२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सुविधा सम्पन्न होटल धमाधम थपिँदै

पर्यटकीय सम्भावना बढ्दै गएपछि नेपालमा धमाधमसुविधा सम्पन्न नयाँ होटल खुल्ने क्रम बढेको छ । नेपालमा पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा एकपछि अर्को होटल खुल्नेक्रम बढ्दै गएको छ ।  

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा लगानीकर्ताले लगानी बढाउँदै लगेका छन् । पुराना होटलले क्षमता बढाउँदै लगेका छन् भने नयाँ होटल खोल्ने क्रम पनि जारी छ ।  

होटलमा लगानी बढ्नुको प्रमुख कारण देशको पर्यटकीय सम्भावना नै रहेको पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थी बताउँछन् । सरकारले पर्यटनलाई प्राथमिकतामा राखेकाले पनि लगानीकर्ताहरू उत्साहित भएको उनको भनाइ छ ।

‘पछिल्लो समय होटलहरूमा लगानी निरन्तर बढिरहेको छ । यस क्षेत्रमा सम्भावना देखेर लगानीकर्ताहरू उत्साहित भएका छन्’, उनले भने, ‘सयौंका संख्यामा होटलहरू खुलिरहेका छन् । निर्माणाधीनको संख्या पनि उल्लेख्य छ ।’

उनका अनुसार सरकारले हालै ल्याएको नयाँ कानुनले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको छ । जसले व्यवसायीहरूलाई थप प्रोत्साहन मिलेको छ । आर्थिक वर्ष २०७७/७८ देखि गत २०८१/८२ सम्म निरन्तर होटल खुल्नेक्रम बढ्दै जान थालेको हो । यस अवधिमा तीन सय ४८ वटा होटलहरू खुलेका छन् । यी होटलहरूमा १६ हजार तीन सय ५० वटा कोठा छन् भने जसमा २५ हजार आठ सय ९२ शैया रहेको पर्यटन विभागले जनाएको छ ।

राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८१ को तथ्यांक अनुसार कुल एक लाख ४२ हजार दुई सय २३ वटा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठान रहेका छन् । २०८१ को सर्वेक्षण अनुसार होटल तथा रेष्टुरेन्टमा कुल पाँच खर्ब ४३ अर्ब लगानी भएको थियो । त्यसयता पनि धेरै थपिएका छन् । त्यसपछि पनि अर्बौं लगानी थपिएको छ ।

धमाधम होटल खुले पनि अहिले करिब वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिने क्षमता पुगेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । ‘अहिले वार्षिक करिब १२ लाख पर्यटक आएका छन्,’ शाहले भने, ‘होटलको क्षमता बढेकाले विदेशी पर्यटक आगमन बढाउनुपर्छ ।’

पाँच वर्षमा एक तारे स्तरको होटल ४४ वटा खुलेका छन् । जसमा एक हजार २८ वटा कोठा र एक हजार सात सय ७९ शैया छन् । दुई तारे स्तरका होटल ४९ वटा खुलेकोमा एक हजार आठ सय ७१ वटा कोठा रहेको छन् । तिनमा तीन हजार दुई सय ४१ शैया छन् ।  

यसैगरी तीन तारे स्तरका होटल ३७ वटा खुलेकामा दुई हजार दुई सय ५६ कोठा छन् जहाँ तीन हजार सात सय ८४ शैया छन् । चार तारे स्तरका होटल ४० वटा खुलेकोमा दुई हजार आठ सय ६४ वटा कोठा छन् । त्यहाँ चार हजार तीन सय १५ शैया  छन् ।  

यस्तै फाइभ स्टार होटल २७ वटा खुलेकामा तीन हजार छ सय २४ वटा कोठा छन् । त्यहाँ पाँच हजार तीन सय ५१ शैया संख्या छ भने पाँच तारे डिलक्स स्तरका होटल पनि तीन वटा खुलेको र तिनमा पाँच सय ५५ कोठा छन् । यिनमा छ सय २० शैया रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।  

