४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगर भित्रियो युरियाको झोल मल

युरियाको झोल मल सार्वजनिक गर्दै प्रदेश १ का कृषि मन्त्री झलबहादुर मगर लगायत। तस्बिरः नागरिक

किसानले रासायनिक मल नपाएर हैरान बेहोर्नु परेका बेला भारतबाट निजी क्षेत्रले युरियाको झोल मल विराटनगर भित्र्याएको छ। भारतबाट आयात गरिएको मल प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले  सोमबार सार्वजनिक गरे।  

विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मगरेले रासायनिक मल अभाव चर्किएको बेला दाना मलको विकल्पमा ल्याइएको युरियाको झोल मलले प्रदेश १ का किसानलाई लाभ पुग्ने बताए। इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नेनो युरिया झोल मल प्रदेश १ का किसानले सहजरुपमा पाउने नेपालका लागि इपको आधिकारिक डिलरका प्रमुख राकेश सुरानाले बताए। उनले भने, ‘युरियाको दाना मलको विकल्पका रुपमा झोल मल नेपाल ल्याइएको हो।’ केही दिन पहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल मल बिक्री वितरणका लागि अनुमति दिएको उनले जानकारी दिए।

यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइने कानुनी व्यवस्था थियो। अब झोल युरिया मल पनि ल्याउन पाइने भएपछि आफूहरूले झोल मल आयात गरेर किसानलाई उपलब्ध गराउन थालेको सुरानाले बताए।  

दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नेनो युरिया मल प्रयोग गर्न सकिने उनको भनाइ छ। नेनो युरिया मल बाली उम्रेपछि पातमा मात्र छर्न सकिन्छ। यसलाई स्प्रे गरेर बालीमा लगाउनुपर्ने कार्यक्रममा जानकारी दिइएको छ। नेनो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १ सय ५० रुपैयाँ कम खर्च लाग्ने समेत अध्ययनमा देखिएको वितरकको दाबी छ। एक बोरा (५० केजी) दानादार युरिया मल बराबर पाँच सय एमएल नेनो झोल मल हुने गरेको छ।

पाँच सय एमएल झोल युरिया मलको ४०० रुपैयाँ मात्र पर्छ, जब की एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७ सय ५० रुपैयाँ पर्छ। कार्यक्रममा कमर्सियल एग्रिकल्चर एलाइन्सका पूर्व अध्यक्ष अशोक मुरारका, प्रदेश १ स्थित  कृषि तथा प्रयोगशालाका प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ३० जेष्ठ २०७९ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App