८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका बाह्य पक्षमा उल्लेख्य सुधार

बैंकको व्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा दबाब भैरहेको बेला बाह्य पक्षमा भने सुधार देखिएको छ। विदेशी मुद्राको सञ्चितिमा सुधार र रेमिटेन्स आप्रवाहमा भएको वृद्धिले शोधनान्तर बचतमा गएको हो।

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन नेपाल राष्ट्र बैंकले केही वस्तु आयातमा गरेको कडाइले भुक्तानी सन्तुलन सकरात्मक देखिएको छ। रेमिटेन्स वृद्धि र आयातमा कमी आउँदा १४ महिनापछि शोधनान्तर १२ अर्ब ४३ करोड बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७८/०७९ असोजमा ७६ अर्ब १४ करोड रूपैयाँ घाटामा रहेको शोधनान्तर यो वर्षको असोजमा बचतमा पुगेको छ। चालु आवको भदौमा २३ अर्ब ६८ करोड रूपैयाँ घाटामा रहेकोमा असोजमा आइपुग्दा शोधनान्तर बचतमा पुगेको हो। २०७८ असारदेखि निरन्तर घाटामा गएको शोधानान्तर बचतमा सुधार आउनु अर्थतन्त्रका लागि सकरात्मक भएको अर्थ क्षेत्रका जानकार बताउँछन्। शोधानान्तर स्थिति घाटामा गएपछि सरकारले आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो। त्यसैगरी, केही वस्तुको आयातमा कडाइ गरेको थियो।

शोधानान्तर भनेको देशमा भित्रिने र बाहिरिने मुद्राको फरक हो। पर्यटक, रेमिटेन्स, वैदेशिक लगानीबाट विदेशी मुद्रा आउँछ भने नेपालमा उपभोग हुने वस्तु विदेशबाट आयात गर्दा मुद्रा बाहिरिन्छ। भुक्तानी सन्तुलन राम्रो भएपछि त्यसको सकरात्मक प्रभाव अर्थतन्त्रको आन्तरिक पक्षमा पनि पर्छ। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव भैरहेको बेला बाह्य अवस्थामा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव स्वतः आन्तरिक रूपमा पनि पर्छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोजसम्म) विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो भने अहिले १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड रूपैयाँ पुगेको छ। असोजमा मात्र ९४ अर्ब १ करोड रूपैयाँ विदेशबाट रेमिटेन्स आएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो।

विदेशी मुद्राको सञ्चिति घटेर ६.६ महिनालाई मात्र आयात धान्न सक्ने अवस्थामा पुगेकोमा अहिले धेरै सुधार भएको छ। विदेशी मुद्राको सञ्चिति बढेपछि अहिले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ पुगेको छ। एक महिनामै सञ्चिति ५७ अर्ब ६ करोड रूपैयाँले बढेको हो।

कोभिडको कारण खुम्चिएको वैदेशिक रोजगारीमा उल्लेख्य सुधार आएको छ। पोहोरको तुलनामा श्रम स्वीकृति लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ। तीन महिनामा १ लाख ४७ हजार ९ सय ३२ जनाले स्वीकृत लिएका छन्। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८ सय ६१ पुगेको छ। यो पोहोरको सोही अवधिको तुलनामा २१९.७ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि विदेशबाट वस्तु आयातमा कमी आएको छ। भदौमा १ खर्ब ४२ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा असोजमा एक खर्ब २७ अर्ब ४० करोड रूपैयाँको वस्तु आयात भएको छ। एक महिनाको अवधिमा करिब साढे २६ अर्ब रूपैयाँ कमको वस्तु आयात भएको छ। साउनमा एक खर्ब ३१ अर्ब रूपैयाँको सामान आयात भएको थियो।

-१४ महिनापछि शोधनान्तर १२ अर्ब ४३ करोड बचतमा रेमिटेन्स आप्रवाह १६.८ प्रतिशतले वृद्धि।

-विदेशी मुद्राको सञ्चिति ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने।

-वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने ६६.२ प्रतिशतले वृद्धि

-वस्तु आयात करिब साढे २६ अर्ब रूपैयाँले घट्यो।

महँगी बढ्यो

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्रमा दबाब कायमै छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुद्रास्फीति ८.५० प्रतिशतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भदौ महिनाको तुलनामा केही सुधार भए पनि पोहोरको भन्दा करिब दोब्बर बढी छ। गत भदौमा मुद्रास्फीति ८.६४ प्रतिशत थियो तर पोहोरको असोजमा मुद्रास्फीति ४.२४ प्रतिशत मात्र थियो।

सबैभन्दा बढी महँगी तराइमा रहेको छ। काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको बैंकले जनाएको छ। पोहोरको सोही अवधिमा यी क्षेत्रहरूमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ। तीन महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको बैंकले जनाएको छ। गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ७.६८ प्रतिशत छ। असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ। पोहोरको तुलनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो।

असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ। 

प्रकाशित: १ मंसिर २०७९ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App