coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिया क्षेत्रमा देखिएका समस्याकाे दीर्घकालीन समाधान खोजिँदै

इलामको कन्यामका किसान हरियो चियापत्ती बिक्रीका लागि तौलिँदै।

‘चियाको राजधानी’ सूर्याेदय नगरपालिकाले चिया क्षेत्रमा देखिएको समस्यामा दीर्घकालीन समाधान खोज्ने प्रयास थालेको छ। नगरले चिया क्षेत्रमा देखिएको लामो समयदेखिको समस्या समाधानका उपाय केलाउन कार्यदल नै गठन गरी अध्ययन थालेको हो।

नगरले २०७५ सालमै चियाको गुणस्तर, उत्पादन र बजार प्रवर्द्धन गर्न कार्यविधि निर्माण गरी कार्यान्वयन गरिरहेको छ। तर, सरोकारवालाको अझ फराकिलो आकारमा छलफल र सुझाव संकलन गरी चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न नगरले अर्काे प्रयास गरेको हो।

चिया क्षेत्रमा न्यूनतम समर्थन मूल्य कार्यान्वयन, चिया प्रशोधन उद्योगको वर्गीकरण, गुणस्तरीय तयारी चियाको तेस्रो मुलुक निर्यात र विदेशी मुद्रा आर्जनलगायत क्षेत्रमा नगरले कार्ययोजना बनाउने मेयर रणबहादुर राईले बताए। वडा १० का अध्यक्ष पेमाउग्येन लामाको संयोजकत्वमा बनेको कार्यदलमा चिया किसान, उद्योगी, व्यापारी, नेपाल चिया तथा कफी विकास बोर्डका प्रतिनिधिलगायत सदस्य छन्।

नगरले निर्माण गरेको कार्यदलले चियासँग सरोकार राख्ने किसान, उद्योगी, व्यवसायी, नीति-निर्मातादेखि सबै क्षेत्रसँग छलफल गर्नेछ। मेयर राईले यसअघि नगरले चिया क्षेत्रमा निर्माण गरेको कानुनको व्यावहारिकता, कमजोरी, संशोधन गर्नुपर्ने विषयलगायतबारे पनि छलफल गरिने बताए।

‘चियामा संघीय सरकारको ध्यान गएन, प्रदेश सरकारको पनि खासै चासो देखिएन,’ उनले भने, ‘विदेशी मुद्रा आर्जनको बलियो स्रोत भएपनि संघीय सरकारले यसमा ध्यान नदिनु विडम्बना बनेको छ।’ यही आवश्यकता अनुभव गर्दै सूर्याेदयले यसको दीर्घकालीन समाधानमा प्रयास गरेको उनको भनाइ छ। तर, मेयर राई चियाको समस्या आजको भोलि समाधान नहुने बताउँछन्।

‘चियाको समस्या लामो समयदेखिको हो, आजको भोलि नै त समाधान हुँदैन तर यसको दिगो समाधान नै खोज्नुपर्छ,’ उनले भने, ‘किसानलाई सचेतनादेखि नै चियाको समस्या सुरु गर्नु आवश्यक भएकाले नगरले अर्काे प्रयास गरेको हो।’ नगरले चिया क्षेत्रका समस्याको समाधान किसानस्तरबाटै सुरु गर्ने भएको छ। चियालाई व्यापारको वस्तुमात्र नभइ सूर्याेदयको ब्रान्ड बनाउन नगरले समन्वय गर्ने उनले बताए।

चियाले सूर्याेदय र  इलामको मात्र नभइ विश्वमा नेपाललाई नै चिनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनको भनाइ छ। ‘ठूला व्यापारी वा व्यवसायीको घर हुँदैन, देश हुँदैन र बस्ने ठाउँ पनि हुँदैन, उनीहरू जहाँ नाफा हुन्छ, त्यहाँ जाने र बस्ने हो,’ मेयर राईले भने, ‘तर, किसान दीर्घकालसम्म यही बस्छन्, यही काम गर्छन् र गुजारा चलाउँछन्। त्यसैले उनीहरूको समस्या समाधान गर्नु नगरको पहिलो लक्ष्य हो।’

