बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। अर्का एक युवक भने अझै बेपत्ता छन्।
हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो।
चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा शुक्रबार हिमपात भएपछि उनी त्रिवेणी पाटनस्थित धर्मशालामा बस्दै आएका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार हेलिकप्टरमार्फत उद्धार गरिएका कार्कीलाई सदरमुकाम मार्तडी पुर्याइएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसैबिच, सोही क्षेत्रमा सम्पर्कविहीन बनेका कञ्चनपुरकै बेदकोट नगरपालिका (दैजी) का २० वर्षीय मनिष बोहराको खोजी तीव्र पारिएको छ।
उनको खोजीका लागि सदरमुकामस्थित नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट उद्धार टोलीसहित हेलिकप्टर पुनः त्यस क्षेत्रतर्फ प्रस्थान गरेको प्रजिअ रिजालले जानकारी दिए।
यही असोज ९ गते सदरमुकाम मार्तडीबाट दुई युवकसहित पाँच जनाको टोली बडीमालिकातर्फ गएको थियो। टोलीमा रहेका पूर्वका अन्य तीन जना भने यसअघि नै सुरक्षित रूपमा मार्तडी फर्किसकेका छन्।
प्रकाशित: १४ कार्तिक २०८३ १८:३२ शनिबार



-600x400.jpg)

