७ वैशाख २०८१ शुक्रबार
अर्थ

४३ औं विश्व पर्यटन दिवस सम्पन्न

‘रिथिङ्किङ टुरिजम’ भन्ने नाराका साथ ४३ औं विश्व पर्यटन दिवस – २०२२ सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरूले विभिन्न कार्यक्रमहरू गरेर धुमधामका साथ मनाएको छ।  

यसैक्रममा पर्यटन बोर्डले स्थानीय समुदाय र पर्यटन सरोकारवालाहरूसँगको समन्वयमा कागेश्वरी गागलफेदीमा वृक्षारोपण कार्यक्रम गरेको छ। यसले हरित पर्यायवरण मैत्री र समुदायमा आधारित पर्यटनतर्फ अघि बढ्नको लागि वातावरण संरक्षण र समुदायसँग मिलेका काम गर्न महत्वपूर्ण भूमिका खेल्ने पर्यटन बोर्डको बरिष्ठ प्रबन्धक सुनिल शर्माले बताए।

यस्तै नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले हिमालयन एयरलाइन्सबाट पहिलो उडानमा आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ। पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्ले ठमेलको त्रिदेवीमार्गदेखि नगरक्षेत्रसम्म प्रभातफेरि कार्यक्रम गरेको छ।  

नेपाल उद्योग परिसंघद्वारा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र भएको बताउँदै दिगो र भरपर्दो स्रोत भएको पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्ने बताए। उनले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो अयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने बताए।  

यसका साथै पोखरा भित्रिने विदेशी पर्यटकलाई विमानस्थल र बसपार्कमा स्वागत गरिएको छ। पहिलो उडानमार्फत पोखरा विमानस्थलमा ओर्लेका पर्यटकलाई विमानस्थलमा र स्थलमार्गबाट भित्रिएका पाहुनालाई पोखरा पर्यटन परिषद् (पिटिसी) ले स्वागत गरेको हो।  

विश्व पर्यटन दिवसलाई मनाउने क्रममा जनकपुरमा पनि पर्यटन बोर्डको सहकार्यमा सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपालले प्रभात फेरि कार्यक्रम गरेको छ। अन्य विभिन्न स्थानहरू पनि पर्यटन बोर्ड र सम्बन्धित सरोकारवाला निकायहरूले कार्यक्रमहरू गरेर यस वर्षको विश्व पर्यटन दिवश मनाएका छन्।पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक शर्माले सदस्य राष्ट्रहरूबीच धेरै छलफल पश्चात्  विश्व पर्यटन संगठनले विश्व पर्यटन दिवसको मुख्य नारा ‘पर्यटन पुनर्विचार’ राखेर भविष्यमा  केन्द्रित हुँदै पर्यटनबाट पीडित लाखौंलाई आशा र अवसर दिएको बताए। उनले कोभिड–१९ को प्रभाव र यात्रा र पर्यटनको भविष्यबारे विश्वभर भइरहेको अध्ययनले कोभिड–१९ पछिको युगमा यात्रा र पर्यटन उपभोगको ढाँचा परिवर्तन हुनसक्ने उल्लेख गरे।

उनले नेपालले पर्यटन क्षेत्रलाई अगाडि बढाउन युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकरणको लागि युनेस्कोसँग सम्पर्क गर्न आवश्यक भएको उल्लेख गर्दै यसले देशको सांस्कृतिक मूल्यहरूलाई विश्वव्यापी महत्व दिने बताए। आफ्नो अनुपम संस्कृति बोकेको नेपालले यसको महत्वलाई बुझेर अमूर्त सांस्कृतिक सम्पदाहरूको माध्यमबाट नेपाललाई विश्वमा जोडेर हेर्नुपर्ने आजको आवश्यकता भएको बताउँदै उनले भने– ‘गाई जात्रा र इन्द्र जात्राले धेरै भार बोकेको छ र बाँकी विश्वसँग पुनः जडान हुने ठूलो सम्भावना छ।’

यस्तै वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहलले कोभिडले थला परेको पर्यटन क्षेत्रलाई रसिया–युक्रेन युद्धले थप ग्रस्त बनाएको बताए। उनले सरकार पर्यटन क्षेत्रको नीतिप्रति स्थिर र उदार हुनुपर्ने बताउँदै ट्राभल एड्भाइजरी जारी गर्नुपर्ने उल्लेख गरे। उनले भने– ‘सरकारको नीति स्थिर हुनुपर्‍र्यो एउटा सरकारको नीति नियम अर्को सरकार आउँदा परिवर्तन भइसक्छ। दीर्घकालीन र समयसापेक्ष नीतिमा कसैको हस्तक्षेप हुनु भएन, नत्र त कसरी समग्र पर्यटन क्षेत्रको पुनरउत्थान गर्न सकिन्छ।  

टानले मुख्यतया पर्यटन गतिविधिहरू गर्ने, पर्यटन क्षेत्रको बजारीकरण गर्ने, नयाँ नयाँ गन्तव्य पत्ता लगाइ त्यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गन्तव्यलाई सहजीकरण गर्ने, पर्यटन प्रवद्र्धन र विकास, समग्र पर्यटन क्षेत्र तथा व्यसायीहरू सुरक्षा, सुविधा तथा हितको लागि लागि सरकारसँग पहल गर्नेजस्ता कार्यहरू गर्छ। बरिष्ठ उपाध्यक्ष दाहलले हाल विविध समस्याहरूले गर्दा टानले पर्यटन प्रबद्र्धन र विकासको लागि जति गर्नुपर्ने हो त्यति भने नगरेको स्वीकार्दै अब उपरान्त पर्यटन संकटको अवस्थालाई मध्यनजर गर्दै टानले यस क्षेत्रको प्रबद्र्धन र बजारीकरणमा कुनै पनि कसर बाँकी नराख्ने बताए।  

यसका साथै उनले आगामी नोभेम्बरमा कतारमा हुनलागेको विश्वकप फुटबलमा आउने विश्वव्यापी दर्शकहरूलाई नेपाल ल्याउन सरकारले कसरत गर्नुपर्ने जनाउँदै यसका लागि सरकारले कतार बेस भएर उडान गर्नुपर्ने विचार व्यक्त गरे। उनले भने ‘क्यानले नेपाल सरकारको ध्वजाबाहक जहाजलाई विश्वकपको  

माहोलमा दिनको दुई पटक कतार–नेपाल उडान गर्नुपर्छ यसको लागि गर्नुपर्ने व्यवस्थाको सम्बन्ध सबैले पहल गर्नुपर्छ। यसो गर्न सकेको खण्डमा तत्कालीन समयमा नेपालमा उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ।’

प्रकाशित: १२ आश्विन २०७९ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App