खैरहनी नगरपालिका १३ का धुव्र बस्नेतले डेढ विघामा चैते धान लगाउँछन्। काट्ने समयमा खेतला नपाएर प्रत्येक वर्ष नै हैरानी खेप्नु पर्दथ्यो। तर, चार वर्षदेखि भने उनले यस्तो समस्या खेप्नु परेको छैन। गाउँमा धान काट्ने मेसिन भित्रिएसंगै धान काट्ने खेतला खोज्न झण्झट बाट मुक्त भएका छन्।
‘धान काट्न यहाँ खेतला पाउँनै मुस्किल हुन्छ। मधेसतिरबाट आएका मानिसहरु कुर्नुपदथ्यो,’ वस्नेतले भने, ‘आजभोलि मेसिन नै आएपछि सजिलो भएको छ।’ पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन्। मेसिनको प्रयाेग गर्दा सस्तो समेत भएको बस्नेत बताउँछन्। ‘डेढ विघामा धान काटेको र छाँटेको खेतलाले १५ हजारसम्म लैजान्थे। अहिले ५ हजारमै उम्किन्छ,’उनले भने, ‘मुठा बाध्ने झण्झट गर्नु परेन। पानीले बिझाउला भन्नु परेन। मेसिनले काट्दा वित्तिकै बजार लान सकिन्छ।’

साना किसान सहकारी संस्था कुमरोजले ४० लाख रुपैयाँ खर्चेर कम्वाईन्ड हार्भेष्टर मेसिन ल्याएको छ। जसले गर्दा किसानहरुलाई राहत भएको छ। अहिले चितवनमा धान काट्नका लागि किसानहरुले अत्याधुनिक मेसिन प्रयोग गरिरहेका छन्। सरकारी तथा निजि क्षेत्रले धान काट्ने मेसिन भित्राएपछि मेसिनको प्रयोग गर्न थालेका हुन्। पानी पर्ने धान सुकाइ रहने झण्झटबाट समेत किसानहरु मुक्त भएका छन्। किसानहरुले मेसिनबाट हार्भेष्ट गरि खेतबाट नै बिक्री गर्ने गरेका छन्। ‘सहकारीमा मेसिन आएपछि असार, जेठमा आउने पानीमा धान सुकाइ रहन परेको छैन। मेसिनले नै हार्भेष्ट गरिदिन्छ,’ किसान सुर्यबहादुर बोगरटीले भने, ‘मेसिनले काटेपछि सिधै बेच्न मिल्छ। पहिले जस्तो सुकाएर बेच्नु पदैन।’ अहिले उनले चैते धान १८ रुपैयाँमा बेचेका छन्। उनले, धान रोप्न, गोड्न, विषादी छर्न र काट्न प्रविधिको प्रयोग नै गरे। प्रविधिको प्रयोगगर्दा आधाभन्दा बढी सस्तो भएको उनले सुनाए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका कृषि अधिकृत माधव पौडेलका अनुसार, चितवनमा ठूला कम्वाईन्ड हार्भेष्टर तीन वटा छन्। तर, धान काट्ने समयमा भारतदेखि सयौँको संख्यामा आउने उनले बताए। ‘चितवनमा चैते धान हातले काट्न छाडिसके। ८० प्रतिशत मानिसहरुले मेसिनको नै प्रयोग गर्दछन्,’ उनले भने, ‘थोरै हुनेले परालको लागि हातले काट्छन्।’

चितवनमा कम्बाइन्ड हार्भेष्टर बाहेक किसानले रिपरको समेत प्रयोग गर्दछन्। छिटो छरितो हुने भएकाले किसानहरुले मेसिन नै प्रयोग गरिरहेका छन्। परालको समस्या भएकाले ठूलो मेसिन लगाउँदैनन्। ‘पानी आउने, पराल नसुक्ने हुँदा चिसोपनको मात्र बढी हुने भएकाले कम्बाइन्ड हार्भेष्टरले काट्छन्। तर, नर्मल सिजनमा सकेसम्म रिपर र हातले काटेर किसानहरुले थ्रेसर लगाएको पाइन्छ,’– उनले भने।
कम्बाइन्ड हार्भेष्टरले एक घण्टामा झण्डै एक विघा काट्छ। उनीहरुले एक घण्टाको पाँच हजार रुपैयाँ लिँदै आएका छन्। सुरुवाती चरणमा घण्टाको ९ हजारसम्म लिँदै आएका थिए। तर, सहकारीले किनेपछि ५ हजार सम्म झारेका छन्। फराकिलो जग्गा भएको स्थानमा धान काट्नका लागि ठूलो मेसिन नै उपयुक्त हुने पौडेल बताउँछन्। तर, सानो जग्गामा रिपर राम्रो मानिन्छ। रिपरलाई १ लाखदेखि १ लाख ५० हजारसम्म पर्दछ। कम्बाइन्ड हार्भेष्टर प्रयोग गर्दा परालको नोक्सान भने हुन्छ। तर, रिपर प्रयोग गर्दा परालको त्यति धेरै नोक्सान नहुने उनले बताए। बर्खे धान काट्न भने किसानहरुले मेसिनको प्रयोग कम गर्दछन्।

गाईवस्तुका लागि पराल आवश्यक पर्ने भएकाले हात र रिपरको प्रयोग गर्दछन्। तर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस वर्षदेखि पराल उठाउनका लागि बेलर मेसिनको प्रयोग गर्न प्रोत्साहन गरेको छ। परियोजनाले यस वर्ष मेसिन खरिद गरेको छ। चितवनमा किसानहरुले धान रोप्न, गोड्न, बिषादी छर्न र काट्न समेत मेसिनको प्रयोग गर्न थालेका छन्। चितवनमा कुल ३३ हजार ८३६ हेक्टर खेतीयोग्य जमिन छ। जस मध्ये १९ हजार ८९३ हेक्टरमा वर्षे धान र ७हजार ५२७.९ हेक्टरमा चेतै धान लगाउने गरिन्छ।
प्रकाशित: २९ जेष्ठ २०७९ ०४:५९ आइतबार





