१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कालीगण्डकीका अवैध नदीजन्य वस्तुको लिलामी गरिने

 पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन गरिएका नदीजन्य वस्तु जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ। ठेक्का नलागेका ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य वस्तुको आवश्यक प्रक्रिया पूरा गरी जफत गर्न जलजला गाउँपालिकाले सरोकारवालाहरूको सहयोगमा सोमबार नापजाँच गरेको हो।

पर्वतवारी बेनीदेखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रूपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुवाको लिलामबिक्रीका लागि नापजाँच गरेको जलजला गाउँपालिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दीपक आचार्य (आकाश) ले बताए।

‘रातारात उत्खनन गरिएका वस्तुलाई जफत गछौ। अब थप कडाइ गर्ने गरी अगाडि बढेका छौ,’ उपाध्यक्ष आचार्यले भने। साउन र भदौ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत उत्खनन गरिएको बालुवालाई लिलाम बिक्री गराउन गाउँपालिका उपाध्यक्ष दीपक कार्की, जिसस र पालिका इन्जिनियर, सुरक्षाकर्मीलगायतको उपस्थितिमा किनारमा थुपारिएको नदीजन्य वस्तु नापजाँच गरिएको थियो। गाउँपालिकाका उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम बिक्रीका लागि प्रक्रिया अघि बढाउने बताइएको छ।

गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरू सिल गरिएका थिए। वर्षात्को समयमा उत्खनन गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरेर बेच्ने गरेका छन्। यता क्रसर व्यवसायीले समेत बिना टेन्डर गाउँपालिकाले रसिदबाट आम्दानी गर्न खोजेकोमा प्रतिवाद गर्दा अनावश्यक दुःख दिएको बताएका छन्।

 गाउँपालिका अध्यक्ष राजु आचार्यले कानुनभन्दा माथि कोही नहुने भएकाले राज्यको नीतिनियमलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्। म्याग्दी, पर्वत, बाग्लुङ क्षेत्र हँुदै बग्ने कालीगण्डकीको दुवैतर्फ नदीजन्य वस्तुको उत्खनन बढिरहेको छ। माथिल्लो निकायको संरक्षणमा ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रूपमा बालुवा उत्खननलाई रोक्न माग गरेका छन्।

प्रकाशित: २८ भाद्र २०७९ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App