१७ मंसिर २०७९ शनिबार
अर्थ

पर्यटनका साहसिक ‘प्रडक्ट’ गुमाउँदैछ पोखरा

साहसिक गतिविधि नभए पर्यटक आउने छैनन्ः व्यवसायी

स्याङजामा प्याराग्लाईडिङको अभ्यास गरिँदै।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीसँग १ सय ७० व्यवसायी आवद्ध छन्। तर, ती सबै व्यवसायी पदयात्रा व्यवसायमा सक्रिय छैनन्। व्यवसायमा सक्रिय नभएपनि व्यवसायीले छाता संस्था टानसँगको आवद्धता भने छाडेका छैनन्, मात्र व्यवसाय छाडेका छन्।  

व्यवसाय छाड्नुको कारणबारे व्यवसायी भन्छन, ‘पछिल्लो समय मुख्य पदयात्रा क्षेत्रमा मोटरबाटो बिस्तार भएसँगै पदयात्रा व्यवसाय ओरालो लाग्न थाल्यो, त्यसले गर्दा व्यवसायीले पर्याप्त व्यवसाय गर्न पाएनन र आम्दानी गुमाउँदै गए। व्यवसायको आकार खस्केसँगै कतिपय व्यवसायीले कम्पनि मात्र नवीकरण गरिरहे, व्यवसाय भने गरेनन। मोटरबाटो पुगेसँगै खस्किरहेको पदयात्रा व्यवसायमा कोरोना संक्रमणले झनै घिउ थपिदियो, त्यसको प्रभाव स्वरुप पछिल्लो दुइ वर्षदेखि व्यवसायीले पदयात्रामा जाने विदेशी पाहुना पाउन सकेका छैननन, जसले गर्दा व्यवसाय नै धराशायी बन्दै गएको उनीहरु नै बताउँछन्।  

व्यवसायीका अनुसार पदयात्रा क्षेत्रको व्यवसायको आकार यतिसम्म खस्कियो की पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका ट्रेकिङ कम्पनि बसाई सर्न थाले। महंगो भाडा तिर्नुपर्ने, तर आम्दानी नभएको भन्दै व्यवसायीले व्यवसायको आकार साँघुरो बनाउँदै लगे, कतिपयले त लेकसाइडमा संचालन गरेको कम्पनिलाई घरबाटै चलाउन थाले। ‘मोटरबाटो बिस्तार भएसँगै पदयात्रा क्षेत्र नै बिस्थापित भयो। त्यसको मार व्यवसायमा पर्‍यो, अनि खर्च धान्न सक्ने अवस्था नभएपछि व्यवसायी बिस्थापित भए। जसोतसो बचेका व्यवसायीले पनि घरबाटै व्यवसाय गर्न थालेका छन,’ टान गण्डकीका अध्यक्ष सुशीलराज पौडेल भन्छन, ‘कोरोना संक्रमणले गर्दा व्यवसायीलाई नै बिस्थापित बनायो।’  

मोटरबाटोका कारण पदयात्रा व्यवसाय खस्किदाको अवस्थामा पनि जेनतेन थेगिएका व्यवसायीले कोरोना संक्रमण पछि भने खर्च धान्नै सकेनन। जसले गर्दा करिब ३० प्रतिशत व्यवसायी बिस्थापित भएको अध्यक्ष पौडेल बताउँछन। ‘अरु व्यवसायीले पनि ठाउँ सारे । यतिसम्म अप्ठेरो पर्‍यो की व्यवसायी नै बाच्न सक्ने अवस्था रहेन, साहसिक पदयात्रा त झनै जोगिने कुरै रहेन।’

उनका अनुसार केही वर्ष अघिसम्म चम्किएको पदयात्रा व्यवसाय मोटरबाटो बिस्तार भएसँगै बिस्थापित भएको छ। त्यसमा कोरोना संक्रमणले साथ दिँदा व्यवसायी पनि बिस्थापित हुन पुगे। ‘पदयात्रा क्षेत्र पनि सधैंका लागि खस्किएको छ। व्यवसायी पनि अब सधैंका लागि बिस्थापित हुन पुगेका छन,’ पौडेलले भने, ‘साहसिक भनिएका गन्तव्यमा मोटरबाटो पुगेपछि त्यसलाई साहसिक मान्न सकिएन। भएजतिका गन्तव्यमा अहिले मोटर गुडिरहेकोले त्यसको असर परेको छ।’ उनले मोटरबाटोका कारण नेपालको पदयात्रा व्यवसाय धराशायी हुँदै जाँदा नेपाल भित्रिने साहसिक पर्यटकमा पनि गिरावट आउने पक्का रहेको बताए।  

