नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ। नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्।
नेपाल र अष्ट्रेलियाबीच ६० वर्ष भन्दा पूरानो कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए।
अष्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्बर्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए। उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे
अध्यक्ष मल्लले भने ‘समृद्ध मुलुक अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ। तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ। भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु।’ अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरे।
बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे। नेपालका विद्यार्थीहरु अष्ट्रेलियमा अध्ययनका लागि गईरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँका बिख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे। अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए। यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे। सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अष्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे।
जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्बन्ध ६० वर्ष भन्दा पूरानो र ऐतिहासिक भएको बताए। नेपालसंगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले संधै गर्व गर्ने उनको भनाई थियो। नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए। अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ। हामी अझै यसको सुधारको पक्षमा छौं।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाई छ।
प्रकाशित: १४ असार २०७९ १३:२७ मंगलबार





