८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्याजदर वृद्धिको चौतर्फी विरोध: दुई वर्षसम्मका लागि व्याजको पुनर्तालिकीकरण गर्न माग

बैंकहरूले व्याजदर वृद्धि गरेकोमा उद्योगी, व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्। बैंकहरूले मनपरी ढंगले व्याज वृद्धि गरेको निजी क्षेत्रको गुनासो छ।

कर्जाको व्याजदर बढ्दा उद्योगी व्यवसायी धरासायी भएको बताएका छन्। बैंकको व्याज तिर्न नसक्ने भनेर जिल्ला-जिल्लामा आन्दोलनका कार्यक्रम गर्दै व्याज घटाउन माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका संस्थाले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएका थिए।

होटलहरूको छाता संगठन होटल संघ नेपालले आइतबार एक विज्ञप्ति प्रकाशित गरी बैंकको व्याज तिर्न नसक्ने घोषणा गरेको छ। संघले दुई वर्षसम्मका लागि व्याजको पुनर्तालिकीकरण गर्न माग गरेको छ। कोभिडबाट थलिएको होटल क्षेत्रमा समस्या रहेको भन्दै साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने व्याज तिर्न नसक्ने जनाएको छ।‘

पुनर्कर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने माग रहेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन्।

पर्यटक बढी आउने याममा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रूपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने संघले जनाएको छ। कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया-युक्रेनबीच जारी युद्धको प्रभाव, नेपालमा तीव्र रूपमा फैलिरहेको डेंगीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको छ।

बैंकको बढ्दो व्याजदर र समयसीमा भित्र साँवा-व्याज बुझाउन तीव्र ताकेता गरेकोमा होटल संघले गुनासो गरेको छ। ‘कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम छैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सावाँ-व्याज बुझाउने समयसीमा बढाइ कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा समेत उपलब्ध गराउनुपर्छ।’ बढ्दो व्याजदरले होटल जस्तो अत्यन्त संवेदनशील उद्योग धान्नै नसकिने भएकाले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्न माग गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघले पनि बैंकहरूले व्याजदर वृद्धि गरेको विरोध जनाउँदै आएको छ। कर्जाको व्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने भन्दै महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउँदै आएको छ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको महासंघको दाबी छ। उत्पादित सामानको मूल्य अकासिएर सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको जनाएको छ। आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि जाने महासंघले जनाएको छ।

नेपाल चेम्बर अफ कमर्सले पनि व्याज दर वृद्धिको यस अघि नै विरोध जनाएको छ। चेम्बरले व्याज वृद्धि नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गरेको छ। निक्षेपमै उच्च दरको व्याजदर कायम हुँदा ऋण थप महँगिने भन्दै चेम्बरले बैंकहरूले बढाएको व्याज घटाउन माग गर्दै आएको छ।

बैंकहरूले ११.०३ प्रतिशत दिँदै आएको साधारण मुद्दतीको व्याज बढाएर १२.१३३ प्रतिशत पुर्‍याएका छन्। बचतको व्याज दर पनि दोहोरो अंकमा पुगेको छ। निक्षेपको व्याज बढ्दा आधार दर पनि महँगिन्छ। यसले गर्दा ऋण अझ महँगो पर्छ। चेम्बरले हाल कायम स्प्रेड दर तथा आधार दरलाई व्यवस्थापन गर्न आग्रह गरेको छ।  

प्रकाशित: ३१ आश्विन २०७९ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App