६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मनाङमा स्याउसँगै जुस र वाइन उत्पादन

मनाङको भ्राताङस्थित एग्रो मनाङको स्याउ बगैंचा।

दुवैतिर अग्ला पहाड छन्। पहाडको फेदमा फराकिलो जमिन छ। नजिकै मर्स्याङ्दी सुसाइरहन्छ। समथर भागमा स्याउ खेती छ। बेर्ना इटालीबाट ल्याइएका हुन्। इटालीबाट आयात गरिएको स्याउका विरुवा एक मिटरको दूरीमा रोपिएको छ।

रोपिएका स्याउका बोटबाट एक वर्षभित्रमा फल दिने विश्वास पोल्तेनछोपाङ गुरुङको छ। मनाङको भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि उनैको हो। उनले ७३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका छन्। ‘चानचुन एक लाख स्याउका विरुवा होलान’–गुरुङले भने।

उनले स्याउ खेती शुरु गरेको ५ वर्ष पुग्यो। उनले व्यावसायिक स्याउ खेतीलाई फैलाउँदै लगेका छन्। किसानलाई प्रोत्साहित गर्न नेपाल सरकारले कृषिमा अनुदान दिँदै आएको छ। स्थानीय जातको स्याउबाट दाना फल्न समय लाग्छ तर इटालियन बेर्ना रोपेको वर्ष दिनमा स्याउ फल्न शुरु हुन्छ। 

‘स्थानीय जातको भन्दा इटालियन बेर्नाबाट छिटो उत्पादन लिन सकिन्छ’, उनले भने-‘त्यसैले पनि बेर्ना इटालीबाट आयात गरिएको हो।’ वर्ष दिनमा एकै बोटबाट ४/५ केजीसम्म फल्ने उनले सुनाए। पछि त्यही बोटले ४५ केजीसम्म उत्पादन दिन्छ।

उत्पादित स्याउको बजार काठमाडौंसहित मुख्य बजार क्षेत्र हुन्। उत्पादित स्याउ निर्यात हुन्छ। दाग लागेको स्याउबाट जुस बन्छ। बोटबाट झरेका स्याउबाट वाइन बन्छ। ‘उत्पादित स्याउ खेर जाँदैन’, उनले भने–‘फ्रेस स्याउ बजार पठाइन्छ। दाग लागेका स्याउबाट जुस बन्छ। बाँकी अरू वाइन बनाउन प्रयोग हुन्छ।’ स्थानीय बोटले भन्दा बढी र छिटो उत्पादन दिने भएकोले इटालियन स्याउको विरुवाप्रति आकर्षित हुदैं गएका छौं।

उनले स्याउबाट जुस र वाईन प्रशोधन केन्द्र समेत बनाएका छन्। त्यही प्रशोधन केन्द्रबाटै जुस र वाइन बनाइन्छ। ‘वार्षिक ५ लाख बोटल उत्पादन गर्ने लक्ष्यसहित काम गरेका छौं’, उनले भने–‘त्यसको लागि रिजर्भ ट्याङ्की बनाइएको छ।’ स्याउ फार्मबाट वार्षिक ५ लाख केजी उत्पादन गर्ने योजना छ। ढुवानीको लागि मनाङ(बेंसीशहर सडक खण्ड बनेको छ।यातायातको सुविधा छ। उत्पादित स्याउलाई बजार पुर्‍याउन सहज हुने छ।

पाल्तेनको झैं मनाङमा स्याउ खेती गर्ने योजना गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको पनि छ। उनले पनि केही आफ्नो र केही जग्गा भाडामा लिएर स्याउ खेती गर्ने तयारी गरेका छन्। ‘दुई ठाँउमा गरी झण्डै एक हजार रोपनीमा स्याउ खेती गर्ने योजना सहित काम अघि बढेको छ।’ मन्त्री गुरुङले भने–‘एकवर्षभित्रमा स्याउको विरुवा रोप्ने काम शुरु हुन्छ।  सबै स्थानीय युवाहरूले काम गरिरहेका छन्।’ स्याउको आम्दानी विशेष गरी मनाङ  मर्स्याङ्दी क्लबलाई खर्च गरिने छ। उत्पादित स्याउ खेर जाँदैन्। 

प्रकाशित: २२ जेष्ठ २०७९ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App