५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एम्बुस थापेजस्ता घोराहीका सडक

घोराहीका मुख्य सडकमा एम्बुस थापेजस्ता खाल्डा परेको लामो समय बिते पनि मर्मत नहुँदा दंगालीहरू दिक्क भएका छन्। दाङ घोराही उपमहानगरपालिकामा रहेको सडक डिभिजन कार्यालय पनि यतिखेर लाचार जस्तै देखिन्छ।

विपी चोकनजिकै उक्त कार्यालयको मूल गेटको २० मिटर दायाँबायाँ दुवैतिर मुख्य सडकमा ठूलाठूला खाल्डा लामो समययता असरल्ल छन्। त्यसो त बजार क्षेत्रका सडकमा पनि सानाठूला दर्जनौं खाल्डा छन्। मर्मतका लागि विभिन्न नामका अलगअलग सडक कार्यालय र स्थानीय सरकारबाट वर्षेनि सकिने करोडौं रकम कहाँ जान्छ? कसैलाई केही थाहा छैन।

यही सडकको धुलो छोप्न पजेरोका झ्यालमा सिसा चढाएर हिँड्ने मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिदेखि सरोकावाला सबै मौनप्रायः छन्। हरेक दिन हुने सडक दुर्घटना र त्यसबाट हुने क्षतिप्रति जिम्मेवार निकाय मुकदर्शक बन्ने गरेका छन्।

‘सडक समयमै मर्मत गर्नुपर्ने हो। लामो समयसम्म सुधारमा चासो नदिनु सडक डिभिजन कार्यालयको लापरबाही हो,’ पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी भन्छन्, ‘दैनिक यहाँका नागरिकले सास्ती पाएका छन्। मर्मत गर्नु सडक डिभिजनको काम हो। माटो मात्रै हाले पनि सहज हुन्थ्यो।’

केसी सडक डिभिजन जवाफदेही नभएको बताउँदै सुधार गर्नका लागि पटकपटक छलफल र डेलिकेसन पनि गएको बताउँछन्। दैनिक हजार बढी सवारीसाधन गुड्ने घोराही बजार नजिकैको कटुवा खोला पुलछेउको सडकको अवस्था त झनै बेहाल छ। स्थानीयका अनुसार उक्त स्थानमा दैनिक दर्जन बढी दुर्घटना हुने गरेको छ। तर, जवाफदेहिता भने छैन।

सडकको बेहाल अवस्थाप्रति दाङका नागरिक आजित भएका छन्। पटकपटक तालुकदार कार्यालयमा पुगेका उनीहरू सरकारी उदासीनताप्रति दिक्क भएका हुन्। मुख्य सडक मात्र नभएर बजारका भित्री सडक र ग्रामीण भागका प्रायः सबैको अवस्था विजोग छ। स्थानीय सरकारहरू सडक कार्यालयको जिम्मा देखाएर तर्किने गरेका छन् भने सडक कार्यालय ठेकेदारलाई देखाएर पन्छिने गर्दछन्।

स्थानीयहरू भने कम्तीमा सडकमा रहेका ठूलाठूला खाडलमा माटोले मात्रै भए पनि पुरिदिए अल्पकालीन सहजता हुने बताउँछन्। ‘सडक मर्मतका विषयमा नागरिक समाजले पटकपटक आवाज उठाएको छ। सडक कार्यालय र नगरप्रमुख दुवैलाई भन्यौँ। सडकले हाम्रो हैन ठेकेदारले बनाउने हो भन्छ, नगरले सडक कार्यालयले बनाउने हो भन्छ,’ नागरिक समाज दाङका केबी मसाल भन्छन्, ‘नयाँ निर्वाचित जनप्रतिनिधिलाई फेरि पनि भनेका छौं। समाधान होला भन्ने अपेक्षा मात्र गर्न सक्छौं।’

स्थानीयहरू सडकमा उडेको धुलोका कारण गर्मीमा पनि रेनकोट लगाएर हिँड्नुपर्ने अवस्था आएको बताउँछन्। यतिखेर लमही–घोराही हुँदै तुलसीपुरसम्मको सडक फोरलेनका लागि टेन्डर परिसकेको छ तर लामो समयसम्म ठेकेदारले काम नगरेपछि सडक अलपत्र परेको हो। हाल सडकको न्यूनतम मापदण्डसमेत नभएको यो सडकमा रहेका दर्जनौं ठूलाठूला खाल्डा पुर्नका लागि उदासीन सरकारी निकायले दैनिक कस्तो कार्यसम्पादन गर्छ? सहजै अनुमान लगाउन सकिन्छ।

‘बबई पुलदेखि तुलसीपुरसम्म कतै हाम्रो जिम्मा हो भने फोरलेन बनिसकेको ठाउँमा सडक डिभिजन कार्यालयको जिम्मा हो। घोराही र तुलसीपुर बजार क्षेत्रमा हामीले हात हाल्दैनौं, त्यहाँ डिभिजन कार्यालयले हेर्छ,’ लमही, घोराही, तुलसिपुर सडक आयोजनका प्रमुख अर्जुन बम भन्छन्, ‘कतै सडक बिग्रेको छ भने मर्मतको काम ठेकेदारको हो।’ सडक आयोजनाका प्रमुख बमले आफूलाई सडकका खाल्डा रहेको जानकारी नभएको बताउँदै फोटाहरू आफूलाई पठाउन अनुरोध समेत गरे।

‘त्यो सबै काम ठेकेदारले गर्नु पर्ने हो। ठेकेदार पावरफुल भएर काम पनि हुन सकेको छैन। कारबाही पनि हुन सकेको छैन,’ सडक डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी अमिर सुवेदी भन्छन्, ‘२०७२ सालदेखिको काम हो। कुनै हाकिमले ठेकेदारलाई काम लगाउन सकेनन्।’ सडक डिभिजन कार्यालयले नीति र विधिपूर्वक काम नगर्दा पनि समस्या आएको  स्थानीय बताउँछन्। 

प्रकाशित: २२ जेष्ठ २०७९ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App