८ वैशाख २०८१ शनिबार
अर्थ

निर्यात प्रवर्द्धन गर्न निजी क्षेत्रको सहभागिता आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यविना सम्भव नभएको बताएका छन्। बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्सपो २०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यविना सम्भवन भएको बताएका हुन्।

उनले निर्यात प्रवर्द्धन गरी आयात प्रतिस्थापनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवर्द्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुन सक्ने वस्तु तथा सेवा स्वदेशभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे।

उनले व्यापार एक्सपो तथा प्रदर्शनीहरूमा स्वदेशी उत्पादन, कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि सिपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी वस्तुहरूको प्रचारप्रसार तथा पहुँचमा जोड दिन आवश्यक हरेको बताए।

प्रधानमन्त्री देउवाले स्वदेशी वस्तुको प्रचारप्रसारले निकासी प्रवर्द्धनमा सहयोग पुग्नुका साथै साना र मझौला उद्योगहरूको संरक्षण र दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले चेम्बरले आयोजना गरेको व्यापार सम्मेलनले कोभिड–१९ बाट थला परेको व्यापार व्यवसायमा थप गति र ऊर्जा प्रदान गर्ने बताए।

उनले नेपाली उत्पादनको बजारीकरण र अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक गतिविधि चलायमान बनाउन यस्ता एक्सपोले सहयोग गर्नेमा दुई मत नभएको दाबी गरे। प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको निर्यात वृद्धि गर्न विदेशी लगानी कर्तालाई नेपालमा उद्योग व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्ने बताए।

त्यस्तै, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्मेलन गर्नका लागि सरकारले छुट्टै स्थानको व्यवस्था गर्न माग गरे। मेलामा स्वदेशी उत्पादन तथा विदेशी नयाँनयाँ वस्तु प्रदर्शनीका लागि राखिएका छन्।

प्रकाशित: ३ असार २०७९ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App