coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चुहावट नियन्त्रण गर्न बुटवल–लुम्बिनीमा प्रसारण लाइन

फाइल तस्बिर

 रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धिदर प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यस अन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी छन्। प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ। साथै, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको छ।  

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन्। ‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौं, यसका साथै बूढी गण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ’– मन्त्री भुसालले भनिन्। ‘खानापकाउनप्रयोग हुने एलपिजी ग्यास विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नुपर्छ ।’

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालयका सचिवशुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरे।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युतआपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागेजति विद्युत् दिन सकिने अवस्था बनेको बताए। बुटवल सबस्टेसनमा मात्र विद्युत् आपूर्ति गर्दा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यो क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए।  

‘लोड सेडिङ अन्त्य गर्नु पर्ने थियो, अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो एवं गुणस्तरीय विद्युत् आपूर्ति, उद्योगलाई मागेजति विद्युत् दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् दैनिक रूपमा झण्डै १० करोड रूपैयाँको निर्यात गरिरहेका छौं ।’

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र चेम्बर अफ कमर्शका जेपी कँडेलले प्रसारण र सबस्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको बताए।  

बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो। १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत् आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताउनुभयो। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ। त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन्। विद्युत्को भोल्टेज सुधारका लागि २ वटा क्यापासिटर बैंकराखिएको छ।  

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ। प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो ।

प्रकाशित: २२ भाद्र २०७९ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App