११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ बिस्थापन विवादः कहाँ जाने टुंगो छैन

नयाँ ठाउँ खोजेकै छैनौः व्यवसायी

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै। फाइल तस्बिरः नागरिक

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सबैभन्दा बढी दवाव पर्यटन क्षेत्रले दिएको थियो। २०३१ मा जग्गा अधिग्रहण गरेर पनि विमानस्थल नबनेको भन्दै पोखरेली पर्यटन व्यवसायीले विमानस्थल बनाउन सरकारलाई निरन्तर दवाव दिएका थिए। यतिसम्मकी विमानस्थल माग गर्दै व्यवसायी नै लामो समयसम्म रिले अनसन बसे।  

पर्यटन व्यवसायीको मागलाई साथ दिँदै समग्र पोखरा क्षेत्र नै विमानस्थलको पक्षमा आन्दोलनमा होमियो। त्यसपछि समग्र पोखरेलीको मागलाई नै आधार मानेर विमानस्थल बनाउने निर्णय सरकारले गरेको थियो। त्यही अनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए।  

सर्वत्र दवावपछि निर्माण थालिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधारतर्पmको सबैजसो काम सकिएको छ। सबैजसो पूर्वाधार तयार भईसकेका छन्। करिब ९८ प्रतिशत काम सकिएको विमानस्थल आयोजनाले बताईरहेको छ। आवश्यक सबैखाले पूर्वाधार तयार पारेर विमानस्थल संचालनमा आउने बेला हुनै थाल्दा पर्यटन व्यवसायी पुन चिन्तित बनेका छन्–त्यही विमानस्थलका कारण। उनीहरुको चिन्ता अरु नभई प्याराग्लाइडिङ र अल्ट्रालाइटको उडानको विषयलाई लिएर छ, जोसँग पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्ध जोडिन्छ।

प्याराग्लाइडिङ र अल्ट्रालाइट त्यस्ता साहसिक पर्यटकीय प्रडक्ट हुन, जसका कारण पोखरालाई पर्यटनमा ठुलो साथ मिलेको पर्यटन व्यवासायीले बताउँदै आएका छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्न प्याराग्लाइडिङ र अल्ट्रालाइटको भूमिका रहेको उनीहरुको भनाई छ। कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि आकर्षण थप्ने गरि व्यवसायीले सस्तो मुल्यमा आन्तरिक पाहुनालाई आकाशमा उडाएर भएपनि व्यवसाय जेनतेन धानेका थिए । तिनै आन्तरिक पाहुना पोखरा तानिँदा यो क्षेत्रको पर्यटनले कोरोनाको बीचमा पनि राहत दिलाएको थियो।  

तर, अब पोखरामा बनेको यही विमानस्थलको कारण प्याराग्लाइडिङ उडान असम्भव हुने भनेर नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भनेपछि प्याराग्लाइडिङ व्यवसायी अत्तालिएका छन्। केहीगरि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न नपाए के र कसो गर्ने भन्ने चिन्ता अहिले व्यवसायीमा पलाएको छ। उनीहरुको चिन्ता छ,  ‘विमानस्थलका कारण प्याराग्लाइडिङ र अल्ट्रालाइट जस्ता साहसिक गतिविधिका प्रडक्ट पोखराको आकाशबाट हट्नुपरेमा कहाँ जाने?  

प्राधिकरणले आगामि जनवरी एकदेखि पोखराको यो विमानस्थल संचालन गर्ने लक्ष्य राखेको छ। त्यही अनुसार यहाँको आकाशमा उडान हुने अल्ट्रलाइट र प्याराग्लाइडिङलाई विकल्प खोज्न भनिसकेको छ। जनवरी एकभन्दा अगाडि नै पोखराको आकाश खालि गर्न प्राधिकरणले निर्देशन दिएको छ। त्यही निर्देशनपछि व्यवसायीले पोखराबाट बिस्थापित हुनुपर्ने जोखिमको निकट रहेको भन्दै चिन्ता जनाएका छन्। उनीहरु भन्छन, ‘पोखरा छाड्नुपरे कहाँ जाने? फेरि अहिलेसम्म कुनै तयारी पनि छैन। जहाँ पायो त्यहाँ गएर यो व्यवसाय टिकाउन र पर्यटक लैजान पनि सकिन्न।’

