खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ। ५ नं. वडामा रहेको गाउँपालिका केन्द्र चिसापानी क्षेत्रका सडकहरू पक्की ढलान गरिँदै बजारलाई व्यवस्थित, आकर्षक र आधुनिक बनाउने उद्देश्य राखिएको छ।
गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार, चालु आर्थिक वर्षमा डेढ करोडभन्दा बढी बजेट विनियोजित गरिएको छ। यस अन्तर्गत चिसापानी बजारका कच्ची सडकहरू पक्की ढलान गर्ने र पूर्वाधार सुधारका दुई मुख्य योजना कार्यान्वयनमा छन्।
ईन्जिनियर रमेशकुमार यादवका अनुसार, बजारक्षेत्रको सडक ढलानका लागि मूल्य अभिवृद्धि कर (भ्याट)सहित १ करोड ४ लाख ४२ हजार ३३ रुपैयाको ठेक्का बियान्सा/अग्रिम जेभीलाई लगाइएको छ। सो ठेक्का ०८२ चैत ३० गतेभित्र काम सम्पन्न गर्ने समयसीमा राखिएको छ भने हालसम्म करिब एक तिहाइ काम सम्पन्न भइसकेको छ।
त्यस्तै, बजारदेखि गाउँपालिका प्रशासकीय भवनसम्म जाने सडक ढलानका लागि ५९ लाख १३ हजार ७ सय ३४ रुपैयाको ठेक्का जेमपिया/हिल्स कन्स्ट्रक्सन प्रालिलाई दिएको छ। यस सडक कार्य पनि गत असोज २६ गते सुरु भएको र हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
अध्यक्ष राईले सबै राजनीतिक दल, नागरिक समाज र स्थानीय बासिन्दालाई गुणस्तरीय निर्माण सुनिश्चित गर्न र आवश्यक सहयोग तथा सुझाव दिन आग्रह गरेकी छन्। बजार क्षेत्र पुरानो र सबैको केन्द्रविन्दु भएकोले साझा उत्तरदायित्वका साथ काममा सहभागी हुनुपर्ने उनको भनाइ छ।
चिसापानी बजारमा हरेक शनिबार हटिया (बजार) लाग्ने गर्दछ। वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने कच्ची सडकले स्थानीयबासीलाई समस्या दिँदै आएको थियो। अहिले सडक ढलान र बजारको सौन्दर्यकरण सुरु भएपछि बजारबासी उत्साहित छन्।
ईन्जिनियर यादवका अनुसार, बजारको बीपी चोकदेखि चिसापानी माध्यमिक विद्यालय हुँदै गाउँपालिका प्रशासकीय भवन तथा बसपार्क जाने छुट्टाछुट्टै तीनवटा सडकमा दाँया–बाँया नालीसहित ४ मिटर चौडाईको आरसीसी ढलान भइरहेको छ। गत वर्ष पनि संघीय सरकारको लागत साझेदारीमा ४२ लाख ४२ हजार २ सय १५ रुपैयामा ११५ मिटर सडक ढलान गरिएको थियो, र यस वर्षको योजना त्यसैसँग जोडेर अघि बढाइएको छ।
प्रकाशित: ३० पुस २०८२ २०:५३ बुधबार





