५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङः सराङकोटबाट ‘टेण्डम’ मात्र, ‘सोलो’ उड्न नपाउने

पोखराको आकाशमा उडेको प्याराग्लाइडिङ। तस्बिरः उमेश पुन/नागरिक

पोखराको आकाशमा प्याराग्लाइडिङ उडान सुरु भएको दुइदशक नाघ्यो। प्याराग्लाइडिङको सुरुवाती उडान एकल (सोलो) थिए। पछि त्यसले व्यवसायिकता पाउँदै जाँदा टेण्डम (व्यवसायिक/यात्रुसहित) उडान सुरु भएको हो। टेण्डम उडान नै सुरु भएको पनि दुइदशक पुगेको छ।  

पोखराको सराङकोट आकाशबाट प्याराग्लाइडिङको उडान सुरु भएको हो। अहिले सराङकोट बाहेक नजिकैको तोरीपानि पनि व्यवसायिक उडानका लागि खुला छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ उडानका लागि सराङकोट र तोरिपानीको आकाशमा निश्चित उचाई र दूरी (बक्स) तोकिदिएको छ। त्यही बक्सभित्र रहेर उडान संचालन गर्न पाइन्छ।  

तर, प्याराग्लाइडिङ पाइलटले बेलाबेला त्यो बक्स पार गरेर मनपरि उडान गर्दिन्थे। कहिले कता त कहिले कता उड्दा हवाइ उडानमा समेत प्याराग्लाइडिङले जोखिम थपिदिएको गुनासो व्यवसायी र प्राधिकरणले नै गर्दै आएका थिए। सराङकोटको आकाशमा तोकिएको बक्स छाडेर अन्यत्र उड्नेमा अधिकांश सोलो पाइलट थिए, जो ‘फनफ्लाई’ गर्न रुचाउँथे। फन फ्लाई गर्न रुचाउनेमा विदेशी र नेपाली सिकारु पाइलट हुन्थे। जसले तोकिएको आकाशको क्षेत्र नाघेर अन्यत्र उडिदिन्थे। बेलाबेला तोकिएको आकाश छलेर अन्यत्र उड्दा दुर्घटना समेत हुने गरेका थिए।  

त्यत्ति मात्र नभई सोलो र टेण्डम एकैठाउँ हुँदा सिजनका बेला भीडभाड बढाएको गुनासो प्याराग्लाइडिङ पाइलटको थियो। पाइलटका अनुसार भीड यतिसम्म हुन्थ्यो की आकाशमै एकअर्कासँग ठोक्किने त्रास पनि थियो। सिजनका बेला त आकाशमा उड्ने ठाउँ समेत नपाउँदा पालै पर्खिनुपर्ने अवस्था आउथ्यो। सिकारु, एकल उडानका विदेशी र व्यवसायिक उडान एकैठाउँ हुँदा सराङकोटको आकाश निकै नै भीडभाड हुन्थ्यो। अझ नजिकैको तोरिपानीबाट ‘टेकअफ’ गरेका पाइलट पनि सराङकोटको आकाशमा मिसिन आउँदा भीड झनै बढ्ने गरेको पाइलटहरुको गुनासो थियो।  

तर, अब भने सराङकोटको आकाशमा व्यवसायिक बाहेक अन्यखालका कुनैपनि उडान गर्न नपाउने गरि नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ। अघिल्लो आइतबार मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनापछि प्राधिकरणले पाँच बँुदे शर्त अघि सार्दै पहिलो नम्बरमा सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने भनेको छ।  

‘सोलो र टेण्डम एकैठाउँ हुँदा भीडभाड त पक्कै हुन्थ्यो। बेलाबेला दुर्घटनाको त्रास पनि बढाएको थियो। तर, अब प्राधिकरणले सराङकोटको आकाशमा सोलो उडान गर्न नदिने भनेको छ,’ नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराइले भने, ‘व्यवसायिक हिसाबले त सोलो उडानबाट पनि केही लाभ मिल्छ। किनकी विदेशी पाइलटहरु पोखराको आकाशमा फन फ्लाई गर्नकै लागि आउँछन। ती विदेशी लामो समय पोखरा बस्दथे। तर, अब त्यस्ता विदेशी पाइलट नआउन सक्छन्।’ सराङकोट र तोरिपानी क्षेत्रबाट सोलो उड्न नपाएपनि ती पाइलटलाई पोखरा नजिकैको कुनै ठाउँमा विकल्प दिनेबारे प्राधिकरणसँग छलफल भईरहेको भट्टराईले बताए।  

