भरतपुर महानगरपालिकाका २५ का मित्रराज दवाडीको १५ विघा खेत छ। रोपाइँ गर्न र धान थन्काउने समयमा मजदुर नपाउँदा दवाडीलाई निकै समस्या हुन्थ्यो। तर, तीन बर्षदेखि भने मेसिनबाट रोपाइँ गर्न थालेपछि सहज हुँदै गएको छ।
‘खेत धेरै। मजदुर खोज्दा नपाईने। मधेस तिरबाट मजदुर ल्याएर रोपाइँ गर्नुपर्ने।’ दवाडि विगतका दिन सम्झदै भन्छन्, ‘काम गर्ने मान्छेको अभाव हुन थालेपछि धान रोप्ने मेसिन ल्याएर रोपाइँ गर्न थालेको छु।’
उनले यसबर्ष १५ विघामा रोपाइँ गर्नका लागि ट्रेमा धानको बिऊ राखेका छन्। सुरुवाती बर्ष उनले तीन विघामा मेसिनबाट रोपाइँ गरेका थिए।
‘पहिलो बर्ष नराम्रो हुने हो कि भन्ने डरले पुरा मेसिनबाट रोपाइँ गर्न सकिएन। अहिले सिक्दै गइयो। पुरै खेतका लागि बिऊ राखेका छौँ।’ उनले भने, ‘बिऊ तयार हुँदा साथ रोपाइँ गछौँ।’
मेसिनबाट धान रोप्नका लागि बिउ राख्ने तरिका पनि फरक छ। यसका लागि ट्रेबाट बिऊ राख्नुपर्छ। बिउ राख्दा किसानहरुले झन्झट मान्ने हुँदा यस प्रविधि तर्फ विस्तार हुन नसकेको उनको अनुभव छ।
मेसिनबाट धान रोप्दा बिऊ ट्रेमा राख्नुपर्छ। त्यसका लागि भुईँमा प्लाष्टिक विछ्याएर एक इन्च माटो हुनुपर्छ। तर, किसानहरुलाई यस विषयमा ज्ञान नहुने उनले बताए। पुर्वाधार विकास नभएका कारण किसानहरुलाई सुरुवाति चरणमा कठिन हुने उनको भनाई छ। धान थन्काउन समस्या भएपछि उनले हार्भेष्टर पनि किनेका छन्।
खैरहनी नगरपालिका १३ बैरियाकी लक्ष्मी गुरुङ हिलोमा धान रोप्न व्यस्त हुन्थिन्। तर, दुई बर्षदेखि भने धान रोप्न खेतमा जानु परेको छैन। उनले मेसिनबाट नै धान रोप्ने गछिन्। ‘एक बिघा खेत छ। धान रोप्न खेतको व्यवस्थापन गर्न कठिन हुन्थ्यो,’उनले भनिन् ‘मेसिनबाट रोप्न थालेपछि सिजिलो भएको छ।’ मेसिनको प्रयोग गर्दा खर्च पनि कम भएको सुनाईन्। ‘१० कठ्ठालाई १० जना रोपाहारा लाग्थ्यो। उनीहरुलाई ७ हजार दिनुपर्दथ्यो। तीन हजार बिउ काड्नेलाई दिनुपथ्र्यो। १० हजार रोप्दा मात्र सकिन्थ्यो,’ बुधवार धान रोप्ने मेसिनले धान रोप्दै गरिकी गुरुङले भनिन्, ‘मेसिनबाट २५सयमा रोपिने भयो।’ उनले चैते धान पनि मेसिनबाट नै रोपेकी हुन्। यसरी रोप्दा उत्पादन समेत बढेको उनको अनुमान छ।
मजदुरहरुको अभाव हुँदै जाँदा चितवनमा धान रोपाई यान्त्रीकरण मार्फत हुने क्रम बढ्दै गएको छ। एक दशक अघि मेसिनबाट रोपाइँ सुरु भएको चितवनमा अहिले साना ठुला गरेर ८ वटा मेसिन पुगेको छन्। चितवन जिल्लाका किसानहरु धान रोपाइँ गर्नका लागि यान्त्रीकरण तर्फ प्रयासरत रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका सुचना अधिकारी माधव पौडेलले बताउँछन्।
‘एक दशकअघि भरतपुर महानगरपालिकाको यज्ञपुरीमा एक जना किसानले धान रोप्ने मेसिन ल्याउनुभएको थियो। त्यसपछि थप हुँदै जिल्लामा ८ वटा मेसिन पुगेको छ।,’ उनले भने, ‘यस गतिलाई हेर्ने हो भने किसानहरुले यान्त्रीकरण तर्फ सुरुवात गरेको देखिन्छ।’ एउटा मेसिनले दैनिक चार विघासम्म धान रोप्न सक्छ। तर, चितवनका किसानहरुले बिऊ राख्न नजान्दा थोरै जमिनमा मेसिनबाट धान रोपाइँ हुने गरेको उनले बताए।
