१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला सुरू

'स्थानीय उत्पादन र रोजगारी सृजनामा टेवा पुर्‍याउन प्रदेश सरकार लागीपर्ने'

ताप्लेजुङमा बिहीबारबाट ५ दिने औद्योगिक तथा पर्यटन मेला सुरु भएको छ। १ नं प्रदेश सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले मेलाको उद्घाटन गर्दै स्थानीय उत्पादनप्रति आर्कषण वृद्धि, रोजगारी सृजना, उद्यम विकास र उत्पादनको बजारीकरण गर्ने प्रमुख उद्देश्यका साथ औद्योगिक तथा पर्यटन मेला सुरु भएको बताए।

प्रदेश तथा स्थानीय सरकारले उद्यम विकास र रोजगारी सृजनाका लागि आधार तयार गर्न सक्ने उनको भनाइ थियो। स्थानीय स्तरमै पाइने कच्चा पदार्थको प्रयोग गरेर सीपलाई श्रममा बदल्ने र श्रममार्फत रोजगारी सृजना गर्ने कार्यमा लाग्ने हो भने प्रत्येक व्यक्ति आफैं आत्मनिर्भर बन्न सक्ने मन्त्री हाङ्गामको भनाइ थियो। ’जाँगर भए सीपको उपयोगमार्फत आफैं उद्यमी बन्न सकिन्छ,‘ उनले भने, ‘उत्पादनको बजारीकरणको जिम्मा प्रदेश र स्थानीय सरकारले लिन्छ।’

उनले सीप विकास, सीप तथा प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले सम्वन्धित जिल्लाका घरेलु कार्यालयमार्फत सहजीकरण गर्ने समेत बताए। अबको समयमा परनिर्भरताको अन्त्य गर्नु अनिवार्य रहेको बताउँदै मन्त्री हाङ्गामले प्रदेश सरकार स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन, भण्डारण र बजारीकरणका लागि सदैव तयार रहने दाबी गरे। आफूहरु लघु उद्यम सृजना र उत्पादित बस्तुहरुको बजारीकरणका लागि स्थानीय र संघीय सरकारसँग सहकार्य र समन्वय गर्न तयार रहेको समेत उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्यायले साना उद्यमीहरुको उद्यमशीलता प्रवर्द्धनका लागि तीनै तहका सरकारको सहयोग अपरिहार्य रहनेमा जोड दिए। उनले सीप र प्रविधिमा सहयोग गर्ने र उनीहरुको उद्यमशीलता प्रवर्द्धनका लागि बिशेष योजना आउने हो भने सवल उद्यमीहरुको गुणात्मक रुपले संख्या वृद्धि हुने बताए।

घरेलु तथा साना उद्योग महासंघका प्रदेश समिति अध्यक्ष शिवा उपाध्याय(अञ्जु)ले घरेलु तथा साना उद्योग महासंघ आफूलाई चाहिने सीप र प्रविधिका लागि तीनै तहका सरकारसँग समन्वय गर्न तयार रहेको बताइन्। रोजगारी सृजनामा घरेलु तथा साना उद्यमीहरुको प्रयास र मेहनेतलाइ तीनै तहका सरकारले बुझिदिने हो भने उद्यम विकासका लागि ठूलो राहत पुग्ने उनको भनाइ थियो।

घरेलु तथा साना उद्योग महासंघको १ नं प्रदेश महिला उद्यम समितिका अध्यक्ष नमिता न्यौपानेले घरेलु तथा साना उद्योगका माध्यमबाट नेपालको आर्थिक समृद्धिको अभियानमा पुगेको सहयोग मूल्यमा दाँज्न नसकिने प्रकृतिको रहेको बताइन्। उनले घरेलु तथा साना उद्योगीहरुको न्यूनतम आवश्यकता, चाहना र मागको सम्बोधन हुन सकेमा यो क्षेत्रमार्फत नेपालको रोजगारी सृजनामा उल्लेख्य टेवा पुग्ने भन्दै यसका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने तर्क गरिन्।

कार्यक्रममा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले उत्पादनको प्रवर्द्धन, बजारीकरण र सम्भावना तथा चुनौतीको अवस्था बताउन ५ दिने महोत्सव सफल हुने विश्वास लिए। ३० गतेसम्म चल्ने महोत्सवमा ताप्लेजुङमा उत्पादन हुने राडीपाखी, अलैंचीको रेसाबाट बनाइएका बिभिन्न सामग्री, स्थानीय स्तरमा बनाइएका घरेलु हतियार, स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइएका अल्लो र खाँडीका कपडा, ठेकी, तोङ्वाका भाँडा, बाँसजन्य उत्पादनका सामग्री, तेह्रथुमे ढाकाका कपडा, प्रशोधित मह, कफीसहितका स्टल रहेका छन्।

बिभिन्न जातजातिका खाद्य परिकार, दुग्धजन्य पदार्थबाट बनाइएका सामग्री, स्थानीय रुपमा उत्पादन गरिएका फलफूल र सागसब्जी, नेपाली हातेकागज, डोको, थुन्सेसहितका सामग्रीका स्टल रहेका छन्। औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरुको करिव तीन दर्जन स्टल राखिने छ भने कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकनको व्यवस्था मिलाएको छ।

औद्योगिक प्रदर्शनीका लागि पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाहरुबाट समेत उद्यमीहरु आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका ताप्लेजुङ अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए। आफूले कोरेका चित्रसहित प्रदर्शनीका लागि धनकुटाबाट चित्रकार डिल्लीकृष्ण आले स्वयं उपस्थित भएका छन्। पत्रकार महासंघले ताप्लेजुङले यहाँको दैनिकी झल्कने फोटोहरु प्रदर्शनीमा राखेको जनाएको छ।

घरेलु तथा साना उद्योग महासंघका जिल्ला सचिव हर्कराज गुरुङले शुक्रबारबाट बिभिन्न प्रतियोगितात्मक र रचनात्मक कार्यक्रम सुरु हुने जानकारी दिए। यस्तै औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमुलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्तर्क्रिया समेतको आयोजना गरिएको महोत्सवका साँस्कृतिक विभाग संयोजक दिनेश लिङखिमले जानकारी दिए।

प्रकाशित: २६ जेष्ठ २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App