा किसानहरू यतिबेला बगानमा लडेका बिरुवातिर हेर्दै चिन्तित छन् । प्राकृतिक प्रकोपभन्दा ठूलो चोट किसानलाई समयमै बिमा नहुँदा परेको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए । ‘किसानहरूले बिमा गर्न खोजेपनि प्रक्रिया ढिलो हुँदा कात्तिक महिनामा मात्रै बिमा सम्पन्न भयो । नियमअनुसार असारभित्रै बिमा गरिसक्नुपर्ने भए पनि ढिलाइले अहिले क्षतिपूर्तिमा ठूलो असर परेको छ,’–महतोले भने ।
बिमा नीतिअनुसार बालीको उमेरअनुसार क्षतिपूर्ति पाइन्छ । ६ महिना नपुगेको बालीमा ६५ प्रतिशत मात्रै क्षतिपूर्ति पाइन्छ । ६ देखि ९ महिनासम्म पुगेकोमा ७५ प्रतिशत र ९ महिना नाघेपछि मात्रै शतप्रतिशत पाइने व्यवस्था छ । चितवनका अधिकांश किसानको बगानमा भएको क्षति भने ६ महिना नपुग्दै भएकाले ६५ प्रतिशत क्षतिपूर्तिमा सीमित हुनेछन् ।
केरा खेतीमा एउटा बोटको बिमा मूल्य २७५ रुपैयाँ तोकिएको छ । बिमा प्रिमियममा सरकारले ५० लाख रुपैयाँसम्मको बिमामा ७५ प्रतिशत, ५० लाखदेखि १ करोडसम्म ६५ प्रतिशत र सोभन्दा माथि ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था छ । तर, बिमा प्रक्रिया ढिलो हुँदा यसको पूर्ण लाभ लिन किसान असफल हुने नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरी पन्तले बताए ।
‘बिमा सेवा समयमै र सहज रूपमा उपलब्ध भएको भए अहिलेको क्षति केही हदसम्म कम हुने थियो,’ पन्तले भने ‘बिमा कम्पनीले ढिलो गर्दिदा क्षतीको पुरा रकम पाउनबाट किसान बन्चित हुने भए । उनका अनुसार यहाँ करिव पाँच करोड रुपैयाँ बराबरको केराको बिमा भएको छ ।
चितवनमा केरा सुपरजोन क्षेत्रमा १ हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ । त्यसमध्ये राष्ट्रिय कृषि आधुनीकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका अनुसार करिव ४५ प्रतिशत केरा चैत्र २ गते आएको हावाहुरीले ढलाएको छ ।
प्रकाशित: ९ चैत्र २०८२ १७:०३ सोमबार





