८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समय दुईमहिना मात्रै, तर सबै काम बाँकी

क्यालिब्रेसन फ्लाइटको टुंगो छैन, डाँडा कटान र ल्याण्डफिल साइट हटाउने काम सुरु नै भएन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः उमेश पुन/नागरिक

नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामि पुस १७ (सन् २०२३ जनवरी १) लाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको झन्डै तीनमहिना अघि हो। प्राधिकरणले तोकेको दिनमा उडान सुरु भए अबको दुइमहिनामा यहाँको विमानस्थलबाट हवाईजहाज उड्नुपर्छ।  

तर, प्राधिकरणले झन्डै तीनमहिना अघि विमानस्थल संचालनको दिन तोक्दा यहाँको विमानस्थल संचालनका जे जस्ता अप्ठेरा थिए, ती अहिले पनि उस्तै छन्। विमानस्थल संचालनलाई अवरोध मानिएका मुख्य बाधक अझै हटिसकेका छैनन। उडानको तिथि तोक्दा बाहिरी अप्ठेरा जे जस्ता थिए, ती अहिले पनि उही रुपमा छन। ती बाधक नहटेसम्म यहाँको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नहुने प्राधिकरणले यसअघि नै बताईसकेको छ।  

विमानस्थल संचालनको मुख्य बाधक मानिएको ल्याण्डफिल साइट स्थानान्तरण हो। पोखरा महानगरले पोखरा–१४ को बाच्छेबुडुवा क्षेत्रमा सहरको फोहर व्यवस्थापन गर्दै आएको छ। बाच्छेबुडुवा विमानस्थलबाट करिब दुइकिलोमिटर भित्र पर्छ। ल्याण्डफिल साइटका कारण विमानस्थल क्षेत्रमा चरा आकर्षित हुने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने चिन्ता सरोकारवालाको छ। चरा विज्ञहरुले विमानस्थल संचालनमा आउनुभन्दा कम्तिमा ६ महिना अघि नै हाल प्रयोगमा रहेको ल्याण्डफिलसाइट खालि गर्नुपर्ने बताईरहेका छन्। तर, त्यो समय घर्किसकेको छ। दुईमहिना मात्र बाँकी रहँदा पनि ल्याण्डफिल साइट अझै अन्यत्र सरेको छैन। ल्याण्डफिल साइट सार्ने जिम्मा महानगरको हो।  

महानगरका प्रमुख धनराज आचार्य भने विमानस्थल संचालनमा ल्याण्डफिल साइट बाधक नहुने गरि काम भईरहेको बताए। ल्याण्डफिल साइट अन्यत्र सार्ने भन्दा पनि फोहर प्रशोधन गर्ने प्लान्ट जडान गर्ने तयारी भईरहेको उनले बताए। प्रशोधनपछि निस्केको न्यून फोहरलाई कुनै ठाउँमा व्यवस्थित गर्नेगरि तयारी गरेको आचार्यले बताए।

‘हामीले आन्तरिक रुपमा तयारी गरिरहेका छौ। फोहर प्रशोधन गर्ने प्लान्ट जडान गर्नका लागि केहीदिनभित्रै टेण्डर आव्हान गर्छाै। कुनै न कुनै रुपमा फोहर प्रशोधन हुन्छ। अहिलेको ल्याण्डफिल साइट छिटै नै पुर्न थाल्ने हो,’ आचार्यले भने, ‘सधैंका लागि ल्याण्डफिल साइट नचाहिने गरि फोहर व्यवस्थापनको तयारी भइरहेको छ।’ यसअघि महानगरको टिम फोहर प्रशोधनको तरिका सिक्न धरान र भारतको दिल्ली समेत पुगेर फर्केको छ।  

महानगर प्रमुख आचार्यले फोहर व्यवस्थापन सहज नभएको बताए केही अस्थायी र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने उनले बताए। ‘विमानस्थल संचालनको दिनसम्म अहिलेको ल्याण्डफिलसाइट त्यहाँबाट हटिसक्छ,’ उनले भने, ‘ल्याण्डफिल साइट कहिल्यै नचाहिने गरि व्यवस्थापन गर्दैछौ।’ ल्याण्डफिल साइटकै कारण विमानस्थल नचल्ने भन्ने अवस्था आउन नदिने उनले बताए। विमानस्थल संचालनको अर्काे अवरोध भनिएको धावनमार्गको पूवपट्टिको एप्रोचमा पर्ने रिट्टेपानी डाँडा कटानमा ढिलाई हुँदा क्यालिब्रेसन फ्लाइट हुन नपाएको उनले बताए। ‘क्यालिब्रेसन फ्लाइटका लागि डाँडा कटान हुनुपर्छ। डाँडा कटानका लागि बल्ल ठेकेदार कम्पनि चयन भएको छ। बरु क्यालिब्रेसन फ्लाइटमै ढिला भएको छ,’ मेयर आचार्यले भने।  

यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने प्राधिकरणले बताउँदै आएको थियो। तर, डाँडा कटान सुरु नहुँदा क्यालिब्रेसन फ्लाइटको पनि दिन किटान हुन सकेको छैन। रिठ्ठेपानीमा दुईवटा डाँडा कटान गर्नुपर्छ। होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गर्नुपर्छ। तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर मात्र उचाई काटे पुग्छ । क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर डाँडा कटान गर्नका लागि एकमहिना मात्र समय दिने प्राधिकरणले बताएको छ।  

