नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिचको आठौं खेल वर्षा र प्राविधिक कारणले ढिलाइ भएको छ।
साँझ ५ बजे सुरु हुने तालिका रहेको यस ‘डे-नाइट’ खेलका लागि अहिलेसम्म टस हुन सकेको छैन। खेल सञ्चालनको अन्तिम अवस्था मूल्याङ्कन गर्न अम्पायर तथा प्राविधिक टोलीले साँझ ६ः४० बजे मैदानको निरीक्षण गर्ने भएका छन्।
यस खेलका लागि अन्तिम ‘कट अफ’ समय साँझ ७ः४१ बजेसम्म तोकिएको छ। यदि खेल सुरु भएमा निर्धारित ओभर छोट्याएर खेलाइने सम्भावना छ।
लगातारको वर्षा रोकिएपछि मैदान सुकाउने कार्य अन्तिम चरणमा पुगे पनि चोभार एन्डतर्फको एउटा फ्लडलाइट बल्न नसक्दा केही समस्या देखिएको छ। लाइटको फेदमा पानी जमेकाले हाल त्यसलाई सुकाउने प्रयास जारी छ।
एउटा फ्लडलाइट नबले पनि मैदानमा रहेका अन्य पाँचवटा लाइटहरू पूर्ण क्षमतामा बलिरहेका कारण खेलका लागि पर्याप्त प्रकाश उपलब्ध रहेको जनाइएको छ।
साँझ ६ः४० को निरीक्षणपछि खेलबारे अन्तिम निर्णय आउनेछ।
प्रकाशित: १४ कार्तिक २०८३ १८:३७ शनिबार



-600x400.jpg)