‘पोखराको प्याराग्लाइडिङ सोलो उडानबाट सुरु हुँदै टेण्डममा उक्लेको हो। तर, सराङकोटको आकाश सोलोका लागि बन्द भएपछि नजिकैको ठाउँ खोज्नुपर्छ। सोलोलाई पुरै प्रतिबन्ध लगाउने हो भने पर्यटनमा धेरै असर गर्छ,’ उनले भने, ‘सोलोलाई प्रतिबन्ध होइन, अन्यत्र ठाउँ दिनुपर्छ।’ उनका अनुसार विदेशीहरु सोलो उडानका लागि लामो समय बस्ने गरि पोखरा आउँछन भने स्वदेशी पाइलटले पनि आफुलाई उडानमा निर्खान सोलो उडानमा लामो समय बिताउनुपर्छ। विभिन्न कोर्ष पुरा गर्नका लागि पनि सोलो उडान आवश्यक रहेकोले व्यवस्थित गर्नैपर्ने उनले बताए।

पोखराको आकाशमा सराङकोटको चुचुरोलाई आधार बनाउँदा टेण्डम (व्यवसायिक) उडान गर्ने पाइलटले पूर्वमा आधाकिलोमिटर, पश्चिममा एककिलोमिटर, उत्तरमा एकसय मिटर र दक्षिणमा दुईकिलोमिटरसम्म एरियल डिस्टेन्समा उड्न पाउँछन। तर, सोलो (एकल) पाइलटले त्यो दूरी अटेर गर्छन्। त्यस्तै सराङकोटको आकाशमा उड्दा समुन्द्री सतहबाट १८ सय मिटरसम्मको उचाईसम्म मात्र जान पाइन्छ। सराङकोटको टेकअफ प्वाइन्ट आफैमा १५४० मिटरमा छ । सराङकोटबाट उडेपछि झन्डै तीनसय मिटर भन्दा माथिसम्म पुग्न पाइन्छ। तर, धेरैले त्यो उचाईलाई नाघेर २५ सय मिटरसम्म पुग्छन।

पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालनमा आउने र त्यो बेलासम्म पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान अन्यत्र सरिसक्नुपर्ने यसअघि नै प्राधिकरणले भनिरहेको छ। तर, व्यवसायीले विकल्प भएसम्म पोखराको प्याराग्लाइडिङलाई पोखरामै थाति राख्नुपर्ने माग गरिरहँदा अहिले सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र सिमित राख्नुपर्ने प्राधिकरणले सर्त राखेको छ।  

‘पोखराबाट सधैंका लागि प्यराग्लाइडिङ हट्नु भन्दा बरु सराङकोट र तोरिपानी क्षेत्र टेण्डम उडानका लागि मात्र राख्न हामी सहमत छौ। किनकी व्यवसायिक उडान अनुशासित हुन्छ। टेण्डम उडान मात्र राख्न व्यवसायि सहमत भएमा मात्र पोखराको प्याराग्लाइडिङ जोगिने अवस्था देखियो। सोलोका लागि दावी गर्दा प्याराग्लाइडिङ नै बिस्थापित हुने अवस्था आयो,’ नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोशिएसनका महासचिव शैलेन्द्र रावतले भने, ‘प्राधिकरणले पछिल्लो समय प्याराग्लाइडिङलाई जोगाउने प्रयास गर्दा सोलो उडान सराङकोटबाट हटाउनुपर्ने सर्त राखेको हो। प्याराग्लाइडिङलाई पोखरामै राखिरहनका लागि पनि त्यो सर्त हामीले मानेका हौ।’

महासचिव रावतले पनि एकैठाउँमा सोलो र टेण्डम उडान हुँदा यसअघि व्यवस्थापन गर्न निकै नै गाह्रो भएको बताए। ‘सोलो उडानबाटै धेरै घटना भएका हुन्। टेण्डम उडान अलि व्यवस्थित हुन्छ। त्यसैले पनि सोलोलाई हटाउन हामी राजी भयौ,’ उनले भने, ‘अहिलेसम्मका धेरै घटना सोलोबाट घटेकोले अन्यत्र सार्दा खासै फरक पर्दैन। व्यवसायिक हिसाबले केही अप्ठेरो भएपनि त्यो ठुलो समस्या होईन।’ पोखराको पर्यटनको मुख्य गहना मानिएको प्याराग्लाइडिङलाई हटाउनु भन्दा सोलोलाई अन्यत्र सारेर बचाउनु ठिक रहेको उनले बताए। ‘पोखरा नजिकैका डाँडाकाँडामा सोलोलाई व्यवस्थित गर्नुपर्छ। सोलो उडानलाई पुरै रोक लगाएको होईन,’ उनले भने।

प्रकाशित: ६ कार्तिक २०७९ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App