१६ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

फेरि चम्कनेछ लाङटाङ

काठमाडौं-नुर्पु तामाङको गोठमा २३ चौंरी छन्। ११ वैशाखका दिन उनी साँझ गोठ पुगे, बिहानै गाउँ फर्कने गरी। चौंरी हराएकाले सखारै फर्कन पाएनन्, खोज्न जंगल पसे।
बस्ती पर्तिर चौंरी गोठ। लाङटाङ गाउँबाट एक घन्टा दुरीमा। त्यो दिन जाडो थियो। मध्याह्न अचानक ठूलो आवाज आयो। हावाले रूख हल्लायो। सबै हाँगा भाँच्चिए। हिउँपहिरो गएको सहजै अनुमान गरे उनले।‘ज्यान त जोगाउनैपर्योख,' ६० वर्षे तामाङले भने, ‘हत्त न पत्त ढुंगाको ओडारभित्र पसेँ।' 
मन आत्तियो। हुरी थामिएपछि उनी गाउँ झरे। बस्ती नै हिउँपहिरोले बढारिएको दृश्यले मुटु कटक्कै खायो। गाउँ पुग्दा घर भग्नावशेषमा परिणत भइसकेको थियो। त्यहाँ न उनले छोरा भेटे न बुहारी। न तीन नातिनातिना। 
रुवाबासी थियो। धेरैले प्रियजन गुमाए। केही घाइते भए। हलो जोत्दाजोत्दै हिमपहिरोले लपेट्यो छोरालाई। बुढेसकालमा एक्लो भए नुर्पु। उनका आँखाका डिल पनि भत्के।
भुइँचालोलगत्तै बस्ती मास्तिरको लाङटाङ लिरुङ (७,२३४ मिटर) चोइटिएर सुरु भएको हिमपहिरोले गाउँ ध्वस्त बनायो। गाउँका १७६ जनालाई निल्यो त्यसले। ठूलो संख्यामा पर्यटक, गाइड र पोर्टरको ज्यान गयो। तीमध्ये १४ विदेशीको शव प्राप्त भयो। बाँकी हराइरहेकाहरूको सूचीमा परेका छन्। 
‘कतिको लास भेटियो,' लाङटाङ विपद् व्यवस्थापन तथा पुनःनिर्माण समितिका कोषाध्यक्ष फिन्जो लोप्चन भन्छन्, ‘कतिको त अझै भेटिएको छैन।'
बाल्यकालदेखि नै गोठालो बनेका नुर्पुले धेरैपटक हिउँपहिरो देखेका छन्। तर, यति विनाशकारी पहिरो पहिलोपटक देखे। 
हिमपहिरोले सबैतिर क्षति पुर्याुयो। रिम्चे पुलमाथि लाङटाङ गाविस सुरु हुन्छ। लामा होटल, रिभरसाइड, घोडातबेला, थाङस्याप, च्याम्की, गुम्बा डाँडा, लाङटाङ, मुन्डु, सिम्दुम र क्याङजेन लाङटाङ उपत्यकामै पर्छन्। क्याङिजन अन्तिम बस्ती। त्यहाँका छाना पनि भत्के। 
दुर्घटनामा २६ गाउँले घाइते भए। उनीहरूलाई वैशाख १३ गते हेलिकप्टरमा काठमाडौं पुर्याहइयो। वैशाख १५ देखि गाउँले तल झर्न थाले; भत्केका घर, जनावर र सम्पत्ति त्यत्तिकै छाडेर। 
उनीहरू काठमाडौंको स्वयम्भूपछाडि एल्लो गुम्बामा छन्। गुम्बाको आँगनमा ८० वटा टेन्ट टाँगेर ४ सय ८८ जना बस्दै आएका छन्। सामाजिक संस्था र पर्यटनकर्मीको सहयोगले गुम्बामा शिविर चलेको छ। 
बूढापाका र बालबालिका टिभी हेरेर दिन कटाउँछन्। सामूहिक भोजन गर्छन्। खानेपानी, सरसफाइ र चर्पी सुविधा छ। ‘हामी बर्खाभर यहीँ बस्छौं,' फिन्जोले सुनाए, ‘बर्खापछि गाउँ फर्कनेछौं।' 
सरकारले बेलैमा पाल, जस्ता र खानेकुरा पठाइदिएको भए उनीहरू लाङटाङमै रोकिने मुडमा थिए। ‘पहिरोले असर नपुर्याभएको सुरक्षित ठाउँमा बस्थ्यौं,' उनले भने, ‘लेक सुरक्षित छ।' 
सरकारले लाङटाङलाई मानवरहित बनाउने भन्दै वैशाख २८ देखि ३० सम्म बाँकी रहेका गाउँलेको उद्धार गर्योा। उनीहरू गुम्बामा जम्मा भए। काठमाडौको गर्मीमा महिना दिन बिताउन हम्मेहम्मे पर्यो । 
घाइतेमध्ये एक जना अस्पतालमै छन्। बाँकी शिविरमै। गुम्बा पुग्दा सुम्जो तामाङ टेन्टभित्र थिइन्। क्याङिजनमा होटल चलाउँदै आएकी उनले दुर्घटनामा पति गुमाउनुपर्योग। उनको पनि कम्मरमा चोट लाग्यो। 
उनका तीन सन्तान छन्। डाक्टरले तीन महिना आराम गर्न सुझाएका छन्। 
चिसो हिमालको जरामा बसेकाहरूलाई काठमाडौंको गर्मीले रुवाएको छ। उनीहरू गाउँ सम्भि्करहेका छन्। भुइँचालो जाँदा काठमाडौंमै रहेका ५२ वर्षे निमा तामाङले श्रीमती गुमाउनुपर्योह। खेतमा फापर छर्न गएकी उनी फर्कन पाइनन्। 
