१६ चैत्र २०८० शुक्रबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो

पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रिठ्ठेपानीको डाँडा (गोलाकारभित्र)। विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्न १४ मिटरसम्म डाँडा कटान हुनुपर्छ। तस्बिरः उमेश पुन/नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मुख्य मध्येको एउटा बाधक रिठ्ठेपानी डाँडा कटान अझै सुरु भएको छैन। रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पनि पछाडि धकेलिएको छ।  

यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ। डाँडा कटान गर्ने ठेकेदार कम्पनि छनोट गर्न आव्हान गरिएको टेण्डर हाल्ने म्याद बल्ल मंगलबार सकिएको छ। ३५ दिन म्याद राखेर टेण्डर आव्हान गरिएको थियो।  

डाँडा कटानका लागि आवेदन दिएका मध्येको कम्पनि छनोट गरेर बल्ल कटान सुरु हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको राष्ट्रिय गौरव आयोजनाले डाँडा कटान गर्ने कम्पनि छनोट गरेपछि बल्ल कटान सुरु हुनेछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले केहीदिनभित्र कम्पनि छनोट गरेर बल्ल कटान सुरु हुने बताए। उनका अनुसार डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइटको पनि टुंगो लाग्न सकेको छैन।  

‘डाँडा कटानका लागि आव्हान गरिएको टेण्डर हाल्ने म्याद बल्ल मंगलबार समय सकिएको छ। अब आवेदन दिएका कम्पनिबारे अध्ययन गरेर छनोट हुन्छ। त्यसका लागि केहीदिन लाग्छ,’ उनले भने, ‘कम्पनि छानिएपछि बल्ल कटान सुरु हुनेछ। टेण्डर हालेका कम्पनिबारे अध्ययन गर्दा कम्तिमा दुईसाता लाग्न सक्छ।’

 पौडेलका अनुसार रिठ्ठेपानीमा दुईवटा डाँडा कटान गर्नुपर्छ। होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गर्नुपर्छ। तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर मात्र उचाई काटे पुग्छ। प्राधिकरणले क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर डाँडा कटान गर्नका लागि एकमहिना मात्र समय दिने उनले बताए।  

‘क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर उचाई काटे पुग्छ। डाँडा कटानका लागि छनौट भएको कम्पनिले त्यो काम एकमहिना भित्र सक्नुपर्नेछ। किनकी क्यालिब्रेसनका लागि काम छिटो गर्नुपर्ने हुन्छ,’ उनले भने। पौडेलका अनुसार सबै ४० मिटरसम्म नै डाँडा कटान गर्न भने ६ महिनासम्म समय लाग्न सक्छ। त्यो छनोटमा पर्ने कम्पनिको क्षमतामा भर पर्नेछ।  

डाँडा कटान भईसकेपछि बल्ल क्यालिब्रेसन फ्लाइट हुनेछ। डाँडा कटानमा ढिला हुँदा अहिलेसम्म क्यालिब्रेसन फ्लाइटको पनि दिन यकिन हुन सकेको छैन। नोभेम्बर अन्तिम साताभित्र क्यालिब्रेसन फ्लाइट हुन सक्ने उनको अनुमान छ। ‘यो महिना ठेकेदार कम्पनि छनोट हुनेछ। त्यसपछि १४ मिटर डाँडा कटान गर्दा झन्डै एकमहिना लाग्नेछ । त्यही भएर क्यालिब्रेसन फ्लाइट नोभेम्बर अन्तिम साता हुने अनुमान हो,’ उनले भने, ‘केही गरि डाँडा कटान छिटो भएमा क्यालिब्रेसन फ्लाइट पनि २–४ दिन अघि सर्न सक्छ।’ अक्टोवर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य प्राधिकरणको रहेपनि डाँडा कटानमा ढिलाई हुँदा पछाडि धकेलिएको छ। अब नोभेम्बरको अन्तिममा बल्ल क्यालिब्रेसन फ्लाइट हुन सक्ने प्राधिरकणको अनुमान छ।  

विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि विमानस्थलको म्याद थपिएको थियो। विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनिले भौतिक पूर्वाधारतर्फका सबैजसो काम सकिसकेपनि ‘क्यालिब्रेसन फ्लाइट’ गर्न पाएको छैन। गत जुलाई १० मा सकिएको म्याद दोश्रोपटक थपेर आगामि डिसेम्बरसम्म पु¥याइएको छ। काम नसकिएकोले दोश्रो पटकका लागि झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको थियो।  

पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाईरहेको छ। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा पनि सिएएमसीइको हो। कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको भन्दै पहिलो पटक एकवर्षका लागि म्याद थपिएको थिया। सरासर काम हुन पाएको भए २०२१ को जुलाई १० मा यो विमानस्थल हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोनाले गर्दा एकवर्ष ढिलिएको थियो। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा चिनियाँ कम्पनिकै भएकोले निर्माण कम्पनिले नै जहाज ल्याएर परीक्षण गर्नेछ। ‘क्यालिब्रेसन फ्लाइट’का लागि कुन जहाज र कहाँबाट ल्याउने भन्ने जिम्मेवारी चिनियाँ कम्पनिकै भएको उनले बताए।  

क्यालिब्रेसन फ्लाइट हुन नपाउँदा विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण हुन पाएको छैन। ती उपकरणको जडान सही भए नभएको, उपकरणले काम गरे नगरेको क्यालिब्रेसन फ्लाइट गर्ने जहाजबाटै परीक्षण गर्नुपर्ने हुन्छ। डाँडा कटानका लागि गत असार दोश्रो साता नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि सहमति भएको थियो।  

कटान गरिने डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। डाँडासँगै त्यहाँका ६ सय रुख कटान हुनेछन् । तर, रुख भने कटान भईसकेका छन्। डाँडामा ८४ वटा ठुला रुख र बाँकी ५१६ वटा ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख थिए। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रहँदा विमानस्थल निर्माणले गति लिएको थियो। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।

प्रकाशित: २६ आश्विन २०७९ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App