यसैगरी लक्जरी बुटिक/हेरिटेज होटल (पाँच तारे स्तर) का तीन वटा खुलेकोमा दुई सय ४५ वटा कोठा छन् र त्यहाँ चार सय ५५ शैया छन् । डिलक्स/हेरिटेज (चार तारे स्तर) का पाँच वटा होटल खुलेकोमा तीन सय पाँच वटा कोठा छन् भने चार सय ३९ शैया छन् ।  

यस्तै नर्मल हेरिटेज बुटिक (तीन तारे स्तर) को एउटा होटल खुलेकोमा ९२ कोठा छन् र त्यहाँ ९९ शैया छन् । यस्तै साधारण रिसोर्ट एक सय २७ वटा खुलेकोमा त्यहाँ दुई हजार आठ सय १२ वटा कोठा र चार हजार सात सय ४८ शैया छन् ।  

डिलक्स रिसोर्ट नौ वटा खुलेकोमा चार सय ५२ वटा कोठा छन् र त्यहाँ छ सय ६३ शैया छन् । लक्जरी रिसोर्ट तीन वटा खुलेकोमा दुई सय ४६ कोठा छन् र त्यहाँ तीन सय ९८ शैया रहेको पर्यटन विभागले जनाएको छ ।

ठूला विजनेस ग्रुपहरूले मुलुक बाहिरका होटलहरूसँग सहकार्य गर्दा होटलमा फाइदा देखिएकाले गर्दा पनि होटलमा लगानी गर्न थालेसँगै ठूलादेखि साना खालका होटल खुल्नेक्रम बढेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले बताए ।  

आन्तरिक पर्यटकहरूको आगमनमा वृद्धि भएकाले गर्दा पनि नयाँ तारे होटल र रिसोर्टहरू खुलिरहेका छन् ।  

अहिले बैंकको ब्याजदर पनि कम र सहज रूपमा पाउन थालेपछि पछिल्लो समय मनिसहरू होटलतर्फ आकर्षित भइरहेको बताउँदै अध्यक्ष चुकेले होटलमा लगानीको सुनिश्चितता भएकाले गर्दा पनि होटल खुल्नेक्रम बढेको बताए ।  

आर्थिक वर्ष २०८१/८२ मा पाँच तारे डिलक्स स्तरको एक, पाँच तारे स्तरको सात, चार तारे स्तरको छ, डिलक्स स्तरको रिसोर्ट तीन वटालाई इजाजतपत्र/नवीकरणपत्र जारी गरिएको पर्यटन विभागले जनाएको छ ।  

पर्यटकहरूको सुविधाका लागि आवश्यक पूर्वाधारहरूमध्ये होटल तथा रिसोर्टको भूमिका अत्यन्त महत्त्वपूर्ण रहँदै आएको छ । यही आवश्यकतालाई दृष्टिगत गर्दै नेपालको विभिन्न स्थानमा गुणस्तरीय सेवा प्रवाह गर्ने होटल र रिसोर्टहरूको विकास तथा विस्तार हुँदै आएको छ ।  

हालका वर्षमा होटल र रिसोर्टमा स्वदेशी तथा विदेशी लगानीमा वृद्धि हुनुका साथै पर्यटकको बसाइ अवधि बढेको पनि देखिन्छ । अन्तराष्ट्रियस्तरका चेन होटलहरूको आगमन, आन्तरिक तथा बाह्य पर्यटकको सेवा र सत्कार गर्न क्षेत्रीय तथा स्थानीय स्तरमासमेत होटल निर्माणको गति तीव्र हुनु सकारात्मक संकेत हो ।  

आगामी वर्षमा दिगो पर्यटन, नवप्रवर्तनयुक्त सेवा र लगानीमैत्री वातावरण प्रवद्र्धनमा यस क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने पर्यटन विभागले जनाएको छ ।

प्रकाशित: १० पुस २०८२ २०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App