२० असार २०८३ शनिबार
image/svg+xml
अर्थ

पर्यटक सवार चालकलाई नाकामै सचेतनामूलक सामाग्री

पोखराको सडकमा भारतीय पर्यटक बाहेक सवारीका चालकलाई सचेत गराउँदै प्रहरी। तस्बिरः नागरिक

पर्यटक बाहक भारतीय सवारीलाई लक्षित गर्दै चालकका लागि सचेतनामूलक सामाग्री वितरण गर्न थालिएको छ। पोखरा भित्रिएका भारतीय सवारीका कारण भीडभाड र दुर्घटना बढेको भन्दै प्रहरीले पोखरा भित्रिने मुख्य राजमार्गको छोरेपाटन र कोत्रेमा चालकका लागि सचेतनामुलक सामाग्री वितरण गर्न थालेको हो।  

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका एसपी गोबिन्दराज काफ्लेका अनुसार पोखरा प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेका छोरेपाटन र कोत्रेमा ट्राफिक प्रहरी खटिएको छ। प्रहरीले ती ठाउँमा विशेषगरि भारतीय सवारीका चालकका लागि सचेतनामूलक सामाग्री वितरण गरेको उनले बताए।  

‘पोखरामा भित्रिएपछि के गर्न हुने र नहुने भन्ने जानकारी नहुँदा विशेषगरि लेकसाइडको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्न सहज होस भनेर सचेतनामुलक सामाग्री दिइएको हो।’ चालकलाई पोखराभित्रको बाटो तथा राजमार्गको अवस्था, विशेषगरि लेकसाइडको सवारी चाँप, पार्किङ व्यवस्थापन लगायतबारे जानकारी दिइने उनले बताए। ‘नाकामै रोकेर जानकारी दिँदा बढि प्रभावकारी हुने देखेका छौं,’ उनले भने।  

सिद्धार्थ राजमार्ग हुँदै भित्रिएका पाहुना छोरेपाटनबाट पोखरा प्रवेश गर्छन। त्यस्तै पृथ्वी राजमार्ग हुँदै भित्रिएका पाहुना भने कोत्रेबाट पोखरा भित्रिन्छन्। ‘सचेतनामूलक सामाग्री क्यूआर कोड सहितको छ। केही पर्चा र पम्प्लेट पनि रहेका छन्। क्यूआर कोडलाई स्क्यान गरेपछि पोखरामा सवारी चालकले के गर्न हुने र नहुने भन्ने जानकारी पाउनेछन्,’ उनले भने, ‘पर्यटक लक्षित सवारी साधनलाई सचेत बनाउने प्रयास गरेका हौ।’ उनका अनुसार पर्यटक सवार सवारीको साधन पनि रेकर्ड राखिनेछ।  

उनका अनुसार सवारी चालकले कहाँ पार्किङ गर्ने वा नगर्ने भन्ने पनि जानकारी पाउनेछन्। चालकलाई सचेत गराउनका लागि नाकामै रोकेर पर्चा, पम्प्लेट सहित क्यूआर कोड सहितको जानकारी दिँदा सहज हुने उनले बताए। ‘यो पटक पोखरामा सोचे भन्दा बढि पाहुना भित्रिएका छन्। भारतीय पाहुनाका कारण भीडभाड पनि थपिएको छ। पाहुना बढि भित्रिदाँ सवारी चाप पनि बढेको छ,’ उनले भने, ‘चालकले जथाभावि सवारी साधन पार्किङ गरिदिँदा झन्झट पनि बढेको छ।’

यतिसम्मकी भारतीय सवारी तिब्रगतिमा भित्री गल्लीमा कुँदाउने, जहाँ पायो त्यही रोकिदिने, एकतर्फी बाटोमा पनि गुडाउने, साँघुरा भित्री गल्लीमा लामो समय रोकेर राखिदिने गर्दा लेकसाइडको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको उनले बताए। नाकामा रोकेर सचेतनामुलक सामाग्री दिने कार्यलाई अभियानकै रुपमा लिएर अघि बढाउने प्रयास भएको उनले बताए।  

‘व्यावसायीले व्यवस्थापन गर्न नजान्दा पनि समस्या छ। पाहुनाका लागि मात्र ठाउँ दिएर भएन, सवारी कहाँ रोक्न हुन्छ वा हुँदैन भनेर जानकारी पनि दिनुपर्छ। कुन बाटोमा सवारी लैजान हुने की नहुने भनेर पनि व्यावसायीले चालकलाई जानकारी दिनुपर्छ,’ उनले भने। सडकलाइ नै पार्किङस्थल बनाइएको यो अवस्थमा सवारी कहाँ जान पाउने वा नपाउने भन्ने थाहा नहुँदा पनि अस्तव्यस्त भएको उनले बताए।  

प्रकाशित: १९ असार २०८३ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App