यसअघि विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि विमानस्थलको म्याद थपिएको थियो। विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनिले भौतिक पूर्वाधारतर्फका सबैजसो काम सकिसकेपनि ‘क्यालिब्रेसन फ्लाइट’ गर्न पाएको छैन। गत जुलाई १० मा सकिएको म्याद दोश्रोपटक थपेर आगामि डिसेम्बरसम्म पु¥याइएको छ। काम नसकिएकोले दोश्रो पटकका लागि झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको थियो।  

पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाएको हो। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा पनि सिएएमसीइको हो। कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको भन्दै पहिलो पटक एकवर्षका लागि म्याद थपिएको थियो। सरासर काम हुन पाएको भए २०२१ को जुलाई १० मा यो विमानस्थल हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोनाले गर्दा एकवर्ष ढिलिएको थियो। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा चिनियाँ कम्पनिकै भएकोले निर्माण कम्पनिले नै जहाज ल्याएर परीक्षण गर्नेछ। ‘क्यालिब्रेसन फ्लाइट’का लागि कुन जहाज र कहाँबाट ल्याउने भन्ने जिम्मेवारी चिनियाँ कम्पनिकै हो।  

क्यालिब्रेसन फ्लाइट हुन नपाउँदा विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण हुन पाएको छैन। ती उपकरणको जडान सही भए नभएको, उपकरणले काम गरे नगरेको क्यालिब्रेसन फ्लाइट गर्ने जहाजबाटै परीक्षण गर्नुपर्ने हुन्छ। प्राधिकरण श्रोतका अनुसार क्यालिब्रेसनको कम्तिमा दुइमहिनापछि मात्र व्यवसायिक उडान गर्न मिल्छ। तर, अहिलेसम्म क्यालिब्रेसन फ्लाइट नहुनुले प्राधिकरणले तोकेको समयमा उडान सुरु हुँदैन भन्ने आशंका गर्ने पर्याप्त बल पुग्ने श्रोतको भनाई छ। ‘अहिलेसम्म क्यालिब्रेसन फ्लाइट नै भएको छैन। त्यसैले जनवरी एकदेखि व्यवसायिक उडान सम्भावना छैन। अहिले घोषणा गर्न मात्र नमिलेको हो,’ श्रोतले भन्यो, ‘दुइमहिनाभित्र उडान संचालन हुने कुनै सम्भावना नै देखिन्न।’  

श्रोतका अनुसार क्यालिब्रेसन फ्लाइटपछि ‘रिस्क एसेसमेन्ट’ गर्नुपर्छ। रिस्क एसेसमेन्ट गर्दा विज्ञको टिमले विमानस्थलबाट उडान संचालन गर्दा आइपर्ने सबैखाले जोखिम पहिचान र न्यूनिकरणको तरिकाबारे अध्ययन गर्छ। क्यालिब्रेसन फ्लाइट पछि मात्र रिस्क एसेसमेन्ट हुने हो। चराको कारण यो विमानस्थल हाईरिस्कमा रहेको विज्ञले बताइरहेका छन्।  

‘आगामि जनवरी एकदेखि उडान संचालन गर्ने भनेर साउन तेश्रो साता घोषणा त भएको हो। फटाफट काम होला भनेर घोषणा गरियो, तर, कुनैपनि काम भएनन, त्यसले गर्दा जनवरी एकमा संचालन सम्भावना छैन,’ श्रोतले भन्यो, ‘भदौभित्र ल्याण्डफिलसाइट सारेको र डाँडा कटान सकिएको भए मात्र बेलैमा उडान संचालन हुन्थ्यो। ती सबै काम थाति छन्।’ ल्याण्डफिल साइट सारेर चराको बानि बदल्न ६ महिना लाग्ने अनुमान विज्ञले गरेका छन्। त्यसका लागि पनि समय नपुग्ने श्रोतले बतायो। ‘चराको रिस्क भएको क्षेत्र हो । त्यही भएर सहज छैन,’ श्रोतले भन्यो।  

पोखरेलीले भने अहिलेको कामको गति हेर्दा तोकेको समयमा विमानस्थल संचालनमा आउने आशंका गर्छन। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘काम गर्ने शैली यही रुपमा रहने हो भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई घाँसे मैदान बनाउने आशंका छ।’ आगामि जनवरी एकमा विमानस्थल संचालन गर्ने भनेर प्राधिकरणले भनेपनि अहिलेसम्मको अवस्था हेर्दा तोकिएको समयमा उडान हुनेमा आशंका गर्न सकिने उनले बताए।  

‘अहिलेसम्म डाँडा कटान नै सुरु भएको छैन। ल्याण्डफिल साइट पनि सरेको छैन,’ श्रेष्ठले भने, ‘हचुवाका भरमा संचालनको तिथि घोषणा मात्र गरिएको छ। तर, बाधक मानिएका अप्ठेरा अहिलेसम्म हटाउन नसक्नु सरकारको गैरजिम्मेवारपन हो।’ उनले पूर्वाधार बनाएर मात्र विमानस्थल संचालन नहुने बताए । ‘यस्तै हो भने अझै एकवर्ष विमानस्थल चल्दैन। जबकी क्यालिब्रेसन फ्लाइट पनि भएको छैन । यतिसम्मकी क्यालिब्रेसन फ्लाइटको दिन समेत तोकिएको छैन,’ उनले भने, ‘बेलैमा विमानस्थल चल्दैन भन्ने आशंकालाई ढिलागतिले बल पु¥याएको छ।’

प्रकाशित: १३ कार्तिक २०७९ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App