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्व अध्यक्ष योगेश भट्टराई भन्छन, ‘पोखराको आकाश छाड्नु नै पर्ने भएमा कहाँ जाने भन्ने टुंगो छैन प्राधिकरणले यति क्षेत्रभन्दा बाहिर जाउ भनेर भनेको पनि छैन। खालि पोखराको आकाश छाड्देउ भन्ने मात्र भनेको छ ।’ व्यवसायीका अनुसार अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्।  

‘हामीलाई पोखराको आकाश मात्र छाड्देउ भनिएको छ। तर, कहाँसम्म छाड्नुपर्ने वा कति टाढा जानुपर्ने भन्ने कसैले भनेको छैन, सबैतिर अन्योलै अन्योल पारिएको छ,’ भट्टराईले भने, ‘पोखरा बाहिर जानै पर्दा कति टाढासम्म जानुपर्ने भन्ने यकिन नहुँदा नयाँ ठाउँ पहिचानमा पनि अन्योल भएको छ।’  

केही व्यवसायीले व्यक्तिगत रुपमा कहाँ सर्ने भनेर सोचेको हुनसक्ने उनले बताए। तर, सामुहिक रुपमा नयाँ गन्तव्यको खोजी कतै नभएको भट्टराईको भनाई छ। ‘प्याराग्लाइडिङ उडान प्राविधिक कुरा हो । पोखराबाट कति टाढा जानुपर्ने भनेर तोकिदिएमा व्यवसायीले पनि केही सोँचबिचार गर्न सक्थे,’ उनी भन्छन, ‘एकतर्फी रुपमा पोखराबाट हट्नुपर्ने मात्र भनिएको छ। नयाँ ठाउँको खोजीमा सरकार र सरोकारवालालाई उत्तिसारो चाँसो छैन। प्याराग्लाइडिङ जोगाउने जिम्मा व्यवसायीको मात्र नभई समग्र सरकारको पनि हो।’

व्यवसायीका अनुसार प्याराग्लाइडिङ सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय श्रोत बजार चीन हो। कोरोना संक्रमणपछि चिनियाँ पर्यटक भित्रिन नपाउँदा आन्तरिक पाहुनाकै भरमा यो व्यवसाय थेगिएको छ। वर्षमा करिब डेढलाख पर्यटक पोखराको आकाशमा फन्को मार्ने अनुमान व्यवसायीको छ। पोखरा घुम्न आउने करिब ९८ प्रतिशत चिनियाँ पर्यटक प्याराग्लाइडिङकै आकर्षणले भित्रिने उनीहरुको भनाई छ।

ब्लुस्काइ प्याराग्लाइडिङका इन्स्ट्रक्टर पाइलट समेत रहेका दामोदर पराजुलीका अनुसार प्याराग्लाइडिङका लागि पोखराको यो आकाश विश्वकै उत्कृष्ट गन्तव्य भित्र पर्छ। पोखरा आसपासका केही डाँडाबाट उडान सम्भव भएपनि सराङकोट जत्तिको उत्कृष्ट ठाउँ अन्यत्र कतै नभएको पराजुलीले बताए। ‘सराङकोट जत्तिको उपयुक्त स्थान अन्यत्र हुनै सक्दैन । तर, पोखरा भन्दा केही परका डाँडाकाँडामा उडान सम्भव भने छ,’ उनले भने, ‘सम्भावनाको रुपमा पोखरा नजिकैका डिकीडाँडा, लाचोक, घाचोक, भेँडाबारी सम्भावित डाँडा हुन्। तर, ती डाँडा पनि विमानस्थलबाट १० नजिकल माइल (१८.५२ किमि) भित्रका ठाउँ हुन्।’  