हिजो हात–मुख जोर्ने उपायका रूपमा चिया खेती गरेका किसान अहिले त्यसबाट लगानीअनुसार आम्दानी हुन नसक्दा समस्यामा छन्। समयमा मल, सिंचाइ अभाव त छँदैछ, उत्पादित चिया बिक्री गर्न पनि धौधौ भएको छ उनीहरूलाई। अरू सबै खेती मासेर चिया रोपेका किसानलाई अहिले यो खेती टेक्नु न समाउनुको भएको छ। सूर्याेदयको अन्तुका किसान बैकुण्ठ घिमिरे चियाबाट लगानी उठाउन नसकिएको बताउँछन्।

‘चियाबाट आम्दानी हुन्छ भनेर सबैले यसको खेती गरे, अन्न उत्पादनसमेत छाडे,’ उनले भने, ‘अहिले न चिया खेतीलाई निरन्तरता दिनु, न छाड्नुजस्तो भएका किसान धेरै छन्।’ वर्षाैंअघि किसानले चिया खेती गर्दा कुनै सम्भाव्यता अध्ययन भएको थिएन। यसको बजार र मूल्यबारे त्यतिबेला अध्ययन नभएपनि किसान र उद्योगीकै पहलमा यहाँको चिया भारतसहित तेस्रो मुलुकसम्म निकासी भइरहेको छ। तर, विदेशी मुद्रा आर्जनको दर्बिलो स्रोत बन्ने सम्भावना रहेको चियामा सरकारी निकायले सधैं उपेक्षा गरेको किसान र उद्योगीकै गुनासो छ।

चिया उद्योगी उदय चापागाईं चिया क्षेत्र सरकारको उपेक्षामा परेको बताउँछन् । ‘सरकारले अरू सबै क्षेत्रमा नीति, कार्यक्रम र बजेट व्यवस्था गर्छ, चिया सम्झिँदैन,’ उनले भने, ‘वास्तवमा सरकारी निकायले चिया चिनेकै छैन । अहिलेसम्म चियामा जति प्रगति हुँदैछ, यो उद्योगी र किसानको प्रयासले हो ।’ कुनै सम्भाव्यता अध्ययन र अनुसन्धानबिना चिया खेती भएकाले त्यसलाई व्यवस्थित गर्दै निरन्तरता दिन नगरले पहल गरिरहेको मेयर राई बताउँछन्।

‘अहिले चियामा श्रमिक नपाउनु, मल नपाउनु र बजार अस्थिर हुनु पनि योजना विहीन खेतीकै कारणले हो,’ उनले भने, ‘तर, अब उबेला किन चिया रोपिएछ भनेर पछुताउने होइन, भएको खेतीलाई व्यवस्थित गरी त्यसबाट भरपुर आम्दानी लिने दिशामा जाने हो, नगरले त्यसका लागि आवश्यक सबैखाले पहल गर्छ।’ नगरले चिया उत्पादनमात्र होइन, त्यसको गुणस्तर बढाउन पनि यसअघि नै नीतिगत व्यवस्था गरेको छ। तर, सबै पक्ष इमान्दार नबन्दा गुणस्तरमा असर पुगेको नगरले जनाएको छ।

‘अबको माग र बजार अर्गानिक चिया नै भएकाले अर्गानिक उत्पादन गर्न नगरले पहिल्यैदेखि जोड दिइरहेको छ,’ मेयर राईले भने, ‘चियाको गुणस्तर वृद्धिकै लागि नगरमा ठूलो लगानीमा टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर भइरहेको छ।’ वर्षाैंदेखि अभाव रहेको चियाको अक्सनका लागि यो सेन्टरले पनि ‘मिनी अक्सन’को काम गर्नसक्ने उनले जनाए।

२०७५ सालमा बनेको चियासम्बन्धी नगरको कार्यविधि कोरोना संक्रमण र विभिन्न कारणले पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको नगरले जनाएको छ। मेयर राईले चियामा सिस्टम बस्न सुरु गरेका बेला कोभिडले यसको उत्पादन र बजारमा ठूलो समस्या निम्त्याएको बताए। ‘अब चियाको सबैखाले समस्या हल गर्नेगरी नगरले नीतिगत व्यवस्था गर्ने छ,’ उनले भने, ‘चिया नै सूर्याेदय नगरको भविष्य भएकाले त्यसलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं।’

प्रकाशित: १७ श्रावण २०७९ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App