८ वैशाख २०८१ शनिबार
अर्थ

जनस्तरबाटै बनाइयो भ्यु टावर

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै भ्यु टावर निर्माणप्रति जनस्तरबाट चर्को आलोचना हुने गर्दछ। प्राकृतिक रुपमै भ्यु टावर रहेको अग्ला डाँडाको उचाइलाई होच्याउँदै कंक्रिट र फलामको भ्यु टावर ठड्याउन आवश्यक नरहेको टिकाटिप्पणी भइरहेको बेला तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङ्गमा जनस्तरबाट भ्यु टावर निर्माण गरिएको छ। गाउँमा पर्यटक डाक्नका निम्ति तीनै तहका सरकारको लगानीविनै जनस्तरबाट आर्थिक संकलन गरेर भ्यु टावर निर्माण गरिएको हो।  

मिछुर्लुङ्ग गाउँको सिरानमा ४७ फिट अग्यो भ्यु टावर ठड्याइएको छ। ३८ लाख रुपैयाँको लागतमा भ्यु टावर निर्माण गरेको मिछुर्लुङ भ्यु टावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए। 'भ्यु टावर निर्माणमा राज्यको एक रुपैयाँ पनि लगानी नभएको उनको भनाइ छ। ‘देश विदेशमा रहेका गाउँलेसँग आर्थिक संकलन गरेर भ्यु टावर बनाएका हौँ,’ उनले भने।  

मगर समुदायको बाहुल बसोबास रहेको मिछुर्लुङ्ग गाउँमा ६ वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ। यहाँका १९ घरमा होमस्टे सञ्चालन गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि मिछुर्लुङ्ग गाउँको होमस्टे सुनसान छ। भ्यु टावर निर्माण भएपछि गाउँमा पर्यटक बढ्ने अपेक्षा गरेको अध्यक्ष थापाले बताए। ‘गाउँमा पर्यटकलाई आकर्षण गर्नका लागिभ्यु टावर बनायौँ। भ्यु टावर निर्माण गर्नलाई प्रवासमा रहेका नेपाली दाजुभाइहरुको आर्थिक सहयोग रहेको छ,’ उनले भने।  

मिछुर्लुङ्गमा बनाइएको भ्यु टावरको परिकल्पानकार महेन्द्र आले हुन्। उनी हाल बेलायतमा बस्दै आएका छन्। गाउँको होमस्टेमा पाहुनाको संख्या बढ्न नसकेपछि भ्यु टावर निर्माणको अवधारणा ल्याएको आले बताउँछन्। ‘आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न नसकेको अवस्थामा भ्यु टावर निर्माण गरेपछि पर्यटक बढ्लान् भन्ने लाग्यो। पर्यटक बढ्न थालेपछि होमस्टेको माध्यमबाट गाउँलेको आयआर्जन बढ्नेछ। आर्थिक रुपमा सम्बृद्ध बन्लान् भन्ने विश्वास छ,’ उनले भने।  

मिछुर्लुङ गाउँमा पछिल्लो समय मौलिक रिसोर्ट सञ्चालन गरिएको छ। रिसोर्ट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहल पहल निकै बढेको छ। यहाँ मगर समुदायमा प्रचलिच स्थानीय अर्गानिक परिकारको स्वाद चाख्न पाइन्छ।  कौराहा, झ्याउरे जस्ता लोकसँस्कृति मिछुर्लुङ्ग गाउँको विशेषता हो। मिर्छुलुङमा आटीछाप झरना पनि छ। झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ। सहासिक खेल क्यानोनिङ सञ्चालनमा ल्याउन सकेमा पनि पर्यटक बढ्ने विश्वास स्थानीयको छ।

प्रकाशित: ६ असार २०७९ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App