१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मूल्यवृद्धि नियन्त्रण बाहिर, भयावह अवस्था आउन सक्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं— सरकारले लिएको मूल्यवृद्धि औषत ८.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए तापनि चालू आर्थिक वर्षको चौथो महिनामै मूल्य वृद्धि सरकारको नियन्त्रणमा बाहिर पुगेको छ।

बुधबार राष्ट्र बैंकले जारी गरेको एक प्रतिवेदनले कार्तिक महिनामा १०.४ प्रतिशतले मूल्यवृद्धि भएको देखाएको हो।

यो अवस्थामा कायमै रहे स्ट्यागफ्ल्याशन (महँगी आकासिने, आर्थिक वृद्धि अवरुद्ध हुने र बेरोजगारी बढ्ने) अवस्था आउन चेतावनी पनि केन्द्रीय बैंकले दिएको छ। सरकारले लिएको आर्थिक वर्ष २०७२/०७३ मा ६ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेको थियो। अब त्यो २ प्रतिशतमा सीमित हुने सरकारले हालै जारी गरेको श्वेतपत्रमा उल्लेख छ।

बजारमा खाद्य तथा पेय पदार्थको बजार मूल्य आकासिँदा मूल्यवृद्धि भयानक अवस्थातिर उन्मुख रहेको केन्द्रीय बैंकले औंल्याएको छ। महँगी भयावह अवस्थामा पुग्नुमा केन्द्रीय बैंकले मुख्य तीन कारण उल्लेख गरेको छ। पहिलो, तराईमा जारी आन्दोलन र हड्ताल। दोस्रो भारतको नाकाबन्दी र तेस्रो अत्यावश्यक सामग्री सञ्चित गर्ने प्रवृत्ति।

'विद्यमान अवस्था अझ लम्बिएमा अत्यावश्यकीय वस्तुहरुको मूल्य वृद्धि अझ गहिरिन गई लागत प्रेरित मुद्रा स्फीति तथा स्ट्यागफ्ल्याशनको अवस्था आउन सक्ने देखिन्छ', राष्ट्र बैंकले बुधबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति नामक मासिक प्रतिवेदनमा उल्लेख छ।

मुलुकको केन्द्रीय बैंकले आफूले चालेका मौद्रिक कदमहरुले मात्र यस्तो मूल्यवृद्धि नियन्त्रणमा आउन नसक्ने जनाएको छ। यस्तो अवस्थाको अन्त्यका लागि आपूर्ति व्यवस्था चाँडै सहज हुनुपर्ने उसले जोड दिएको छ। 'नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन उच्च प्राथमिकताका साथ संचालन गर्दै आएको भएता पनि आपूर्ति अवस्था सहज नहुँदासम्म मौद्रिक व्यवस्थापनबाट मात्र मुद्रास्फीति नियन्त्रण गर्न कठिन देखिएको छ', प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: १ पुस २०७२ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App