‘केहीवर्ष अघिसम्म साहसिक गन्तव्यमा परेको माथिल्लो मनाङ होस वा मुस्ताङ, त्यहाँसम्म मोटर पुगेपछि ती क्षेत्र साहसिक बन्न सकेनन,’ उनले भने, ‘मोटरमा सरर पुगिने गन्तव्यलाई बेच्ने आधार व्यवसायीसँग छैन। मोटर चढेर हुइकिने पर्यटकलाई साहसिक मान्न पनि सकिएन। बैकल्पिक पदमार्ग बनाउने भन्ने कुरामा मात्र सिमित हुन पुगेको छ।’

साहसिक पर्यटक भित्र्याउने अर्काे प्रडक्ट हो–र्‍याफ्टिङ । तर, पछिल्लो समय र्‍याफ्टिङ व्यवसाय पनि खस्किँदो छ। र्‍याफ्टिङ गर्ने पर्याप्त साहसिक पर्यटक भित्रिन छाडेको वर्षाै भईसकेको व्यवसायी बताउँछन्। नेपालका विभिन्न नदीमा साहसिक पर्यटकलाई र्‍याफ्टिङ गराउने व्यवसायी मात्र केहीवर्ष अघिसम्म पोखरामा करिब तीनदर्जन थिए। तर, अहिले जलयात्रा गराउने ती व्यवसायीको आकार एकदर्जनमा खस्केको छ।

नेपाल एशोशिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)का पूर्व केन्द्रीय अध्यक्ष नीम मगरका अनुसार एकदर्जन कम्पनिले पनि अहिले काम पाएका छैनन। ‘साहसिक पर्यटकलाई जलयात्रा गराउने उद्देश्यले कुनैबेला पोखरा क्षेत्रमा मात्र करिब तीनदर्जन र्‍याफ्टिङ कम्पनि चलेका थिए, तर, अहिले ती कम्पनिको संख्या एकदर्जनमा झरेका छन,’ मगर भन्छन, ‘साहसिक पर्यटन सबैतिरबाट आक्रमणमा परेको छ। व्यवसायी नै सधैंका लागि बिस्थापित हुन पुगेका छन्।’  

उनका अनुसार जलयात्रा व्यवसाय बिस्थापित हुनुमा मुख्य कारण खोलानालाको दोहन, खोलाको जथाभावि वहाव परिर्वतन, जथाभावि बनेका जलविद्युत आयोजनाका कारण जलयात्रा व्यवसाय धरापमा परेको हो। ‘जलयात्राका गतिविधि कमजोर हुँदा साहसिक पर्यटनमा मार परेको छ,’ उनले भने, ‘साहसिक पर्यटनका सबैखाले गतिविधि कमजोर हुँदै जाँदा त्यसको मार पर्यटनमा परेको छ। यसबारेमा राज्यले बेलैमा सोच्नुपर्छ।’  

साहसिक पर्यटकीय प्रडक्टको रुपमा पहिचान कमाएका र्‍याफ्टिङ, ट्रेकिङ जस्ता गतिविधि कमजोर हुँदै जाँदा मार खेप्दै गएको पोखराको पर्यटन क्षेत्रले अब आकाशमा हुने साहसिक गतिविधि पनि गुमाउने अवस्था आएको व्यवसायीको गुनासो छ। आकाशमा हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काई डाइभ, बेलुन जस्ता गतिविधि पनि हराउने हो भने पोखराको पर्यटन क्षेत्र झनै मारमा पर्ने पक्का भएको व्यवसायी बताउँछन्। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै आकाशमा हुने साहसिक गतिविधि रोकिने अवस्था आएको छ।

केहीगरि पोखराको आकाशमा हुने साहसिक गतिविधि सधैंका लागि बिस्थापित भएमा पर्यटन क्षेत्रले ठुलो नोक्सान खेप्नुपर्ने व्यवसायीको चिन्ता छ। अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइडाइभ, बेलुनका गतिविधि हुन्छन। प्याराग्लाइडिङ र अल्ट्रालाइटका गतिविधि नियमित भएपनि बेलुन र स्काइडाइभ पनि बेलाबेला हुने गरेका छन।  

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भयो। सन् २००० देखि कम्पनि नै खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए। अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने कम्पनिको संख्या ६२ पुगेका छन। सिजनका बेला यहाँ दिनमा ६ सयजति उडान हुने व्यवसायीले बताउँदै आएका छन्।  

पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान यहाँ संचालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण बिस्थापितको त्रासमा छ। व्यवसायीले विमानस्थल संचालनमा आएपनि प्याराग्लाइडिङलाई बिस्थापित नगर्न सरकारसँग आग्रह गरिरहेका छन। केही गरि पोखराबाट प्याराग्लाइडिङ उडान बिस्थापन भए त्यसले पोखराको मात्र नभई प्रदेशकै साहसिक पर्यटन प्रवद्र्धनमा असर पर्ने व्यवसायीको चिन्ता छ। तर, हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले आगामि जनवरी एकदेखि विमास्थल संचालनमा आउने भएकोले त्यो अघि नै प्याराग्लाइडिङ पोखराबाट हटाइसक्न भनिसकेको छ।  

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान केहीगरि बिस्थापित भएमा त्यसले नेपालको साहसिक पर्यटनमै असर पर्ने व्यवसायी बताउँछन। नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावत भन्छन्, ‘पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान बिस्थापित भएमा त्यसले पर्यटनमा ठुलो धक्का पुग्छ। त्यसैले साहसिक पर्यटनलाई राज्यले बिस्थापित नभई व्यवस्थित गरिदिनुपर्छ।’  

सरकारले साहसिक पर्यटन क्षेत्रलाई व्यवस्थापन गर्न नसकेमा साहसिक पर्यटन बच्न सक्ने अवस्था नरहने उनले बताए। ‘साहसिक पर्यटन जोगाउन राज्य र व्यवसायी दुवैको दायित्व हो। यो बारेमा गम्भिर बन्नुपर्छ। राज्य र व्यवसायीले पनि उत्तरदायित्व नसम्झने हो भने नेपालको साहसिक पर्यटन झनै ओरालो लाग्ने पक्का छ,’ उनले भने, ‘आकाशमा हुने सबै गतिविधि बिस्थापित भएमा त्यसको असर सबैमा पर्छ। प्याराग्लाइडिङ मात्र नभई सबैखाले उडानका साहसिक गतिविधि नै बिस्थापितको चिन्ता छ।’  

‘बेलैमा व्यवस्थित गर्न नसक्दा पोखरा क्षेत्रको र्‍याफ्टिङ क्षेत्र बिस्थापित भयो, अब पदमार्ग पनि ध्वस्त भईसकेको छ। प्याराग्लाइडिङ बिस्थापित हुनासाथ पोखराको आकाशमा हुने सबैखाले साहसिक गतिविधि ओरालो लाग्नेछन,’ रावतले भने, ‘पोखरा कुनै बेला साहसिक पर्यटनको गन्तव्य भनिन्थ्यो, तर ती सबै गतिविधि अब हराउने अवस्था आएको छ।’  

स्काई डाइभ, बेलुन र अल्ट्रालाईटका गतिविधि पनि प्याराग्लाइडिङसँगै बिस्थापित हुँदा त्यसको मार साहसिक पर्यटनमा पर्ने उनले सुनाए। ‘पर्यटन व्यवसायी गम्भिर नहुने हो भने साहसिक पर्यटनका प्रडक्ट सकिँदै जाँदा यसले ठुलो मार पर्यटनमा पार्नेछ,’ रावतले भने, ‘साहसिक पर्यटन जोगाउन स्वयं व्यवसायी पनि सच्चिनुपर्छ। सरकार पनि यो बारेमा गम्भिर बन्नुपर्छ। नत्र भोलिको पुस्ताले साहसिक पर्यटन देख्न पाउने छैन।’  

टानका अध्यक्ष पौडले पोखरालाई पर्यटकीय सहर बनाउने मुल आधारमा पर्ने साहसिक पर्यटकीय गतिविधि सधैंका लागि बिस्थापित हुने चरणमा रहेको बताउँछन्। ‘एडभेन्चर हवको रुपमा स्थापित पोखरामा अब सबैखाले साहसिक गतिविधि घट्दै जाँदा त्यसको मार पर्यटनमा पर्ने पक्का छ,’ उनले भने, ‘अहिलेसम्म पदयात्रा, जलयात्रा जस्ता गतिविधि अप्ठेरोमा परिसकेका छन्। अब आकाशमा हुने गतिविधिका प्रडक्ट पनि हराउने चिन्ता छ। यदी त्यसो भएमा पोखराको पर्यटनलाई ठूलो धक्का लाग्नेछ,’ अहिले बञ्जी, जीपलाईन जस्ता केही गतिविधि भएपनि पुराना गतिविधि भने हराउँदै गएको उनले बताए।  

प्रकाशित: २६ असार २०७९ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App