२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

माछाखोला डिपोमा खाद्यान्न सकियो

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखा।

उत्तरी गोरखाको माछाखोला डिपोमा खाद्यान्न सकिएको छ। केहीदिन यता स्थानीयले सहुलियतको खाद्यान्न डिपोबाट खरिद गर्न पाएका छैनन्। खाद्यान्न अभाव भएपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले २०७९/८० मा ढुवानी गर्नुपर्ने खाद्यान्नको बोलपत्र आह्वान गरिसकेको जनाएको छ।  

‘यो वर्ष खाद्यान्न ढुवानी गर्न तीन पटक सम्म बोलपत्र आह्वान गर्नुपर्दा ढिलो भएको थियो,’ कम्पनीका निमित्त प्रमुख शिब सुनारले भने, ‘छिटो ठेक्का लगाएर ढुवानी गर्न आउँदो आर्थिक वर्षका लागि बोलपत्र आह्वान भईसकेको छ।’ पहिलो पटक साउन १७ गते सम्मको म्याद राखेर ठेक्का खोलिएको उनले बताए।  

माछाखोला डिपोमा आर्थिक वर्ष २०७८/७९ मा दुई सय ८० क्विन्टल ५० किलो चामल ढुवानी भएको र सबै बिक्री भईसकेको हो। कम्पनीले गोरखाको धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा खाद्यान्न ढुवानी गर्दै आएको छ। चालु आर्थिक वर्ष असार १५ गते अघि शुसान्ति निर्माण सेवाले चामल ढुवानी पूरा गरेको निमित्त प्रमुख सुनारले बताए।  

‘सिर्दिबास डिपोमा अहिले छ सय क्विन्टल चामल बाँकी छ,’ कम्पनीका गोरखा शाखाका निमित्त प्रमुख शिव सुनारले भने।  

चालु आर्थिक वर्ष चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा तीन हजार पाँचसय क्विन्टल ढुवानी भएको थियो। गोरखास्थित लिमिटेडको कार्यालयबाट दुई हजार र तनहुँको बिमलनगरबाट एक हजार पाँच सय क्विन्टल चालु वर्ष ढुवानी भएको कम्पनीले जनाएको छ।  

सिर्दिवासमा सोना मन्सुली ५२, स्टिम जीरा मसिनो ६६, अरुवा मकवानपुर ५२ रुपैयाँ प्रतिकिलोमा सर्वसाधारणलाई कम्पनीको डिपोले बिक्री गर्दै आएको छ भने माछाखोलामा स्टिम जिरा मसिनो प्रतिकिलो ६४ मा बिक्री हुने गर्छ।  

हरेक वर्ष उत्तरी गोरखामा खाद्यान्न ढुवानीको ठेक्का लाग्न मुस्किल हुनेगर्छ। आउँदो आर्थिक वर्ष माछाखोलाका लागि पाँचसय क्विन्टल र सिर्दिबासका लागि दुई हजार क्विन्टल ढुवानीका लागि बोलपत्र आह्वान गरिएको हो। सदरमुकमदेखि गाडी, खच्चड हुँदै सिर्दिबास पुर्‍याउनुपर्ने हुँदा ढुवानी गर्न समस्या हुने गर्छ। सिमित ब्यवशायीले ढुवानीमा टेण्डर दाखिला गर्दै आएका सहजै ठेक्का लाग्न हरेक वर्ष मुस्किल हुँदै आएको छ।  

नयाँ आह्वान भएको टेण्डरमा पहिलो पटक नै ठेक्का दाखिला भएको खण्डमा प्रक्रिया पूरा गर्न एक महिना लाग्छ। गत वर्ष जस्तो तीन पटक टेण्डर आह्वान गर्नुपरेमा दुई महिना लाग्छ। यो वर्ष माछाखोला डिपोबाट दुई महिना अघि स्थानीयले सहुलियतको चामल खरिद गर्न पाउने अवस्था छैन।

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुँदैन। सरकारले त्यहाँका सर्वसाधारणलाई खाद्यान्नमा सहुलियत दिँदै आएको छ। माछाखोला डिपोमा अहिले गाडीबाट ढुवानी गर्न सकिन्छ भने सिर्दिबास डिपोसम्म अझै खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता छ।

प्रकाशित: २३ असार २०७९ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App