पराजुलीका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट १० नटिकल माइलभित्र प्यारागलाइडिङ उडान गर्न पाँइदैन। सम्भावित ठानिएका डिकीडाँडा, लाचोक, घाचोक, भेँडाबारी पनि १० नटिकल माइ भित्रका ठाउँ भएपनि सराङकोट भन्दा केही पर पर्ने भएकोले प्राविधिक रुपमा सहजीकरण गराउन सके उडान सम्भव हुने उनी बताउँछन्।  

‘आइकाओको मापदण्डमा त सम्भावित (डिकीडाँडा, लाचोक, घाचोक, भेँडाबारी) ठानिएका ठाउँमा पनि उडान गर्न पाँइदैन, तर, यस्तै अभ्यास अन्तर्राष्ट्रियस्तरमा पनि गरिएकोले केही सम्भव हुन्छ की भन्न मात्र हो,,’ उनले भने, ‘किनकी विमानस्थलबाट एकाएक ओभरसुट गरेको जहाज त्यहाँको आकाशमा पुगिसक्दा धेरै नै उचाँइमा पुग्ने भएकोले हामीले ती ठाउँप्रति सम्भावना देखेको मात्र हो, यसमा प्राविधिक पक्ष विश्लेषण भने गर्नैपर्छ।’ पोखराबाटै बिस्थापित हुनुभन्दा डिकीडाँडा, लाचोक, घाचोक, भेँडाबारी सम्भावित ठाउँ हुनसक्नेमा आफुहरु आशावादी भएको उनले बताए।  

त्यसबाहेक सरकारले नै तनहुँको बन्दीपुर र स्याङजाको स्वरेकमा यसअघि पनि प्याराग्लाइडिङ  उडानको अनुमति दिएको छ। ती दुवै ठाउँमा प्याराग्लाइडिङ सिकाउने स्कुल नै संचालनमा छन। ‘उड्नको लागि मात्र त विकल्पमा स्याङजाको स्वरेक र तनहुँको बन्दीपुर पनि छन्। तर पोखराबाट उत्तिको टाढा जाँदा व्यापार हुँदैन,’ पराजुलीले भने, ‘बन्दीपुर र स्वरेकमा उडान समस्या छैन। तर, पर्यटनको दृष्टिले कम उपयुक्त ठाउँ मात्र हुन्।’ उनले पनि सराङकोटबाट बाहिरिनै परे कहाँ जाने भनेर अहिलेसम्म योजना नबनाएको बताए। ‘सकेसम्म कडा परिधिभित्र रहेर सराङकोटमै अडिन सकिन्छ की भन्नेमा आशावादी भएर नै अरु सम्भावना नै खोज भएको छैन,’ उनले भने, ‘सराङकोटमा सम्भावना नै नभए बल्ल विकल्प सोच्ने हो।’  

प्याराग्लाइडिङका पहिलो नेपाली पाइलट राजेश बमजन पनि प्राधिकरणले जतिसक्दो छिटो निचोड दिनुपर्ने बताउँछन। ‘डाँडाकाँडा धेरै छन, उड्न सबैतिरबाट मिल्छ। तर, सराङकोटबाट बाहिर जाँदा वर्षम ६–७ महिना मात्र व्यवसाय चल्छ। अरु दिन सम्भव छैन, सराङकोटमा वर्षैभरि थियो।’ बमजनले पनि ढिकीडाँडा, लाचोक, घाचोक, ल्वाङघलेल सम्भावित ठाउँ भएपनि ती सबै ठाउँको उडान मौसमी हुने बताए। ‘स्याङजा र बन्दीपुर लैजाने हो भने मास्ने काम हुन्छ, उड्न पाएर मात्र हुँदैन, तर, नजिकैका डाँडामा सम्भावना रहेमा केही जोगिन सकिन्छ,’ उनले भने, ‘तरपनि सराङकोट जत्तिको त कतै गएपनि हुँदैन।’

प्रकाशित: ३० असार २०७९ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App