coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विदुरमा १ अर्ब १३ करोड ९३ लाख ५९ हजार बराबरको बजेट सार्वजनिक

नुवाकोटको विदुर नगरपालिकाले १ अर्ब १३ करोड ९३ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार भएको दोश्रो नगरसभाको प्रथम अधिवेसनमा नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी थिइन्।

शहरी एवं ग्रामीण पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, पशु तथा कृषि, खानेपानी तथा सरसफाई, ऐतिहासिक पुरातात्विक मौलिक संस्कृतिको प्रवर्द्धन, उद्योग, विपद व्यवस्थापन, युवा तथा खेलकुद, सूचना प्रविधि तथा डिजिटल सेवा, कर्मचारी प्रशासन तथा जनशक्ति विकास, सहकारी, निजी क्षेत्रसँगको सहकार्य, लैंगिक समानता, सामाजिक समावेशिकरण लगायतको विषयलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उपप्रमुख बोगटीले बताइन्।

उपप्रमुख बोगटीको अनुसार सार्वजनिक गरिएको कुल बजेट मध्ये आन्तरिक आयबाट १५ करोड ६० लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ। त्यस्तै संघीय सरकारको वित्तिय हस्तान्तरणबाट ८२ करोड ७ लाख ८४ हजार रुपैयाँ, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट १६ करोड २५ लाख २५ हजार रुपैयाँ प्राप्त हुने विदुर नगरपालिकाले अनुमान गरेको छ।

अन्तरसरकारी अख्तियारी अन्तर्गत संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने २५ करोड रुपैयाँ नगरपालिकाको सञ्चित कोषमा प्राप्त नहुने हुँदा उक्त बजेटलाई अन्तरसरकारी अख्तियारीबाट खर्च तथा लेखांकनको व्यवस्था हुनेछ। सार्वजनिक गरिएको कुल बजेट मध्ये ७ दशमलव ७ प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ कृषि, उद्योग, पर्यटन, सहकारी, जलश्रोत तथा सिंचाइ, पशुपन्छी विकास र भूमि व्यवस्थाको लागि विनियोजन गरिएको उपप्रमुख प्रभा बोगटीले बताइन्।

त्यस्तै कुल बजेटको ३९ दशमलव ४ प्रतिशत अर्थात ४४ करोड ९० लाख रुपैयाँ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भाषा संस्कृतिको विकास, लैंगिक समानता तथा समावेशिकरण, युवा तथा खेलकुद साथै सामाजिक सुरक्षा तथा संरक्षणको विषयमा खर्च गर्ने गरी बजेट तयार गरिएको उनको भनाइ छ।

नगरपालिकाले पूर्वाधार विकास अन्र्तगत यातायात पूर्वाधारको  विकास एवं विस्तार, भवन आवास तथा सहरी विकास, उर्जा र सम्पदा पूर्वाधारको लागि ३१ दशमलव ८ प्रतिसत अर्थात ३६ करोड ३४ लाख २५ हजार रुपैयाँ, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, शान्ति तथा सुव्यवस्था, कानुन तथा न्याय, गरिबी निवारण र श्रम तथा रोजगारीको लागि ४ दशमलव २ प्रतिशत अर्थात ४ करोड ८९ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुद्वारा सार्वजनिक भएको बजेटमा उल्लेख छ।

संस्थागत विकास, सेवा प्रवाह तथा कार्यलय सञ्चालनको लागि कुल बजेटको १६ दशमलव ६ प्रतिशत अर्थात १९ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वडामा छनौट भइ वडाबाट नै सञ्चालन हुने योजनालाई वडास्तरीय योजना नामाकरण गरी पुँजीगत खर्च वापत ६५ लाख रुपैयाँ र वडा कार्यलय सञ्चालनको लागि ५ लाख रुपैयाँ गरी प्रत्येक वडालाई ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख प्रभा बोगटीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

'शिक्षा, संस्कृति कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान' भन्ने नारासहित नगर प्रमुख राजन श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नगरपालिकाको वस्तुगत यथार्थता र श्रोत साधनको सन्तुलन हुने गरी नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

प्रकाशित: १५ असार २०७९ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App