५ वैशाख २०८१ बुधबार
अर्थ

चीन जान पाएनन् याक र गलैंचा

मोर नदी तर्दै याक (माथि)। टिप्तला नाकामा चीनले बनाएको संरचना।तस्बिरः गिरिराज/नागरिक

सबै याक बेचेर गाउँमै बस्ने योजनामा छन्, योञ्जेन शेर्पा तर उनको योजना त्यति चाँडै पूरा होलाजस्तो छैन।  

उमेले ७० टेकेका शेर्पाले ताप्लेजुङको उत्तरी फाक्तालुङ गाउँपालिकामा वर्षौदेखि याक पाल्दै आएका छन्। याक किनबेच गर्न सजिलो थियो। यहाँ पालिएका याक, चौरी चीनको तिब्बतमा बिक्री हुन्थे। कोरोनाको प्रकोप बढेपछि चीनले नाका बन्द गरेको छ। नाका बन्द गरेपछि याक बिक्री भएका छैनन्।

वर्षेनी याक बिक्री गर्ने पशुपालक याक कहिले बिक्ला भन्ने चीनतामा छन्। ‘गोठमै व्यापारी आउँथे। एउटै याक डेढलाख भन्दा बढीमा बिक्थ्यो’ योञ्जेन भन्छन्, ‘बुढेसकाल लाग्यो, याक बेचेर गाउँ झरुँ भनेको, कहिले बिक्ला बिक्ला।’

हिमाली क्षेत्रको आम्दानीको मुख्य स्रोत याक, चौरी र दुधजन्य उत्पादन हुन्। उनको जस्तै चीनता ताप्लेजुङको हिमाली क्षेत्रका सबै याक पालकलाई परेको छ। कोरोना प्रभावसँगै बन्द रहेको टिप्तला नाका कहिले खुल्छ भन्ने अन्योल छ। नाका नखुल्दा हिमाली क्षेत्रका बासिन्दाले याक, गलैंचा, जरीबुटी चीनतर्फ बिक्री गर्न समस्या भएको छ। रिउ बजारबाट हिमाली क्षेत्रमा समान किनेर ल्याइन्थ्यो।

‘नेपालबाट बिक्री हुने याक, चौरी, गलैंचा तथा बिक्रीका लागि अनुमति पाएका जरिबुटी बिक्री गर्न पाइएको छैन,’ फक्तालुङ,७ का वार्ड अध्यक्ष छेतेन शेर्पा भन्छन्, ‘याक पाल्ने पशुपालक र गलैंचा बुनेर आम्दानी गर्नेलाई ठूलो समस्या भएको छ।’

यहाँका याक खरिदबिक्री भई चीन जान्थे। हेरक वर्ष याक बेचेर नयाँ याक पाल्ने गरेको पशुपालक बताउँछन् तर पछिल्ला केही वर्ष यता याक नबिक्दा आम्दानी हुन नसकेको उनीहरूको भनाइ छ।  

५ हजार १ सय ३२ मिटर उचाइमा रहेको टिप्तला नाका भएर व्यापार तथा आवजावत हुने गरेको थियो। कोरोनापछि यो नाका खुलेको छैन। वर्षेनी चीनले राहत सामाग्री भने पठाउने गरेको छ तर यहाँका बासिन्दा नाका चाँडै सञ्चालनमा आए हुन्थ्यो भन्नेमा छन्।  

मौवाटार, ओलाङचुङगोला, याङमा, खम्बाचेन, चेराम, फले लगायतका हिमालीक्षेत्रमा पालिएका याक बिक्री हुन सकेका छैन।  

ओलाङ्चुङगोलामा घरै पिच्छे गलैंचा बुनिन्छ तर यो गलैचा चीन जान पाएको छैन।  

‘याक नबिक्दा ठूलो क्षति भएको छ। गलैंचा राम्रो मूल्यमा बिक्री नहुँदा उत्पादन घट्दै गएको छ। चीनबाट सामान ल्याउन पनि सस्तो हुन्थ्यो’ ओलाङचुङगोलाका व्यवसायी नुपु शेर्पा भन्छन्, ‘यो नाका खोल्नका लागि माथिल्लो निकायबाट पहल गरिदिनु पर्यो।’

टिप्तलादेखि ओलाङचुङगोलासम्म सडक बनेको थियो। चीनबाट मेसिन ल्याएर नेपाल सरकारको दायित्व नपर्ने गरी विभिन्न क्षेत्रबाट रकम संकलन गरेर सडक बनाइएको थियो। ‘नेपाल सरकारको सहमतिमा चीनले सडक स्तरोन्नति गर्ने तयारी भएको थियो। कोरोना पछि नाका नै बन्द भयो’, वार्ड अध्यक्ष छेतेनले भने।

‘कहिले नाका खुल्ला र याक बेचुँ भन्ने भएको छ। यसरी विकेन भने त ठूलो समस्या हुन्छ’ मौवाटारका गेले शेर्पाले भने, ‘यता याक बिक्दैन। पहिले वर्षै पिच्छे याक बिक्थ्यो। परिवार पाल्ने, छोराछोरी पाल्ने यही याक त हो नी।’ ‘यत्रोवर्ष याक पालियो। कहिले बिक्री गर्न समस्या थिएन्, गेलेले थपे।  

चीनको तिब्बतका वासिन्दासँग मित्रवत सम्बन्ध समेत रहेको छ। ओलाङचुङगोलामा सशस्त्र प्रहरी विओपी रहेको छ। मौवाटार नजिकै भवन बने पनि नाकामा चहलपहल नभएकाले सरेको छैन।  

ताप्लेजुङ सदरमुकामबाट इलाडाँडा भन्ने ठाँउसम्म गाडी पुग्छ। यहाँबाट एकदिन हिँडेपछि मात्र ओलाङचुङगोला पुगिन्छ। इलाडाँडाबाट ओलाङचुङगोला खच्चडमा सामान पुर्‍याउँदा प्रतिकेजी भाडा ५० रूपैयाँ पर्छ। चीनबाट सामान ल्याउँदा सस्तो पर्ने स्थानीय वासिन्दा बताउँछन्।  

गोलाका प्रायः घरमा गलैंचा बुन्ने गरिन्छ। यहाँका महिलाहरूको आम्दानीको स्रोत गलैंचा नै हो। बुनिएका गलैंचा थन्किएका छन्। फाटफुटमात्र गलैंचा काठमाडौं जाने गरेको स्थानीय दिन्जी याङ्मी बताउँछिन्। गोलाको गलैंचा चर्चित छ। यहाँका धेरै घरमा गलैंचा बुन्ने तान राखिएका छन्।  

याक, गलैंचा तथा जरिबुटी बेच्न नपाउँदा आम्दानीको माध्यम नै गुम्दै गएको स्थानीय बासिन्दा बताउँछन्। कञ्चनजंघा संरक्षण क्षेत्रले बिक्रीका लागि सूचीकृत गरेका जरिबुटी बिक्री हुने गरेको बताइन्छ।  

हिमाली क्षेत्रका बासिन्दाको चासो र चिन्ताको विषय नाका कहिले खुल्छ भन्नेमा छ भन्नेमा छ।

प्रकाशित: १६ असार २०७९ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App