१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ प्रतिबन्धबारे प्राधिकरण भन्छः ठूला जहाजको उडान सुरक्षामा सुधार भयो, तर प्याराग्लाइडिङमा भएन

पोखराको आकाशमा उडिरहेका प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा गत आइतबार त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाए। सराङकोटबाट ‘टेकअफ’ गरे लगत्तै थापा भूँइमा बजारिन पुुगेका थिए। थापाको उत्ति नै बेला ज्यान गएको थियो। त्यसलगत्तै नेपालको हवाई उडान क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशैभरको प्याराग्लाइडिङ उडानमा अनिश्चितकालिन प्रतिबन्ध लगायो।  

सिजनको मुखमा प्याराग्लाइडिङ उडान बन्द हुँदा व्यवसायीले असन्तोष जनाईरहँदा प्राधिकरणले भने नेपालको समग्र हवाई उडानको सुरक्षाको लागि केहीदिन उडान रोक लगाएको बताएको छ। हवाई गतिविधिमा सुधार गर्ने क्रममा केहीदिनका लागि उडान बन्द गरेको प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार पोखरामा आइतबार घटेको घटनाको अध्ययन गर्न टिम पनि गठन गरिएको छ। टिमले काम पनि थालिसकेको छ।  

प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले नेपालको हवाई उड्डयन क्षेत्रलाई सुधार गर्नका लागि प्याराग्लाइडिङको उडानमा केहीदिन रोक लगाएको बताए। उनका अनुसार यूरोपेली संघ (इयू)ले नेपाली विमानलाई लगाएको प्रतिबन्धपछि प्राधिकरणले हवाई उड्डयन क्षेत्रमा सुधारको प्रयास गरिरहेको छ। त्यही क्रममा ठुला आकारका जहाजको उडान सुरक्षामा केही सुधार भएपनि प्याराग्लाइडिङ क्षेत्रमा भने बेलाबेला दुर्घटना भएकोले अहिलेको घटनापछि अध्ययन गर्नका लागि रोक लगाइएको बताए।  

‘बल्ल बल्ल अरु जहाजको उडानलाई ट्रयाकमा ल्याएका छौ । अहिलेको नेपालको आकाशको जिम्मा प्राधिकरणको हो, त्यही भएर प्याराग्लाइडिङमा पनि सुधार ल्याउनका लागि चाँसो दिएका हौं,’ निरौलाले भने, ‘अरु हवाइ जहाजको उडानको सुरक्षामा सुधार भएको बेला प्याराग्लाइडिङमा दुर्घटना भएको छ। यसलाई पनि अब सही ट्रयाकमा ल्याउन जरुरी छ। त्यही भएर केही समय अध्ययन गरेर उडान सुरु हुनेछ।’ आकाशमा हुने सबै खालका गतिविधिको सुधार गर्न आवश्यक देखेपछि अहिले रोक लगाइएको उनले बताए।  

हवाई सेवा बन्द गर्ने क्षेत्र नभएपनि सुधारका लागि अहिलेको कदम चालेको उनले बताए। ‘आइतबारको घटनापछि अध्ययन गर्न टिम पनि गठन भएको छ। टिमले काम पनि गर्न थालिसकेको छ,’ उनले भने, ‘यथाशिघ्र अध्ययन गर्ने जिम्मा दिइएको हो।’

पोखरामा आइतबारको घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहाननिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिका सदस्यमा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद र चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व हुने गरि समिति गठन गरिएको छ। प्याराग्लाइडिङ उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि अपनाउनुपर्ने सुझाव पनि यो टिमले दिने उनले बताए।

पर्यटन व्यवसायीले भने यूरोपेली संघ (इयू)ले नेपाली बिमानलाई लगाएको प्रतिबन्धपछि प्राधिकरणले हवाई उड्डयन क्षेत्रमा सुधारको प्रयास गर्नु सकारात्मक रहेको बताएका छन। सिजनको बेला व्यवसाय गर्न नपाएको भएपनि समग्र नेपालको हवाई क्षेत्र सुधारका लागि प्राधिकरणले गरेको प्रयास विरुद्ध जान सक्ने अवस्था नरहेको उनीहरु बताउँछन। नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइङि एशोसिएसनका महासचिव शैलेन्द्र रावतले प्राधिकरणले नेपालको समग्र हवाई क्षेत्र सुधारको प्रयासका लागि भएपनि प्राधिकरणको निर्देशन मान्नुपर्ने बाध्यता रहेको बताए।  

‘प्राधिकरणले अहिले उडानमा अनिश्चितकालिन रोक लगाएको छ। यसले व्यवसायीलाई मार त पारेको छ। तर, समग्र नेपालको हवाई उड्डयन क्षेत्रमा लागेको कालोधब्बा मेटाउने प्रयासका लागि भने हामीले साथ दिनैपर्छ,’ उनले भने, ‘इयूको कालोसूँचीमा परेको नेपालको हवाई क्षेत्रलाई सुधारको प्रयासको क्रममा अहिले प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको भनेर प्राधिकरणले भनेपछि चित्त बुझाउने ठाउँ रहेको छ।’ सिजनको बेलाको उडान रोकिँदा धेरै पर्यटक उड्न नपाएको र पोखराको प्याराग्लाइडिङ व्यवसाय झनै मारमा परेको भने उनले बताए।  

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्राधिकरणको बीचको अप्ठेरोमा पर्यटन व्यवसायी परेको बताए। राखेपले सराङकोटको आकाशमा उडान गर्ने क्रममा प्राधिकरणसँग अनुमति लिनुपर्नेमा नलिँदा अहिलेको घटनापछि व्यवसायीमाथि दोष थोपरिएको उनले बताए। 

‘पोखराको आकाशमा यसअघि पनि प्याराग्लाइडिङका विभिन्न प्रतियोगिता भए। ती सबै प्रतियोगिता आयोजना गर्दा प्राधिकरणसँग अनुमति लिने गरिएको थियो। तर, अहिले भने राखेपले प्राधिकरणसँग अनुमति नै लिएको रहेनछ,’ भण्डारीले भने, ‘अनुमति लिने बारेमा सचेत हुनुपर्ने हो। तर, यहाँ राखेप र प्राधिकरणबीचको मारमा हामी व्यवसायी परेका छौं।’ अहिले पर्यटकीय सिजन पनि हो। यो बेला पोखराको आकाशमा दिनमा झन्डै ४ सय उडान थिए।

अहिले सिजनको बेलाको व्यवसाय गर्न नपाउँदा समग्र पर्यटन क्षेत्र निराश बनेको उनले बताए। ‘सयौं पर्यटक अहिले पोखरा आएर पनि उड्न पाएका छैनन। यसले कोभिडको मारमा परेका व्यवसायीमाथि सकस थपिदिएको छ,’ उनले भने, ‘कतिपय पर्यटक उड्नै नपाई फर्केका छन्। उड्न पाउने आशमा कतिपय पर्यटक केहीदिन पर्खेको भएपनि अहिले उनीहरु निराश बनेका छन्।’ व्यवसायीले कोरोनाको मारमा परेको बेलामा र सिजनको बेला परेकोले प्राधिकरणले जतिसक्दो छिटो उडान सुरु गर्न दिनुपर्ने उनले बताए।  

प्रकाशित: ३ कार्तिक २०७९ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App