चितवनमा यसबर्ष सरकारी र निजि क्षेत्रले गरी सय विघामा मेसिनबाट धान रोप्ने तयारी गरिएको छ। यो गत बर्ष ६० विघाको हाराहारीमा मेसिनबाट धान रोपाइँ भएको थियो। अहिले चैते धानमा करिव ३० बिघामा मेसिनबाट धान रोपिएको उनले बताए।
मजुदरहरु पाउँदासम्म किसानहरुलाई यान्त्रीकरणमा जान समस्या हुने उनको अनुमान छ। ‘चितवनमा व्यवसायीक रुपमा यान्त्रीकरणमा जाने प्रयास भएको छ। किसानहरुलाई अनुसरण गर्न दुईचार बर्ष लाग्न सक्छ।’ धान जोनका फोकल पर्सन समेत रहेका पौडेलले भने, ‘सस्तोमा श्रमीकहरु पाउँदा सम्म यान्त्रीकरणको माग हुँदैन। श्रमीक नपाईने भएपछि यसको प्रयोग बढ्छ।’
चितवनमा वीरेन्द्रनगर साना किसान कृषि सहकारी, कपिया माछापालन कृषि सहकारी, बृहसपति धान पटके दिव्यनगर, सामुयिक खेति माडी, धान जोन, कृषि विश्वविद्यालय र कृषक नारायण चापागाईले धान रोप्ने मेसिन ल्याएका छन्। ठुला मेसिन ४ वटा छन्। ती मध्ये ३ वटा मेसिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेको हो। ठुला मेसिन आएपछि साना मेसिनको प्रयोग कम भएको पौडेलले बताए।
मेसिनबाट रोपाइँ गर्नका लागि किसानहरुले बिउ राख्नका लागि सुरुमा प्राविधिकको सल्लाह दिन आफुहरु तयार गरेको उनले बताए। चितवनमा धानमा पूर्ण यन्त्रीकरण तर्फ अगाडी बढेको प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा बताउँछन्। ‘हामीसंग धानको बीऊ राख्ने मेसिनदेखि भित्र्याउने थेसरसम्म उपलब्ध छन्। हार्भेष्टिङमा हामी पूर्ण यान्त्रीकरणमै गएका छौँ,’ उनले भने, ‘धान गोड्ने मेसिन ल्याउन सके धानमा पूर्ण यान्त्रीकरणमा जान्छौँ।’
चितवनमा धान थन्काउनका लागि आवश्यक पर्ने कम्वाईन हार्भेष्टर पनि ६ वटा रहेका छन्। तर, सिजर्नका समयमा भारतबाट समेत दर्जनौ हार्भेष्टर जिल्लामा भित्रने गरेको छन्। यस्तै धानको बिऊ राख्ने अटो म्यानवेल मेसिन एक, पराल बेर्ने बेलर तीन, बिषादी छर्ने कृषि ड्रोन छन्। यान्त्रीकरणका कारण लागत मुल्य समेत घटेको थापाले बताए।
नेपालमा १४ लाख ७० हजार हेक्टरमा धान खेती हुँदै आएको छ। त्यसमध्ये २ दशमलव ७ प्रतिशत चितवनमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए। अझै नेपालमा १० लाख ८० हजार मेक्ट्रिक टन धान अपुग छ। त्यसलाई पूर्ति गर्नका लागि चैते धानको विस्तार र गुणस्तरिय बिउमा ध्यान दिनुपर्ने उनको भनाई छ। ‘अहिले संघ, प्रदेश र स्थानीय तहले सिँचाइँलाई तिब्र विकास गरेका छन्,’उनले भने, ‘अपुगलाई पुरा गर्न चेतै धानको विस्तार गर्न आवश्यक छ।’
यान्त्रीकरणमा जाँदा उत्पादन समेत बृद्धि हुने भएकाले सरकारले यसमा जोड दिनुपर्ने उनले बताए। ‘मेसिनले एउटै लयमा रोप्छ। त्यसबाट धानमा हावा छिर्छ,’उनले भने, ‘विरुवालाई चाहिने आवश्यक तत्व पुगेमा उत्पादन पनि बढ्छ।’ चितवनमा वर्षे र चैते गरि ३० हजार ५०० हेक्टरमा धान खेति हुँदै आएको छ। हालसम्म ३० प्रतिशत रोपाइँ भएको उनले बताए।
प्रकाशित: १५ असार २०७९ १०:५८ बुधबार





