बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष इन्द्रबहादुर बानियाँले जेठ १२ गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री बानियाँले आगामी बजेट समान वितरण र उत्पादनमुखी विकासमा केन्द्रित हुने बताएका छन्।
उनले ‘खरभुजाजस्तो बाहिर एक र भित्र अर्कै हुने बजेट नभई गाजरजस्तो भित्र–बाहिर एउटै हुने बजेट ल्याउने’ टिप्पणी गर्दै बजेटमा दोहोरो मापदण्ड नअपनाइने स्पष्ट पारे।
‘गाजरमा भित्र पनि रातो बाहिर पनि रातो हुन्छ। खरभुजामा बाहिर हरियो भित्र रातो हुन्छ,’ उनले भने ‘कतिपय मानिसको व्यवहार खरभुजाको जस्तो दुई थरि हुन्छ, तर मैले खरभुजा वाला बजेट ल्याउँदैन। भित्र पनि रातो भएको जागर जस्तो बजेट ल्याउँछु।’
उनले किसानलाई उत्पादनशील बनाउने, प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिने तथा रैथाने बाली र खाद्य संस्कृतिको संरक्षणमा जोड दिइने बताए।
प्रत्येक पालिकामा स्थानीय खानाका परिकार प्रवर्द्धन गर्न ‘एक पालिका–एक खाना घर’ अवधारणाअन्तर्गत आवश्यक बजेट व्यवस्था गरिने उनले जानकारी दिए।
रैथाने उत्पादनको संरक्षण, संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्नसमेत प्रदेश सरकारले पहल गर्ने उनले बताए। यो नीति तथा कार्यक्रम गरिखाने बनाउने उनले बताए।
छलफलका क्रममा नेपाली कांग्रेसका सांसद रामकृष्ण चित्रकारले नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी अघि बढाउनुपर्ने बताए। उनले जनताले दिएको विश्वासलाई व्यवहारमा देखाउनुपर्ने धारणा राखे।
नेकपा (एमाले) का सांसद हरिप्रसाद सापकोटाले पर्यटन विकासका लागि पहुँच मार्ग र आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।
‘घुमौं बागमती, बुझौं संस्कृति’ भन्ने नारालाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो। नेकपाका सांसद रामप्रसाद ढुंगानाले युवाशक्ति विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले घरबारविहीन नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।
सांसद मातृकाप्रसाद भट्टराईले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्न सुझाव दिए। नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईँले नीति तथा कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरे।
राप्रपाका सांसद उद्धव थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
नीति तथा कार्यक्रममाथि नेकपाका रत्नप्रसाद ढकाल, सुष्पा भुलेज न्यौपाने, युवराज चौलागाई तथा राप्रपाकी लक्ष्मी घिमिरेले संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्।
प्रदेश सभाको अर्को बैठक जेठ ३१ गते बस्ने गरी स्थगित गरिएको छ।
प्रकाशित: १९ जेष्ठ २०८३ २०:५७ मंगलबार





