१५ चैत्र २०८० बिहीबार
अर्थ

बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी छन्।

मन्त्री भुसालले आइतबार राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा बोल्दै बुढीगण्डकी जलविद्युत् विकास कम्पनी लिमिटेड खोल्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरेको बताएकी छन्। केही समयअघि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बुढीगण्डकी जलविद्युत् आयोजना पब्लिक कम्पनी मार्फत निर्माण गर्न सकिने रायसुझाव दिएका दिए। सोही सुझावमा आधारित भएर मन्त्री भुसालले मन्त्रिस्तरीय निर्णय गर्दै बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी हुन्।

गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) बाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो।

आव २०७९/८० को बजेटमा पनि यो आयोजना आन्तरिक स्रोतबाट निर्माण गर्ने घोषणा गरेको छ। ऊर्जा मन्त्रालयले बनाएको प्रबन्धपत्रमा प्रस्तावित कम्पनीको अधिकृत पुँजी एक खर्ब रूपैयाँको हुने बताइएको छ। कम्पनीको प्रबन्धपत्र अनुसार यसको अधिकृत पुँजीलाई प्रतिसेयर एक सय रूपैयाँका दरले एक अर्ब कित्ता साधारण सेयरमा विभाजन गर्ने बताइएको छ।

कम्पनीको तत्काल जारी पुँजी ४० अर्ब रूपैयाँको हुने प्रस्तावमा लेखिएको छ। कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबुल गरेको पुँजी २० अर्ब रूपैयाँ हुनेछ। यो कम्पनीको प्रबन्धपत्रमा ऊर्जालाई ४० करोड, अर्थलाई २५ करोड र नेपाल विद्युत् प्राधिकरणलाई १५ करोड कित्ता सेयर दिने भनिएको छ।

यस्तै स्थानीय जनता र सर्वसाधारणलाई १०/१० करोड कित्ता सेयर संरचना प्रस्ताव गरिएको छ। ऊर्जा मन्त्रालयले यो आयोजनाको मुआब्जा र क्षतिपूर्तिको लागि करिब ३५ अर्ब रूपैयाँ वितरण गरिसकेको छ। त्यसैगरी सरकारले पूर्वाधार कर बापत यो आयोजनाको लागि ७१ अर्ब रूपैयाँ संकलन गरेको छ।

प्रकाशित: १३ असार २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App