कतिले छोराछोरी गुमाए, कतिले आमाबाबु। आँसुको नदी बग्यो लाङटाङमा। तर, उनीहरूले हिम्मत हारेका छैनन्। पर्यटकीय गन्तव्य चिनारी बनाएको गाउँलाई पुरानै अवस्थामा फर्काउने अठोट गरेका छन्। 
लाङटाङको चिनारी विदेशसम्म फैलिएको छ। पदयात्रा पर्यटनका दृष्टिले नेपालको तेस्रो गन्तव्य। विसं २०३२ मा लाङटाङ राष्ट्रिय निकुञ्ज बनेपछि पर्यटन सुरु भयो। निकुञ्जमा बर्सेनि करिब १५ हजार विदेशी पदयात्रा गर्छन्। 
निकुञ्जका लाङटाङ, गट्लाङ र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गरिन्छ। लाङटाङ उपत्यका पवित्र मानिन्छ। हिमाली भेकमा बौद्ध धर्म फैलाउने महागुरु पद्मसंभवले सातौं शताब्दीमा लाङटाङका ओडारमा तपस्या गरेका थिए। त्यसैले लाङटाङ हिमाल (७,२४५ मिटर) मुन्तिरको बस्तीलाई बेयुल (पवित्र भूमि) भनिन्छ। 
त्यति मात्रै होइन, लाङटाङ गाउँबीच टासी गोमाङ क्षोर्तेन थियो। जुन पद्मसंभवले तान्त्रिक शक्ति प्रयोग गरेर एकै रातमा बनाएका थिए। पहिरोले त्यसलाई पनि निल्यो। 
लाङटाङमा गुरु पद्मसंभवले तपस्या गरेका दुइटा गुफा छन्। त्यसबाहेक क्याङजेनमा ७ सय वर्ष पुरानो ओमक्षेलिङ गुम्बा छ। गुम्बासँगै नेपालकै पहिलो चिज कारखाना छ। जुन, स्विस नागरिक टोनी हागनको सहयोगमा २००९ सालमा खुलेको हो। 
हजारौं विदेशी घुमिसकेको लाङटाङ दुःखमा पर्दा तिनका आँखा रसाएका छन्। उनीहरू मन खोलेर सहयोग गर्दैछन्। 
गुम्बामा भेला भएका गाउँलेले लाङटाङ चम्काउन तेम्बा लामाको अध्यक्षतामा लाङटाङ विपद् व्यवस्थापन तथा पुनःनिर्माण समिति गठन गरेका छन्। 
‘हामी दुई वर्षभित्र गाउँलाई पुरानै अवस्थामा फर्काउनेछौं,' लामाले भने, ‘गाउँको पर्यटकीय छविलाई झन् चम्काउनेछौं।' 
सरकारले जोखिमपूर्ण भन्दै लाङटाङमा बस्न रोक लगाएको छ। बुधबार काठमाडौंको शिविरबाट ४० जना गाउँले रसुवा पुगे। उनीहरू सेनाको सहयोगमा भत्केका पदमार्ग खुलाउँदै लाङटाङ पसेका छन्। 
त्यो हुलमा चौंरी गोठाला नुर्पु पनि छन्। हिउँ पग्लेर लास देखिन थालेकाले व्यवस्थापन गर्न गाउँले माथि लागेका। सामान तह लगाएर उनीहरू १० दिनभित्र काठमाडौं फर्कने तेम्बाले बताए। 
‘उनीहरू फर्केपछि माथि नै बस्ने गरी हामी गोठालाहरूलाई पठाउनेछौं,' उनले भने, ‘जंगलमा चौंरी, घोडा, खच्चड अलपत्र छन्।' 
बस्ती नै सार्नुपर्ने चर्चा चलेको छ। यो कुरा गाउँलेलाई मञ्जुर छैन। लाङटाङ गाउँभन्दा डेढ–दुई किलोमिटर दायाँ–बायाँ सुरक्षित ठाउँ भएकाले त्यहाँ बसोबास गर्ने उनीहरूको इच्छा छ। तीन हजार मिटरभन्दा माथि बसोबास गर्नेहरू हिमालमै रमाउँछन्। 
लाङटाङ दुर्घटनाबाट पाठ सिक्नुपर्ने भूगर्भविद्को भनाइ छ। लाङटाङ उपत्यका साँघुरो भएको भूगर्भविद विशालनाथ उप्रेती बताउँछन्। पाँच वर्षअघि लाङटाङ अध्ययन गरेका उनको सुझाव छ, ‘हिमताल फुट्दा र पहिरो जाँदा पनि समस्या नपर्ने ठाउँ खोजेर मात्रै बसोबास गराउनुपर्छ।' 
लाङटाङ गाउँ मास्तिर क्याङजिनमा नुर्पुका छोराबुहारी होटल बनाउन सुरसार कस्दै थिए। त्यो सपना त्यत्तिकै बिलायो। लाङटाङ निस्कनुअघि एल्लो गुम्बामा उनले भनेका थिए, ‘गाउँ फर्केपछि म त गोठमै बस्छु।' 
बालबालिका ‘लाङटाङ विल राइज अगेन' लेखिएका कागजका टोपी लगाएर शिविर फेरो मारिरहन्छन्। दृढ इच्छा शक्ति, मेहनत र सबैको सहयोग भए लाङटाङ फेरि चम्कन बेर लाग्दैन।

प्रकाशित: २३ जेष्ठ २०७२ १९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App